चोगदे । नुवाकोट जिल्लाका दशवटा गाउँपालिका र दुईवटा नगरपालिकामध्ये ६ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भई कार्यालय सञ्चालन भइसकेको छ भने दुईवटा गाउँपालिका र दुईवटा नगरपालिकाका प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छन् । सङ्घीयताको जगको रूपमा रहेका नुवाकोटको दुईवटा पालिकाले जग्गा नपाउँदा भवन बनाउन सकेका थिएनन् । पछिल्लो एक वर्षमा भवन बनाउन बाँकी दुईवटा गाउँपालिकामध्ये सूर्यगढीले जग्गा प्राप्त गरेर शुक्रबार भवन निर्माण सुरु गरेको छ ।
सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शुक्रबार शिलान्यास भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने उक्त भवनको शिलान्यास नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गरेका हुन् । मुलुकको स्थिरता, विकास निर्माण र सुशासनका लागि नेकपा (एमाले)सँग गठबन्धन गरिएको प्रमुख अतिथि महतले सो अवसरमा बताए । सूर्यगढीको भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले तोकिएको समयमा नै नयाँ भवनको निर्माण सम्पन्न गरेर पालिकाको सेवा प्रवाहमा अझै थप सुधार हुने विश्वास व्यक्त गरेका छन् । नयाँ भवन निर्माणका लागि पालिकाको केन्द्रमा उपयुक्त जग्गा पाउनु निकै राम्रो सफलता रहेको भन्दै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्दै अघि बढ्ने मुख्यमन्त्री तामाङले बताए । जग्गा अभावको कारण लामो समयदेखि रोकिएको नयाँ भवनका लागि विभिन्न चुनौती पूरा गर्दै ११ करोड ६ लाख ७९ हजार पाँच सय ८१ रुपैयाँमा नयाँ भवनको ठेक्का लागेको छ । अहिले गाउँपालिकको भवन रहेको नजिकै नयाँ भवन निर्माणका लागि आवश्यक ६ रोपनी जग्गा प्राप्त गर्न सामुदायिक वन र शिवालय मन्दिरसमेत रहेको तथा अन्य विभिन्न बाधा र अवरोध हटाउँदै गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेसहित पालिकाको लामो समयदेखिको सङ्घर्षले भवन बनाउने काम अघि बढेको हो । तीनतले भवन बहुविपत् प्रतिरोधात्मक हुनेछ भने गाउँपालिकाको सेवाप्रवाहका लागि चाहिने सबै कार्यालय र शाखा एउटै भवनबाट सञ्चालनमा ल्याउने गरेर प्राविधिक डिजाइन गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले बताइन् ।
नयाँ निर्माण गर्न लागिएको भवनको प्रतिनिधिसभा सदस्य, नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले एक कार्यक्रमबिच शिलान्यास गर्दै तोकिएको अवधिमा गुणस्तरीय कामसहित सम्पन्न गर्न निर्देशन दिए । भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, प्रतिनिधिसभा सदस्य सीता मिजार, बागमती प्रदेश सभा सदस्य तथा काङ्ग्रेस नुवाकोट सभापति रमेशकुमार महतसहित पालिकास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सरोकारवालाले मन्तव्य राख्दै नयाँ निर्माण हुने भवनबाट पालिकाको सेवाप्रवाहमा थप सुधार, गुणस्तरीय र सहजता प्राप्त हुने विश्वास जनाएका छन् । भवन निर्माणका लागि लगाएको ठेक्का सुशील फुयाँल सञ्चालक रहेको जलकुनी निर्माण सेवाले ११ करोड ६ लाख ७९ हजार पाँच सय ८१ रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको छ । गत असार १२ गते भवन निर्माणका लागि सम्झौता भएअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भनिएको छ । नयाँ भवन निर्माण गर्ने स्थानमा रहेको शिवालय मन्दिरलाई अहिले सोही स्थाननजिकै प्राणप्रतिष्ठा गरेर राखिएको छ भने नयाँ भवनको निर्माणपश्चात् भवन प्राङ्गणमा शिवालय मन्दिर निर्माण गरिने गरेर संरचनाको डिजाइन गरिएको छ । भवन निर्माणका लागि सामुदायिक वनको ६ रोपनी जग्गा मन्त्रिरिषद्को निर्णयबाट गाउँपालिकाले आफ्नो नाममा प्राप्त गरेको हो । नयाँ बन्ने भवनको पहिलो तलामा ठुलो हलसहित ६ वटा कोठा, दोस्रो र तेस्रो तलमा ११–११ वटा कोठा निर्माण हुनेछन् ।
पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित सूर्यगढी गाउँपालिकाका जनप्रतिनिधिले भवन बनाउन जग्गाको खोजी थालेका थिए । गाउँपालिकाले सुरुदेखि बजेट छुट्याए पनि जग्गाको अभावमा भवन निर्माण गर्न सकेको थिएन । पछिल्लो समय भवन निर्माणका लागि पालिकाको वडा नम्बर-३ को तीनथुम्के वन क्षेत्रको ६ रोपनी जग्गामा भवन निर्माण गर्न प्रस्ताव गरेर निर्माण कार्यको थालनी गरेपछि उच्च अदालत पाटनमा रोक्नका लागि रिट दायर भएको छ । उक्त रिटको पक्षमा अदालतले फैसला गर्दै वन क्षेत्रमा रहेको मठमन्दिरको र वन क्षेत्रको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले संरक्षण गर्दै उपभोग गर्न सक्ने फैसला गरेपछि पालिकाको भवन बनाउने जग्गा सुनिश्चित भएको छ । पालिकाले प्रस्तावित भवन निर्माण गर्ने क्षेत्रमा रहेको दुई हजार वर्ष पुरानो शिव मन्दिरको संरक्षण गर्दै भवन बनाउन पाउने फैसला अदालतले गरेपछि पालिकाले स्थायी भोगअधिकार पाएको छ । पालिकाले वन क्षेत्रबराबरको वन क्षेत्रसँग जोडिएको जग्गा नेपाल सरकारलाई सट्टाभर्ना वा वन नियमावली, २०७९ बमोजिम मूल्याङ्कनको रकम वन विकास कोषमा दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ । वन नियमावली, २०७९ बमोजिम पालिकाले ६ रोपनी जग्गा प्रयोग गर्नका लागि वन विकास कोषमा तोकिएअनुसारको राजस्व नौ लाख रुपैयाँ बुझाउनुपर्नेछ । पालिकाका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउन सङ्घीय मन्त्रिपरिषद्ले फागुन १४ गते निर्णय गरेर कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो । अदालतको फैसला कार्यान्वयन गर्दै मन्त्रिपरिषद्ले निर्णय गरेपछि सूर्यगढीको भवन बनाउने प्रक्रिया अगाडि बढेको हो ।
सरकारले सूर्यगढीको प्रशासकीय भवन निर्माणका लागि सूर्यगढी-३ तीनथुम्कीको ६ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले ६ रोपनी वनको जग्गा उपलब्ध गराउन वन मन्त्रालयमार्फत अनुमति दिएको हो । यसअघि जग्गा उपलब्ध नहुँदा पालिकाको प्रशासकीय भवन निर्माण हुन सकेको थिएन । ६ वर्षदेखिको निरन्तर प्रयासपछि सूर्यगढी तीनथुम्कीमा ६ रोपनी जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बताए । गाउँपालिकाले जग्गा प्राप्त गरे पनि डिभिजन वन कार्यालय नुवाकोटसँग समन्वय गरेर काटिएको रुखको एकबराबर अन्यत्र १० बिरुवा लगाउनुपर्ने सम्झौता गरिएको छ । सूर्यगढीको प्रमुख प्रशासकीय भवन निर्माण सुरु भएसँगै जिल्लाको अब लिखु गाउँपालिकाको मात्र भवन बनाउन बाँकी रहेको छ । लिखुले पनि दुई/तीन स्थानमा जग्गाको टुङ्गो लगाएर छनोटको प्रक्रिया अगाडि बढाएको जानकारी जिल्ला समन्वय समिति नुवाकोटले दिएको छ ।