माओवादी केन्द्रनिकट नुवाकोट–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रैला

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०८१, मंगलवार १४:१२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिको बालाजुमा सम्पन्न आठौँ जिल्ला भेलाले निवर्तमान सचिव प्रकाश रैला (बेलकोटगढी नगरपालिका)को नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको विधानअनुसार तीन उपाध्यक्षमा केशर कँुवर (सूर्यगढी), राजन गिरी (पञ्चकन्या) र वासु थपलिया (शिवपुरी), सचिवमा कृष्णघ्याचो तामाङ (किस्पाङ), सहसचिवमा लिडर श्रेष्ठ (विदुर) र कोषाध्यक्षमा देवराज बजगाईं (ककनी) निर्वाचित भएका छन् । अन्य सदस्य नुवाकोटका १२ वटै पालिकाको प्रतिनिधित्व हुने गरी चयन गरिने निवर्तमान अध्यक्ष सुदीप अधिकारीले बताए ।

सम्पर्क समन्वय समितिका अध्यक्ष अधिकारीको सभापतित्वमा शनिबार सम्पन्न कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दै केही समयपछि फुटेर गएका माओवादी पनि एकताबद्ध हुने जिकिर गरे । माओवादीलाई एकताबद्ध पार्नु नै आफ्नो लक्ष्य भएको दाहालको भनाइ थियो । पूर्वप्रधानमन्त्री दाहालले जनताका घरआँगनमा गएर २०६४ सालको जस्तै मत ल्याउन सकिने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठुलो दल बनाउने गरी लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।
उनले नुवाकोटबाटै पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेको र गणतन्त्र ल्याउन नुवाकोटका पोष्टबहादुर बोगटीले योगदान गरेको स्मरण गर्दै इतिहासमा नुवाकोट र पोष्टबहादुरको योगदान दर्ज हुने बताए । उनले सम्पर्क समन्वय समिति नुवाकोटलाई २०६४ सालमा माओवादीलाई मत हाल्ने सम्पूर्ण जनता खोज्न र जोडिनका लागि निर्देशन दिए ।

कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सदस्य हितबहादुर तामाङद्वारा लिखित ‘राज्य रूपान्तरण’ नामक पुस्तक विमोचनसमेत गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, सम्पर्क समन्वय समितिका प्रदेश अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्वउपसभामुख एवम् प्रदेश सभा सदस्य राधिका तामाङ, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज हीरानाथ खतिवडा, बागमती प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गाना, माओवादी केन्द्र नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने, ज्येष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष फत्तप्रसाद मैनाली, पार्टी केन्द्रीय सल्लाहकार बलराम फुयाँल, सम्पर्क समन्वय समिति इन्चार्ज किरण रिजाललगायत पार्टीका प्रदेश सचिवालय सदस्य, प्रदेश सदस्य, जनवर्गीय सङ्गठनका नेतालगायतको सहभागिता थियो ।