थुम्की महादेव प्रचारप्रसारको पर्खाइमा

  • त्रिशूली प्रवाह
  • २० भाद्र २०८१, बिहीबार ११:४२

धुन्चे । रसुवाको कालिका गाउँपालिका-५, जिबजिबेस्थित नीलकण्ठ थुम्कीका महादेव उचित प्रचारप्रसारका अभावमा ओझेलमा परेको छ । समुद्रमन्थनपछि कालकूट विष पिएका शिव उत्तरापन्थ जाने क्रममा एक रात वास बसेको पनि मानिएको सो ठाउँबारे स्थानीयवासीबाहेक कमै मानिसलाई थाहा छ । सो स्थल पासाङल्हामु राजमार्गको बेत्रावती–धुन्चे खण्डको कालिकास्थान–घुम्तीबाट एक दशमलव सात किलोमिटर पूर्व पर्छ ।

जिबजिबे बजारदेखि केही तल रहेको भञ्ज्याङबाट उठ्दै गरेको एक थुम्कामा नीलकण्ठ महादेव रहेको कालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष सन्दीप पौडेल भन्छन्, ‘रसुवा धार्मिक एवम् प्रकृतिनिर्मित असङ्ख्य स्थलका कारण पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । स्थानीयवासीले यसलाई थुम्कीका महादेव भनेर सम्बोधन गर्छन्, अर्को नीलकण्ठ र जलेश्वर महादेवका रूपमा पनि चिनिन्छ । कालिका-५ का वडाध्यक्ष पौडेल सो स्थानको प्रचारप्रसारमा जोड दिन सके त धेरै राम्रो हुने बताउँछन् । कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा बताउँछन्, ‘परापूर्वकालमा जिबजिबेकै एक स्थानीय बासिन्दाको गाई सधैँ बाँधिएका ठाउँबाट फुकेर हराउने र दुहुने बेलामा गोठमा नहुने हुँदा कता गएछ भनेर खोज्दै जाँदा हाल महादेव मानिएको शिलामा दुध चढारहेको भेटिएको हुनाले भगवान्को शक्ति मानी पूजाआजा गरिँदै आएको छ ।’

यस्तो पौराणिक कथा जोडिएका स्थानमा पूर्वप्रधानपञ्च तथा जिबजिबेवासी चूडामणि पौडेलको अगुवाइमा बालाचतुर्दशीका बेला मेलासहित शतबिज छर्ने कामको थालनी गरिएको थियो । सो ठाउँ सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि उपयुुक्त रहेको स्थानीयवासी भीम पौडेल बताउँछन् । जाने–बुझेका यहाँका मानिस मात्रै जाने गरेको यस मन्दिरमा पहिले नुवाकोट जिल्लाका तत्कालीन गाविस मनकामना, फिकुरी, तादी, तुप्चे, गेर्खुको मभिर, गेर्खु, बागेश्वरीको कुवापानी, चोगतेलगायत स्थानबाट समेत तीर्थालु आउँथे । थुम्की महादेवको प्रचारप्रसारमा व्यापकता ल्याउन सके धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित हुनेमा विश्वस्त रहेको गाउँपालिका उपाध्यक्ष मीरा लामा बताउँछिन् ।