- शरण उत्सुक
शिवपुरी । गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, शिवपुरी-७, सूर्यचौर, नुवाकोटमा सम्पादक समाज नेपालको आयोजनामा ‘जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’का सम्बन्धमा शनिबार बृहत् अन्तक्र्रिया सम्पन्न भएको छ ।
समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा सुइरेचौरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र क्षयीकरण रोक्नका लागि तीनै तहका सरकारले बजेट सुनिश्चित गर्नुका साथै समन्वय गर्नुपर्ने बताए । मुख्यमन्त्री तामाङले विकासबाट विनाश हुन जोगाउन तथा वातावरण, मानव र वन्यजन्तु संरक्षणका लागि अन्य निकायसँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गरे । पत्रकारको प्रश्न तथा जिज्ञासामा उनले नागमती बाँधबाट बिजुली पनि निकालिने बताउँदै त्यसबाट मानव र मानवबस्तीमा पर्न सक्ने असरबारे अध्ययन–अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे । सो अवसरमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले झरना, हरियालीपूर्ण वातावरण र शक्तिपीठ भएको तपोभूमि शिवपुरीमा आन्तरिक पर्यटन बढाएर स्थानीय जनताको आयआर्जन बढाउन गाउँपालिकाले प्रचार–प्रसार, महोत्सव, घरवास तालिमजस्ता कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए ।
‘सुइरेचौरमा पर्यटन पार्क निर्माण तथा शिव र बुद्धका मूर्ति स्थापना गर्ने सोच पनि छ,’ थपलियाले भने । गाउँपालिकाले यसअघि नै सुइरेचौरमा अतिक्रमित दर्जनजति पसल–टहरा हटाइसकेको छ । मुख्यमन्त्री लामाको उपस्थितिमा अध्यक्ष थपलियाले बफरजोनमा परेका जनताको बाली बँदेल, दुम्सी, रातो बाँदर आदिले खाइदिने गरेको, तर जनताले क्षतिपूर्ति नपाएको गुनासो गरे । गाउँपालिका अध्यक्ष थपलियाले निकुञ्जका साथै मानवबस्ती र मानव पनि जोगाउन केन्द्रीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।