रामकृष्ण अधिकारी
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, नुवाकोट
नुवाकोट जिल्ला साबिक थानसिङ-९, हाल ककनी-८ मात्रागाउँमा जन्मेका रामकृष्ण अधिकारी आफ्नो गृहजिल्लामा प्रमुख जिल्ला अधिकारी हुने पहिलो भाग्यमानी राष्ट्रसेवक हुन् । राष्ट्रिय प्राथमिक विद्यालयबाट प्राथमिक तह र महेन्द्र माध्यमिक विद्यालय, थानसिङबाट प्रवेशिका परीक्षा उत्तीर्ण उनी आइएस्सी, बिएड, एमएड पूरा गरी जनप्रशासन विषयमा स्नातकोत्तर हुन् । वि.सं २०५६ देखि पाँच वर्ष ६ महिना तत्कालीन दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम) मा सहायकस्तर र २०६१ सालमा निजामती सेवामा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत नियुक्त उनी २०६९ सालमा प्रतिस्पर्धात्मक परीक्षाबाट उपसचिव र २०७८ सालमा प्रतिस्पर्धात्मक परीक्षाबाट नै सहसचिव भएका हुन् । अधिकारीले आफ्नो सेवाकालमा दुई वर्ष जिल्ला मालपोत कार्यालय (रसुवा), पाँच वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, एक वर्ष महिला, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालय, चार–चार वर्ष स्वास्थ्य तथा जनसङ्ख्या र उद्योग, वाणिज्य तथा आपूर्ति तथा एक वर्ष खानेपानी मन्त्रालयमा सेवा गरेका छन् । सहसचिव भएपछि एक वर्ष ६ महिना प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश सचिव भएका उनी एक वर्ष लमजुङमा प्रजिअ भई विगत सात महिनादेखि नुवाकोटका ‘सिडियोेसाब’ हुन आइपुगेका छन् । उनीबाट नुवाकोटका युवाले निजामती प्रशासनमा भर्ना हुने र मातृभूमिको सेवा गर्ने प्रेरणा पाएका छन् । उनको करिब आधावर्षे नुवाकोट प्रजिअ कार्यकालमा सीमित साधनस्रोत र कम जनशक्तिकै भरमा जिप्रकाले दिने सेवा चुस्त÷दुरुस्त, गुनासोरहित र छिटो भएको सेवाग्राहीले अनुभव गरेका छन् । यसै सेरोफेरोमा रही ‘सिडिओ’ अधिकारीसँग ‘त्रिशूली प्रवाह’का सम्पादक शरण उत्सुकले गरेको कुराकानीको अंश सम्पादित रूपमा :
नुवाकोटले पहिलोचोटि जिल्लामै जन्मे–हुर्केको व्यक्तिलाई ‘जिल्लाको राजा’का रूपमा पाएको छ । आएको सात महिनाका अवधिमा यहाँलाई कस्तो अनुभूति र अनुभव भयो ?
नुवाकोटको एउटा सामान्य नागरिक जिल्लाको प्रजिअजस्तो महत्वपूर्ण जिम्मेवारी लिई आउने बेलासम्म नुवाकोटमा जन्मी हुर्केर यस जिल्लाको प्रजिअ हुने म नै पहिलो व्यक्ति हुँ भन्ने मेरो जानकारीमा थिएन । विभिन्न समूह तथा व्यक्तिले मलाई स्वागत गर्दै यो विषय जानकारी भयो । यो मेरा लागि पनि निश्चय नै सुखद र अविष्मरणीय संयोग हो । मैले जिल्लाका राजाका रूपमा भन्दा पनि यहाँको सेवकका रूपमा आफूलाई बुझेको छु र मातृभूमिको सेवा गर्ने अवसर प्राप्त भएकामा आफूलाई भाग्यमानी मानेको छु । मैले जन्मभूमिको ऋणको भार केही कम भएको अनुभूति गरेको छु । म अहिले जहाँ आइपुगेँ, यो मानव जीवनको नियमित निरन्तरता हो । उच्च राजनीतिक चेतना र प्रतिस्पर्धात्मक समाज रहेको राजधानीसँग जोडिएको जिल्लाका हिसाबले काम गर्दा प्रशस्त अवसर तथा चुनौती छ । मैले यसमा आफूलाई सन्तुलित र मर्यादित रूपमा प्रस्तुत गर्दै पदीय दायित्व पूरा गरिरहेको र पेसागत दक्षता हासिल हुँदै गएको अनुभव गरिरहेको छु ।
जिल्लालाई बाहिरबाट हेर्दा र भित्र पसेर नियाल्दा नुवाकोटवासीमा यहाँले कत्तिको सभ्य, सुसंस्कृत, मैत्री र काम गर्ने हुटहुटीपूर्ण भावना पाउनुभयो ?
नुवाकोट बाहिर रहेर बाह्य व्यक्तिले जिल्लाबारे विभिन्न प्रकारका धारणा राख्ने गरेको पाइन्छ, जुन मैले अध्ययन तथा राष्ट्र सेवाका क्रममा देशका विभिन्न भागमा पुग्दा सुन्ने गरेको थिएँ । उच्च राजनीतिक चेतना भएको, सुगम र उर्वर भूमिसहित उच्च उत्पादनको सम्भावना भएको, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण स्थानमा रहेको र पछिल्लो समय पारवहन तथा समारिक हिसाबले समेत महत्वपूर्ण जिल्ला हो भन्नेजस्ता सकारात्मक टिप्पणीका अतिरिक्त अमर्यादित र अस्वस्थ्य प्रतिस्पर्धायुक्त समाज भएको, अनेक आपराधिक घटना भइरहने र कमजोर अनुशासन भएका जनमानस भएको समस्यायुक्त जिल्ला भनी नकारात्मक टिप्पणी हुने गरेको पनि सुनिन्थ्यो । जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाल्नु अगाडि र यो जिम्मेवारीमा रहँदा पनि मेरो बुझाइ भने हरेक भूगोलमा असल मानिसको बाहुल्य छ र रहन्छ भन्ने छ । साथै हरेक समाजमा खराब पक्ष पनि अनिवार्य रहन्छ नै । यो सामान्य प्राकृतिक नियम हो । मेरो विगत सात महिनाको कार्यानुभवले नुवाकोटका अधिकांश नागरिक इमानदार, अनुशासित र विधिको शासनको पक्षधर भएको एवम् राष्ट्रियस्तरको पहिचान बनाउनुभएका राजनीतिक दलका नेतृत्वका कारण पनि राष्ट्रसेवकका लागि यो चुनौतीका साथसाथै अवसरयुक्त जिल्ला हो भन्ने पाएको छु । साथसाथै चिनजान र भनसुनका आधारमा निहित स्वार्थ पूरा गर्ने र प्रक्रिया र प्रणालीभन्दा माथि हुन खोज्ने केही व्यक्तिका कारण थोरै नकारात्मक टिप्पणी हुने गरेझैँ लाग्छ । समग्रमा भन्नुपर्दा नुवाकोट अथाह सम्भावना बोकेको, उच्च राजनीतिक चेतना र प्रतिस्पर्धात्मक वातावरण भएको, विकासका हिसाबले उच्च अपेक्षा र क्रियाशीलता रहेको उदीयमान जिल्ला हो भन्ने म ठान्छु ।
तपाईंले जिल्लाको समग्र शान्तिसुरक्षाको स्थिति कस्तो पाउनुभएको छ ? चेलिबेटी बेचबिखन, गैरकानुनी सामान ओसारपसार, बिक्री–वितरण, उत्खनन–प्रशोधन, हिंसा र अपराधको अवस्थाबारे पनि केही बताइदिनुहुन्छ कि ?
शान्ति सुरक्षाका हिसाबले जिल्ला सामान्य, सुरक्षित र मर्यादित नै छ । यहाँ कुनै गम्भीर सुरक्षा चुनौती नरहेको तथा समग्र शान्तिसुरक्षाको अवस्था प्रशासनको नियन्त्रणमा छ । तथापि, कुनै समस्या नै छैनन् र रामराज्य छ भन्ने पनि होइन । हरेक समाजमा धेरथोर आपराधिक र अमर्यादित घटना हुने गरेको पाइन्छ र नुवाकोट पनि त्यसमा अपवाद होइन । विगतमा चेलिबेटी बेचबिखनको जिल्लाका रूपमा चिनिने गरेकामा यसमा क्रमिक सुधार भएको स्पष्ट देखिन्छ । सामग्रीको अवैध ओसारपसार तथा कतिपय आपराधिक घटनासमेत यदाकदा छिटफुट रूपमा हुने गरे पनि तीनै तहका सरकार र विशेषतः सुरक्षा निकाय संवेदनशील रूपमा सक्रिय भई नियन्त्रण गरिएको छ । प्राकृतिक स्रोतसाधनको उत्खनन र प्रशोधनलगायत व्यवस्थापनमा प्रचलित कानुनले स्थानीय तहलाई प्रमुख रूपमा जिम्मेवार बनाएकाले ती तहबाट उचित व्यवस्थापन भएको हुनुपर्छ । तथापि, यस क्षेत्रमा थप सुधार गर्दै व्यवस्थित गर्नुपर्ने देखिन्छ ।
शान्तिसुरक्षा र अमनचयन कायम गर्न, प्रशासनिक तथा विकास निर्माणमा भइरहेका अनियमितता र ढिलासुस्ती अन्त्य गर्न, सुशासन कायम गर्न तथा सभ्य, हिंसारहित समाज निर्माण गर्न यहाँसँग के–कस्ता योजना वा कार्यतालिका छन् ?
शान्तिसुरक्षा र अमनचयन कायम गरी सुरक्षित र मर्यादित समाज निर्माण गर्न सम्पूर्ण सुरक्षा निकायको सहभागितामा जिल्लाको सुरक्षा चुनौतीको पहिचान गरी अपराध नक्साङ्कनसहितको सुरक्षा योजना तयार गरिएको छ । यसका अतिरिक्त सबै स्थानीय तह तथा समुदायसम्म शान्तिसुरक्षासम्बन्धी अन्तरक्रिया तथा छलफल, विभिन्न औपचारिक तथा अनौपचारिक माध्यमबाट सूचना सङ्कलन तथा विश्लेषण, सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा संयन्त्र परिचालन तथा विशेषतः समाजका अगुवा र राजनीतिक दल तथा जनप्रतिनिधिसँग समन्वय र सहकार्य गर्नेलगायत बहुआयामिक हिसाबले उच्च संवेदनशीलताका साथ परिचालन गर्ने–गराउने एवम् स्वयम् परिचालित हँुदै आएको छु । शान्तिसुरक्षा बहुआयामिक विषय हो र यसका लागि प्रत्यक्ष एवम् परोक्ष रूपमा सुरक्षा निकाय, राजनीतिक दल, तीनै तहका सरकारका अतिरिक्त हरेक सचेत नागरिकको समेत उल्लेख्य सहयोग र सहकार्य चाहिन्छ । उल्लिखित परिवेशको सबल संयोजन र नेतृत्वमा रही जिल्लाको शान्तिसुरक्षा मजबुत पारिएको छ । चुस्त सेवा प्रवाह प्रदान र अनियमितता नियन्त्रण गर्दै सुशासन कायम गराउने विषय पनि प्रजिअका हिसाबले मेरो प्राथमिकताको क्षेत्र हो र यसका लागि प्रचलित कानुनको परिधिभित्र रही आवश्यक समन्वय, सहजीकरण, अनुगमन तथा नियमन गरिँदै आएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, भ्रष्टाचार नियन्त्रण ऐन तथा अन्य प्रचलित कानुनको परिपालना गर्ने–गराउने कार्यमा सक्रिय प्रयास गरिएको छ । आगामी दिनमा यस प्रकारका गतिविधिलाई थप सक्रिय र प्रभावकारी रूपमा अगाडि बढाउँदै भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाहमा छिटोछरितो गरी सुशासनको अवस्थामा सुधार गरिनेछ ।
नुवाकोट प्रभावशाली राजनीतिक दल र तिनका राष्ट्रियस्तरका नेताको जिल्ला पनि हो । दैनिक कामकारबाहीमा यहाँलाई कत्तिको राजनीतिक दबाब आएको छ ?
प्रजिअ अधिकारी पक्कै पनि नुवाकोट विगतदेखि नै राष्ट्रियस्तरका नेतृत्व रहेको जिल्ला हो र यो गौरवको विषय पनि हो । जिल्ला प्रशासन कार्यालयको कार्य सम्पादनमा जिल्लाका नेतृत्वबाट सधैँ सल्लाह, सहयोग र समन्वय हुँदै आएको छ । मेरो कार्यकालमा सबै राजनीतिक दल र दलका नेतृत्वबाट उल्लेख्य सहयोग पाइरहेको छु । कार्यसम्पादनका क्रममा मैले कुनै किसिमको उहाँहरूबाट अनुचित दबाबको महसुस गर्नुपरेको छैन ।
यहाँले राजनीतिक दल र तिनका नेता–कार्यकर्तामा कत्तिको सहिष्णुता र एक–अर्काप्रति सम्मानको भावना अनुभव गर्नुभयो ?
नुवाकोट उच्च राजनीतिक चेतना र प्रतिस्पर्धात्मक समाज भएको तथा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगट्न सफल जिल्ला हो र लोकतन्त्रका लागि यी महत्वपूर्ण पक्ष पनि हुन् । उच्च प्रतिस्पर्धाका कारण होला समाजको तल्लो तहसम्म राजनीतिक रूपमा विभाजित समाज रहेको आमबुझाइ छ । कतिपय अवस्थामा स्थानीयस्तरमा राजनीतिक विवाद र यदाकदा सानातिना मतभेदका घटना हुने गरेको पाइए पनि विधिसम्मत समाधान निकाल्नमा राजनीतिक दल सक्षम रहेको र त्यसमा नेतृत्व तहले निकास दिएको पाइन्छ । यस हिसाबले समग्रमा यहाँ राजनीतिक रूपमा स्वस्थ्य प्रतिस्पर्धाबिच राजनीतिक सहिष्णुता र सम्मानको वातावरण छ । तथापि सुधारको सम्भावना हरेक क्षेत्रमा हुन्छ नै र यस विषयमा आगामी दिनमा अझ सकारात्मक सुधारका माध्यमबाट थप सुसंस्कृत र मर्यादित सामाजिक–राजनीतिक वातावरणको अपेक्षा गर्न सकिन्छ ।
जिल्लाको समग्र विकास निर्माणका गतिविधि, प्रगतिप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? आफ्ना कामकारबाहीप्रति उजुरी, गुनासो केही आएको छ कि ?
विकास नियमित र निरन्तर प्रक्रिया हो र यसको अवस्था तुलनात्मक रूपमा असीमित हुन्छ । नुवाकोटको विकासको विषय पनि यस्तै हो । विगत २५–३० वर्षमा तुलनात्मक हिसाबले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्र एवम् यातायात, सञ्चार, सिँचाइ तथा विद्युत्लगायत पूर्वाधारका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । तर, सन्तुष्ट हुने अवस्था भने होइन । मानिसका आवश्यकता असीमित हुन्छन् । विश्व समुदायले विकासको अद्वितीय नमुना देखाएका छन् र नुवाकोटका जनतामा पनि सोको उत्कट इच्छा छ जुन आगामी दिनमा पूरा गर्नुपर्नेछ । हालैका दिनमा भएका विकास निर्माण आशावादी हुने खालको भए पनि यसको गतिलाई थप दु्रत र गुणस्तरीय बनाउँदै जानुपर्ने देख्छु । पछिल्लो समयमा विकास निर्माणका क्रियाकलापमा उल्लेख्य वृद्धि एवम् विकेन्द्रीकृत भएको छ । साथै यी कार्यबारे उजुरी तथा गुनासा पनि आउने गरेका छन् । यसप्रकारको प्रवृत्तिले विकास निर्माणमा जनचासो अभिवृद्धि हुँदै गएको र सम्बन्धित पक्ष थप जिम्मेवार हुने वातावरण बन्दै गएको रूपमा बुझेको छु ।
तपाईंका कार्यकालमा सीमित साधन स्रोत र कम जनशक्तिकै भरमा जिप्रकाले दिने सेवा चुस्त÷दुरुस्त, गुनासोरहित र छिटो भएको सेवाग्राहीले अनुभव गरेका छन्, यो कसरी सम्भव भयो ?
हो, कार्यालय अत्यन्तै सीमित साधनस्रोत र जनशक्तिको सीमितताबिच सञ्चालन भइरहेको छ । कार्यालयमा स्वीकृत दरबन्दी संरचनानुसारका केही पद रिक्त रहेको र नागरिकताका अतिरिक्त राष्ट्रिय परिचयपत्र, राहदानीलगायतमा सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको छ । तिनको अपेक्षा पनि सरल, सहज र तत्काल सेवा प्राप्त हुनुपर्छ भन्ने छ जुन एकदमै जायज हो । सेवा गुणस्तरीय गराउनका लागि हाम्रा कर्मचारी, सञ्चारकर्मी एवम् सचेत नागरिकको खबरदारीलगायत पक्ष कारक हुन् भन्ने लाग्छ । सेवा प्रवाह सुधार गर्ने मेरो कार्ययोजनाभित्रको विषय हो र यसका लागि कर्मचारीलाई उत्प्रेरित गर्ने, प्रक्रियागत सरलीकरण गर्ने र थप जनशक्ति व्यवस्थापन गर्नेलगायत कार्य गरिएको छ । सोअन्तर्गत सेवाग्राहीसँग मर्यादित र मुस्कानसहितको सेवा प्रवाह गर्न, तिनसँग विवाद नगर्न र आफूले सम्झाउन/बुझाउन नसके माथिल्लो अधिकृतकहाँ पठाउन भनिएको छ । नियमअनुसार गर्न हुने, मिल्ने कार्यलाई सहजताका साथ गरिदिने र गर्न नसकिने, नमिल्ने कार्यलाई सोही व्यहोरा बुझाइदिने गरिएको छ । सकेसम्म समयका कारण कुनै सेवाग्राहीलाई भोलि आउन भनिँदैन र अलिक अबेरसम्म बसेर भए पनि उही दिन कार्य सम्पन्न गर्ने गरिएको छ । अत्यावश्यक काममा बाहिर जानेबाहेक म आफैँ पनि कार्यालय समयमा कार्यालयमै रही सेवा प्रवाह गर्ने गरिएकाले पनि हाम्रो कामकारबाही स्तरीय भएजस्तो लाग्छ ।
नुवाकोट पौराणिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक दृष्टिले सम्पन्न भएर पनि ‘बत्तीमुनिको अँध्यारोकारूपमा चित्रण गरिन्छ । यसलाई आर्थिक–सामाजिक–पर्यटकीय रूपले विकास गर्न यहाँसँग त्यस्ता केही सुझाव छन् जुन यहाँको प्रशासनयन्त्र, उद्योगी–व्यवसायी, बौद्धिक तथा नागरिक समाजले ग्रहण गरेर कार्यान्वयन गर्न सकियोस् ?
पक्कै पनि नुवाकोट उत्पादनका हिसाबले पनि उर्वर जमिन भएको सुुन्दर जिल्ला हो । यी बहुआयामिक महत्वका पूर्वाधारको उचित व्यवस्थापन गरी एक सम्पन्न, सुगम र सुसंस्कृत जिल्लाका रूपमा विकास गरी देशकै महत्वपूर्ण केन्द्रका रूपमा बनाउन सकिने प्रचुर सम्भावना छ । कुनै समय बत्तीमुनिको अँध्यारो जिल्ला भनिए पनि पछिल्ला वर्षमा विकासका गतिविधिले लय लिन थालेको देखिन्छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक, छहरे–टोखा सडक, पासाङल्हामु राजमार्गका अतिरिक्त जिल्लास्तरमा सडक सञ्जालको विस्तार, सिँचाइ तथा खानेपानीका योजना, जलविद्युत् आयोजनाको विकास र विस्तारले गति लिँदै गर्दा जनमानसमा आशाका किरण देखिँदै गरेको अनुभूत गर्न सकिन्छ । तैपनि यो पक्ष अपेक्षित मात्रा र गतिमा अगाडि बढ्न सकेको छैन भने अनेकौँ सम्भावना उपयोगमा आउन बाँकी नै छ । अनियन्त्रित बसाइँसराइ र घट्दो जनसङ्ख्याले आगामी दिनमा ल्याउने चुनौतीलाई सम्बोधन गर्दै जिल्लाका उर्वर भूमिमा आधुनिक कृषि प्रणाली अवलम्बन गर्न सकिन्छ । यसका लागि सबै स्थानीय तहले जमिनको वर्गीकरण गरी कृषियोग्य भूमिको संरक्षण र कृषि उपजको बजारीकरणमा ध्यान दिनु जरुरी छ । त्रिदेशीय राजमार्ग वरिपरि औद्योगिक ग्राम स्थापना गरी पारवहन सुविधाको फाइदा उठाउन सकिन्छ । काठमाडौँ वरिपरि तथा धार्मिक तथा ऐतिहासिकस्थलको संरक्षण र प्रवद्र्धन तथा सुन्दर झरना, खोला तथा पाखापखेरामा साहसिक, मनोरञ्जनात्मक र पर्यटनको विकास गरी ग्रामीण अर्थतन्त्र उकास्न सकिन्छ । यसका लागि सडक, खानेपानी, विद्युत्लगायत पूर्वाधार निर्माणमा सङ्घीय तथा प्रदेश सरकारले यहाँका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षण, विकास र विस्तारमा स्थानीय तहसँग सहकार्य र समन्वय गर्नुपर्छ । सम्भावित क्षेत्रको बजारीकरण र विस्तारमा स्थानीय तहले उल्लेखनीय भूमिका खेल्नुपर्ने देखिन्छ । यसमा प्रशासन तथा सरकार, बौद्धिक वर्ग एवम् सचेत नागरिक समाजका तर्फबाट पूर्वाधार विकास, शान्तिसुरक्षामा समन्वय, सहजीकरण तथा उत्प्रेरित गर्ने र उद्योगी व्यवसायीलगायत निजी क्षेत्रले प्रचलित कानुनको परिपालना गर्दै उत्पादनमूलक उद्योगको स्थापना, रोजगारीको सिर्जना र सरकारको सहयात्री÷सहयोगीका रूपमा अगाडि बढ्नुपर्ने देख्छु ।
नुवाकोट इतिहासमा दुई–दुईपटक नेपालकै राजधानी भइसकेको क्षेत्र हो । यसको गौरवमय इतिहास पुनर्जीवित गर्न थप केही सन्देश दिनुहुन्छ कि ?
पक्कै पनि नुवाकोट नेपाल एकीकरण चरणको एक महत्वपूर्ण विन्दुका रूपमा थियो । यसका अतिरिक्त यो नेपाल–तिब्बत युद्धमा देशको अस्तित्व रक्षा गर्ने क्रममा विदेशी सेनालाई युद्धको मैदानमा अगाडि बढ्नबाट रोक्दै बेत्रावती सन्धि भएको ऐतिहासिक जिल्ला पनि हो । वर्तमान अवस्थामा यहाँ छोटो दूरीको त्रिदेशीय राजमार्गले जोडिँदै प्रचुर व्यापारिक तथा व्यावसायिक सम्भावना छ । नुवाकोट हाल अध्ययनका चरणमा रहेको केरुङ–काठमाडौं रेलमार्गले जोडिन सक्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डको प्रवेशद्वार तथा अनेकन तीर्थस्थल अवस्थित जिल्ला पनि हो । यस अर्थमा जिल्लाको ऐतिहासिक महत्वको पुनरुत्थान गर्दै आधुनिक युगले ल्याएका थप अवसरसमेतको संयोजन तथा अधिकतम उपयोग गरी सबै पक्षको सकारात्मक सहकार्यमार्फत आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा सबै नुवाकोटवासी तथा देश–विदेशमा रहनुभएका नुवाकोटलाई माया गर्ने सबै हितैषीलाई सहकार्य गर्न म अपिल गर्छु ।
नुवाकोटमा झन्डै एक दशकअघिदेखि निर्माण थालिएको केन्द्रीय कारागार गत हप्ता गृहमन्त्रीबाट उद्घाटन भएको छ । यसको निर्माण तथा सञ्चालनले स्थानीयवासीमा कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?
सही हो, लामो समयदेखि निर्माण चरणमा रहेको विदुर नगरपालिका खम्पाक्याम्पमा नेपाल सरकारको केन्द्रीय कारागार गुरुयोजनाअनुसारको पाँच एकाइमध्येको पहिलो एकाइको निर्माण सम्पन्न भई गृहमन्त्रीज्यूबाट यही भदौ १५ गते उद्घाटन भई सञ्चालनमा आएको छ । पहिलो एकाइको आधुनिक भवनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक हजार तीन सय ७० कैदीबन्दी राख्ने क्षमता रहेकामा हाल नुवाकोट कारागारमा रहेका एक सय ५९ कैदीबन्दी स्थानान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागले अधिक सङ्ख्यामा कैदीबन्दी रहेका कारागारबाट क्रमशः स्थानान्तरण गरी बिस्तारै पूर्ण क्षमतामा सञ्चालन गर्ने पनि जनाएको छ । यति ठूलो सङ्ख्यामा कैदीबन्दी रहेको कारागार सञ्चालनमा आउँदा उनीहरूका लागि आवश्यक दाल, चामल, तरकारी, लुगाफाटोलगायत दैनिक उपभोग्य वस्तुको खपत स्थानीय बजारबाट हुने, कारागारमा रहेका आफन्तलाई, देशका विभिन्न स्थानबाट भेट्न आउने व्यक्तिका लागि खानपिन तथा बसोवासका लागि होटेल तथा रेस्टुरेन्ट व्यवसायलगायत कारणले यस स्थानको बजार तथा अर्थतन्त्र चलायमान भई आय तथा रोजगारीका अवसरमा वृद्धि हुन्छ । यसका अतिरिक्त जान तथा अन्जानमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न मानिसलाई सुध्रिने अवसर प्रदान गरी सभ्य समाज निर्माण गर्ने कार्यमा समेत नुवाकोटले योगदान पु¥याउने अवसर पाउनेछ ।