विदुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)को नतिजाअनुसार नुवाकोटका दुई नगरपालिका र दश गाउँपालिकामध्ये ककनी पहिलो र तारकेश्वर गाउँपालिका अन्तिम भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका स्थानीय तहबिच गराएको लिसाको नतिजा गुणस्तर परीक्षणमा जिल्लाका १२ पालिकामध्ये सबैभन्दा बढी ककनीले ७९.७५ प्रतिशत र सबैभन्दा कम तारकेश्वरले ४९.७५ प्रतिशत अङ्क पाएका छन् । आर्थिक वर्ष २०७९/०८० को लिसाको गुणस्तर परीक्षणका क्रममा किस्पाङले ७३.५०, तादीले ६८, दुप्चेश्वरले ७८, पञ्चकन्याले ६८.७५, विदुरले ६०, बेलकोटगढीले ६५, म्यागङले ५२.२५, लिखुले ६३.२५, शिवपुरीले ६१.२५ र सूर्यगढीले ६६ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।
सङ्घीय सरकारले स्थानीय तहलाई दिने अनुदानमा उत्कृष्ट पालिकालाई विशेष प्राथमिकता राख्ने गरेको छ । यसपटक मन्त्रालयले लिसाको कार्यक्रमअन्तर्गत अनलाइन आवेदन माग गरेकामा सात सय ५३ मध्ये सात सय ४९ ले मात्र आवेदन दिएका थिए । सङ्घीय मामिला मन्त्रालयले विभिन्न १० विषय क्षेत्र र सूचकलाई आधार मानेर पालिकाको मूल्याङ्कन गर्छ । मूल्याङ्कनका लागि मुख्य सूचकभित्र एक सय ६७ उपसूचकसमेत मूल्याङ्कनका आधारका रूपमा राखिएको थियो । सबै पालिकाको ती सूचकका आधारमा अङ्क दिने गरेको छ । त्यसका आधारमा उत्तीर्ण अङ्कसहित मन्त्रालयले छनोट गर्ने गरेको छ । ती सूचकलाई स्थानीय तहले आफैँ नम्बर दिन पाउँछन् । ती सूचकमध्ये शासकीय प्रबन्धक, सङ्गठन र प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य र समन्वयका सूचक छन्् । जिल्लाका स्थानीय तहको समन्वय र सहकार्य, न्याय सम्पादन, सेवा प्रवाह, सामाजिक समावेशीकरणका सूचकमा कमजोर अङ्क रहेको पाइएको छ ।