चिनियाँ प्राविधिक टोलीको तेस्रो आगमनपछि

साततले दरबार पुनर्निर्माणले गति लिँदै

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८१, शुक्रबार १३:३८

विदुर । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित त्यसआसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि जिम्मा लिएको चीन सरकारको प्राविधिक टोलीले आठ वर्षपछि बल्ल काम अगाडि बढाएको छ । पुनर्निर्माणमा ढिला भएपछि स्थानीयवासीको दबाब र विरोध थेग्न नसकेपछि चिनियाँ टोली निर्माणस्थलमा बाध्य भएर आएको छ । उक्त टोली पछिल्लोपटक गत महिना आइपुगेको हो । यसपटक भने चिनियाँ टोलीको पूर्वतयारी देखिएको छ ।

गोरखा भूकम्पका कारण क्षतिग्रस्त दरबार पुनर्निर्माण गर्न चिनियाँ टोली कार्यक्षेत्रमा आएर पूर्वतयारीमा जुटेसँगै छिटो बन्ने आशा र विश्वास जगाएको छ । अहिले तेस्रोपटक कार्यक्षेत्रमा आएको चिनियाँ टोलीले अब भने नियमित काम अघि बढाउने विश्वास विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले व्यक्त गरे । उनका अनुसार कामको सुरुको तयारी अघि बढाएको चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पु¥याउन सडकको पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारणलाइन, सामग्री राख्न खुला स्थान र पानी उपलब्ध गराउन नगरपालिकाका तर्फबाट सबै प्रबन्ध मिलाइएको छ । ‘यसअघि विभिन्न समयमा थालिएको पुनर्निर्माण साना–ठुला समस्याले औपचारिक सुरुवात नभई अघि बढ्न सकेन,’ नगरप्रमुख श्रेष्ठले भने, ‘दरबारसहितको संरचना पुनर्निर्माणका लागि सोहीअनुसारको पूर्वतयारीले तीव्रता पाइरहेको छ । काम हुन्छ भन्ने विश्वासमा हामी ढुक्क छौँ ।’

भूकम्पले क्षति पु¥याएको दुई सय ६२ वर्ष पुरानो संरचना पुनर्निर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबिच नुवाकोटको साततले दरबारसहित अन्य धार्मिक तथा पुरातात्विक महत्वका आठ संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको दरबार र सम्पदा रहेको विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले बताए । सम्झौताअनुसार पहिलो चरणमा दरबारसहित परिसरमा रहेको गारदघर र रंगमहलको आवश्यकताका आधारमा पुनर्निर्माण तथा प्रबलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी) मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण गर्ने योजना बनाइएको छ । ऐतिहासिक तथा पुरातात्विक मौलिकपन कायम गरेर पुनर्निर्माण गर्ने द्विपक्षीय समझदारी भएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले जानकारी दिए । उनका अनुसार वि.सं. १८१९ मा निर्मित दरबार पुनर्निर्माणको जिम्मेवारी लिएको चिनियाँ पक्षले कोरोना रोगको सङ्क्रमणको कारण देखाए पनि ढिलो आउनाका कारण भने अझै अन्योल छ । वि.सं. २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो । त्यसपश्चात् सोही वर्ष असारमा दरबार पुनर्निर्माणअन्तर्गत कार्य प्रारम्भ गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको थियो । द्विपक्षीय सम्झौतापश्चात् असारमा काम गर्न आएको चिनियाँ टोली ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले यहाँको सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन भन्दै फर्किएको थियो । वि.सं. २०७६ मङ्सिर अन्तिम साता चीनमा देखापरेको कोरोना भाइरसको जोखिमलाई कारण देखाई चिनियाँ टोली फर्कन ढिलो गरेको थियो । त्यसको तीन वर्षपश्चात् वि.सं. २०७९ असोजमा चिनियाँ प्राविधिक (इन्जिनियरसहित) टोली आएर दरबारको जग, सतह, गाह्रो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रबलीकरण अथवा पुनर्निर्माणसम्बन्धी अध्ययन गरेर फर्किएको थियो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपश्चात् यहीँबाट देशभरको कामकाज सञ्चालन गर्न साततले दरबारसहितको भौतिक संरचनाको निर्माण गर्न लगाएको इतिहास छ । जग नै नभएको भनिएको सो दरबार र आसपासका संरचना पृथ्वीनारायणले शासन सञ्चालनका क्रममा ललितपुरका कालिगढ झिकाई आवश्यकताअनुसार बनाउन लगाएको नुवाकोट दरबार मौला अमालका प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले जानकारी दिए ।