- रमेश सिलवाल
गुर्जेभञ्ज्याङ (नुवाकोट) । राजधानीनजिकै उत्तरतर्फ अवस्थित शिवपुरी गाउँपालिकाभित्र बर्खा लागेपछि झरना पर्यटन सुरु हुन्छ । पालिकामा साना–ठुला गरी थुप्रै झरना बर्खामा देखिने भए पनि स्थानीय तह विशेष खालका पाँचवटाको पहिचान गरेर विभिन्न सङ्घसंस्थासँग समन्वय र सहकार्यमा प्रवद्र्धन र प्रचार–प्रसारमा जुटिरहेको छ ।
गाउँपालिकामा आकार र पानीको परिमाणका हिसाबले ठुला झरनामध्ये पहिचानमा आएकामा वडा नम्बर ७ र वडा नम्बर ८ मा लौके वा छहरे (सँगै अर्काे सानो पनि छ), वडा नम्बर ४ र ६ मा लप्से मोहरथोक, वडा नम्बर ६ मा चिलाउने गाउँ, वडा नम्बर ३ र ४ को सिमानामा लखिनेश्वरी र वडा नम्बर ६ मा छुङ्छुङ छन् । पालिकामा अर्काे एउटा टुनीखोला झरना पनि छ । तिनीहरूको पर्यटकीय सम्भावना पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो बनाउने र प्रचारप्रसार गर्ने पालिकाको योजना रहेको अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए । पालिकाले झरना पर्यटक भित्र्याउन पहल गरिरहेकोसमेत उनले बताए । तीमध्ये पालिका र त्यसका सम्बन्धित वडा कार्यालयको आयोजनामा २०८० र २०८१ मै लप्से मोहरथोक, चिलाउने र लखिनेश्वरी झरना महोत्सव सम्पन्न भइसकेको छ । प्राकृतिक सम्पदा र जातजातिको मौलिक संस्कृति र संस्कारले सम्पन्न शिवपुरीमा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गरेर रोजगारी तथा स्वरोजगारीसित जोड्दै जानेसमेत अध्यक्ष थपलियाले बताए ।
लौके झरना काठमाडौँबाट ३२ किलोमिटर उत्तरतर्फ पर्छ । झरना करिब एक सय ३५ मिटर अग्लो छ । छहरे–टोखा–त्रिशूली सडकखण्डको नुवाकोटतर्फको काफलडाँडाबाट तीन किलोमिटर दूरीमा लौके झरना छ । त्यसमध्ये दुई किलोमिटरसम्म मोटर पुग्छ भने मोटरसाइकल झरनानजिकै जान सक्छ । सम्पादक समाज नेपालको आयोजनामा शिवपुरी–८ स्थित सानो र ठुलो छहरे झरना अवलोकनका लागि राजधानी र नुवाकोटमा कार्यरत सम्पादक, पत्रकारले पनि शनिबार पदयात्रा र अवलोकन गरे । पदयात्रामा समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्याम डोटेल, वियोगी पत्रकार अध्ययन केन्द्रका संरक्षक किरण वैद्यलगायत करिब एक सय ५० सञ्चारकर्मीको सहभागिता थियो । काठमाडौँ र नुवाकोटको सिमाना गुर्जे भञ्ज्याङबाट पश्चिमपट्टि पर्ने सो झरना लौका आकारको रहेको छ र त्यसबाट झरेको पानीका ठुला छिटा टाढासम्म पर्ने गरेको छ भने झरिसकेपछि लिएको स्फटिकमय खोलाको स्वरूप परसम्म नै पुगेको छ । गर्मीले आलसतालस भएका पत्रकार तथा अन्य आन्तरिक पर्यटकले ठुलो मुस्लो गरी झरेको झरनाको ठुलो छिटाको स्पर्शानन्द लिनाका साथै केहीले स्नानसमेत गरेर मनोरञ्जन गरे । काठमाडौँसँग सिमाना जोडिएको सो पालिकाभित्रको टोखा–छहरे सडकमार्गमा रहेका एक दर्जनभन्दा बढी साना झरनामा समेत शनिबार र बिदाको दिन टाढा जान नसक्ने र जान नचाहने आन्तरिक पर्यटकको भिडभाडले सडकै जाम हुने गरेको छ ।
लौके झरनासम्म पुग्ने बाटामा पर्यटकका लागि स–साना पसलहरू पनि खोलिएका छन् । त्यस्तै, झरनासम्म पुग्ने बाटो सम्याइनुका साथै ठाउँ–ठाउँमा सिँढी, काठेपुल पनि बनाइएका छन् । शिवपुरीले छिमेकी ककनी गाउँपालिकासँग पनि मिलेर काम गर्ने सोच बनाएको छ । झरना पानीका मूलले रसिलो र हरियाली पूर्ण शिवपुरीमा झरना पर्यटनको सम्भाव्यता देखिएकाले घरवासजस्ता पर्यटन पूर्वाधार र विकासमा जोड दिइने पालिकाका अध्यक्ष थपलियाले बताए । गाउँपालिकाले केही महिलालाई होमस्टेसम्बन्धी तालिम भने दिइसकेको छ । ‘स्थानीय जैविक उत्पादन गरेर पर्यटकलाई सेवा पु¥याउन सकेमा यहाँका जनताको जीवनस्तर पनि बढ्नेछ । यसका लागि प्रदेश र सङ्घ सरकारले पनि हामीजस्ता स्थानीय तहलाई बजेट र अन्य सहयोग गर्नुपर्छ,’ उनले भने । तपोभूमि शिवपुरी क्षेत्र पौराणिक स्थल पनि हो । नरसिंहावतार लिएका विष्णुले हिरण्यकशिपुको बधपछि थकाइ मार्न आएको सो क्षेत्र मृगेन्द्र शिखरका नामले पनि चिनिन्छ । तत्कालीन पञ्चकन्या गाविसका अध्यक्ष राम थापा सो इलाका काठमाडौँ उपत्यकाको वायु नियन्त्रक अथवा फोक्सो भएको ठोकुवा गर्छन् । ‘यहाँ अरू तीन भञ्ज्याङभन्दा अपार पानीको स्रोत छ । यो चराचुरुङ्गी, जीवजन्तु र वनस्पतिको वासस्थान, ट्रेकिङ, हाइकिङ, रक क्लाइम्बिङ, क्यानोनिङ, वायु र जल पर्यटन तथा रैथाने विविध संस्कृति र कृषि उत्पादनका लागि उपयुक्त स्थल रहेकाले केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारले त्यसको उपयोगमा ध्यान दिनुपर्छ,’ उनी भन्छन् । यहीँको गुर्जे भञ्ज्याङ उपत्यकाका चार भञ्ज्याङमध्ये एक हो जुन उत्तरपट्टिको मूल ढोका पनि हो । सम्पादक समाज कार्यसमिति सदस्य तथा स्थानीय ‘त्रिशूली प्रवाह’ साप्ताहिकका प्रकाशक एवम् सम्पादक शरण उत्सुकले समाजले नुवाकोटका विभिन्न पर्यटकीयस्थलको प्रचार–प्रसार गर्न पदयात्रा, अन्तक्र्रियालगायत विभिन्न कार्यक्रम गर्ने जानकारी दिए ।