काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता पोस्टबहादुर बोगटीको १० औँ स्मृति दिवसमा आइतबार उहाँको जन्मथलो नुवाकोट जिल्लासहित केन्द्रमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । पार्टीभित्र समन्वयकारी तथा निष्ठावान् नेताका छवि बनाएका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट ६१ वर्षका उमेरमा निधन भएको थियो ।
नुवाकोटको तुप्चेमा जन्मिएका उनी चरम गरिबीसँग सङ्घर्ष गरेर माथिल्लो पदमा पुगेका नेता हुन् । उनका दुई छोरी र एक छोरा रहेकामा २०५९ असार ७ गते नेपाली सेनाको गोली लागेर छोरा रविको निधन भएको थियो । माओवादी जनयुद्धदेखि शान्ति प्रक्रियामा आउँदासमेत पार्टीभित्र अन्तसङ्घर्ष चर्केका बेला उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । बोगटी राजनीतिमा लागेको तिन वर्षपछि अर्थात् २०३७ सालमा नेकपा (पुष्पलाल समूह) छाडेर नेकपा (चौम) मा आबद्ध भएका थिए । विसं २०४२ मा पुष्पकमल दाहाल प्रचण्डका सम्पर्कमा आएका उनी २०४८ सालमा भएको नेकपा (एकता केन्द्र) को महाधिवेशनमा केन्द्र्रीय सदस्यमा निर्वाचित भए । पार्टीको नीति, सिद्धान्तमा रहेर निरन्तर काम गरेका बोगटीले माओवादी जनयुद्धकालमा पश्चिम कमान्डका इन्चार्ज भएर काम गरेका थिए । बोगटी पार्टीभित्र निष्ठावान्, इमानदार, सरल र मिजासिला नेताका रूपमा चिनिन्थं । विसं २०६४ को निर्वाचनमा उनी नुवाकोटको साबिक ३ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । उनले पर्यटन र ऊर्जामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए । विसं २०६९ मा भएको हेटौँडामा भएको सातौँ महाधिवेशनबाट उनी महासचिव भएका थिए । बोगटीका स्मृतिमा काठमाडौँमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले उनको योगदानको चर्चा गर्दै स्मरण गरे ।