- सरस्वती न्यौपाने
स्याफ्रुबेँसी । त्रिशूली नदी र सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवा, आमाछोदिङ्मो गाउँपालिका थाम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोट, किस्पाङ गाउँपालिका, पहिरेबेँसीस्थित त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइन निर्माणको अन्तिम चरणका काम भइरहेको आयोजनाले जनाएको छ । बाँकी काम सकेर बडादसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन निर्माण सकिएका छन् । प्रसारणलाइनमा पर्ने ७६ टावरमध्ये ७५ वटाको निर्माण सकिएको छ । एउटा टावर जडान अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारणलाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी रहेको उल्लेख छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब दुई सय श्रमिक खटाइएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले गत भदौ २२ गते प्रसारणलाइन कार्यस्थलको अनुगमन गरेको थियो । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबिच छलफल गरी निर्माणमा ढिलाइ नगर्न निर्देशनसमेत दिएको बताइएको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारणलाइनमा जोडिनेछ । दुवै आयोजना निर्माण सकिएका छन् । प्रसारणलाइन नहुँदा ती आयोजनाले विद्युत् उत्पादन गरेका छैनन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारणलाइन निरन्तरको प्रयासपछि अब अन्तिम चरणमा पुगेको बताए । ‘यो लाइन बन्न नसक्दा दुई जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्, विकट भौगोलिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, बाँकी काम सक्न सबैले अन्तिम प्रयास गरौँ । दसैँअगाडि जसरी पनि निर्माण सकाँै,’ घिसिङले भने । उत्तरगया– १ तिरूबाट सोही वडाको सिरुचेतसम्म एक हजार दुई सय ३५ मिटर लम्बाइमा तार तान्नुपर्नेछ । मैलुङ खोलामाथि पर्ने उक्त खण्डमा ड्रोन प्रयोग गरी तार तानिनेछ । मैलुङ क्रसिङका लागि सबै तयारी पूरा भइसकेको प्राधिकरणले जनाएको छ । प्रसारणलाइन समुद्री सतहबाट ६ सय ८० देखि दुई हजार ६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँचसडक निर्माण गरिएको छ ।
नुवाकोट र रसुवा भएर बग्ने त्रिशूलीमा निर्मित आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ । खच्चर र मानिसबाट निर्माण सामग्री र उपकरण ढुवानी गरी नौ टावर निर्माण गरिएको छ । दुई टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ । प्रसारणलाइनअन्तर्गत चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री ‘बी’ हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियाली कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम व्यहोर्नेछ । प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिजसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको जुन सोही साल पुसमा कार्यान्वयनमा आएको थियो । ठेक्का सम्झौताको सात वर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन ।
प्रतिक्रिया