व्यवसायीलाई निर्माण व्यवस्थापन तालिम

  • त्रिशूली प्रवाह
  • १० आश्विन २०८१, बिहीबार ११:२९

विदुर । नुवाकोट निर्माण व्यवसायी सङ्घको व्यवस्थापनमा जिल्लामा रहेका निर्माण व्यवसायी र व्यावसायिक प्राविधिक कर्मचारीका लागि दुईदिने निर्माण व्यवस्थापन तालिम गत बिहीबार सम्पन्न भएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घको आयोजनामा असोज २ र ३ गते विदुरमा सम्पन्न तालिमको उद्घाटन महासङ्घका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले गरेका थिए । तालिममा सङ्घका पदाधिकारी, निर्माण व्यवसायी र व्यावसायिक प्राविधिक कर्मचारीसहित एक सय ७० जना सहभागी रहेको सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए । तालिममा प्राध्यापक डा. राजेन्द्रप्रसाद अधिकारीले ठेक्का भर्ने, ठेक्का परेर स्वीकृत भएपछि गर्नुपर्ने कानुनी, व्यावहारिक व्यवस्थापनबारे र कर तथा लेखासम्बन्धी प्रशिक्षण महेश पन्त र नवराज नेपालले दिएका थिए । तालिमको समापन गर्दै महासङ्घका महासचिव रोशन दाहालले सहभागीलाई प्रमाणपत्र वितरण गरेकोे सङ्घका महासचिव सुशील फुयाँलले बताए ।