विदुर । विश्व आत्महत्या रोकथाम दिवस नुवाकोटमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मंगलबार मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर १० का दिन यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने थियो ।
विदुर नगरपालिकाको आयोजनामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा नगरपालिकाभरिका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि आत्महत्या रोकथाम विषयमा चेतनामूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख प्रभा बोगटीले आत्महत्याका घटना नगरका ग्रामीण भेगभन्दा सहरकेन्द्रित भएको बताउँदै आत्महत्या न्यूनीकरणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा नीति, बजेट र कार्यक्रम तय गरेको र नगरका सबै माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने जानकारी दिइन् । कार्यक्रममा विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितले सामाजिक सञ्जालमा आएका सामग्रीलाई सही वा गलत भनी बुझ्नु जरुरी रहेको बताउँदै चालू आर्थिक वर्षको दुई महिनामा तीनजनाले आत्महत्या गरेको जानकारी दिए । उनले आत्महत्या गर्ने व्यक्तिलाई भन्दा उनका परिवारलाई असह्य पीडा हुने भएकाले आफ्ना परिवारका सबै सदस्यबिच सम्बन्ध राम्रो राख्नुपर्ने बताए ।
सो अवसरमा त्रिशूली अस्पतालको आयोजनामा नगरपालिकाको कोलनी क्षेत्रमा प्रभातफेरी गरिएको अस्पतालका निमित्त अस्पताल प्रमुख राजेन्द्र लामाले जानकारी दिए । यसैगरी बेलकोटगढी नगरपालिका र शिवपुरी गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्य गरेको थियो । शिवपुरीले जनज्ञान निकेतन माविमा जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजना तथा मनोवैज्ञानिक सहयोग संस्थाको प्राविधिकको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किशोरकिशोरीमा आत्महत्याको बढ्दो जोखिम र रोकथामका उपायबारे जानकारी दिइएको थियो । मनोवैज्ञानिक सहयोग संस्थाले विदुर नगरपालिकास्थित पतञ्जली योग उपसमितिको आयोजनामा त्रिशूली र विदुरमा महिलालाई समेत आत्महत्या, मानसिक समस्या तथा रोकथामका उपायबारे अभिमुखीकरण कायक्रम गरेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्याङ्कअनुसार चालू आवमा जिल्लामा १५ जनाले आत्महत्या गरेका छन् ।
नेपालमा आव ०८०/८१ मा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्याका धेरै कारणमध्ये जैविक, मानसिक रोग, शारीरिक, मनोवैज्ञानिक कारण छन् । त्यस्तै, सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि मानिसले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने विज्ञको भनाइ छ ।