+
Search

ताजा अपडेट +

पपुलर +

संविधान दिवसमा विविध कार्यक्रम

संविधान दिवसमा विविध कार्यक्रम
त्रिशूली प्रवाह
१ साल अगाडी

खरानीटार । संविधान दिवस २०८१ नुवाकोट जिल्लामा तीन दिनसम्म नागरिकसहित राष्ट्रसेवक कर्मचारी, राजनीतिक दललगायत सङ्घ-संस्थाको सहभागितामा विविध कार्यक्रम गरी मनाइएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला मूल आयोजक समिति नुवाकोटले तादी गाउँपालिका-३ खरानीटारमा प्रभातफेरीसहित प्रवचन कार्यक्रम गत बिहीबार असोज ३ गते गरेको थियो ।

तादी र पञ्चकन्या गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशरण महत, माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य राममाया बोगटी, बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोट सभापति रमेशकुमार महत, बागमती प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गाना, नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् बागमती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीसहित जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत देशको परिवर्तनका लागि योगदान पुर्याएका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रममा संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले नेपालको संविधान दक्षिण एसियामा नै उत्कृष्ट रहेको उल्लेख गरे । संविधान जारी गर्दाको बखतमा संविधानसभा सदस्यसमेत रहेका काङ्ग्रेस प्रवक्ता महतले दुई कार्यकालको संविधानसभाले निकै सचेतपूर्वक सबै पक्षलाई न्याय हुने गरेर बनाएको अहिलेको संविधान अग्रगामीसहित उत्कृष्ट रहेको बताए । दिवस मनाउन कार्यक्रम आयोजना गर्नेमध्ये तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले शक्तिको विकेन्द्रीकरण भने पनि अझै त्यसको सही कार्यान्वयन नभएको भन्दै स्थानीय सरकारलाई अब्बल बनाउने कानुनको अभाव भएको गुनासो गरे । जिल्लास्तरीय कार्यक्रम तादीमा आयोजना गर्नुको उद्देश्य नै शक्तिको विकेन्द्रीकरणका लागि अझै पनि प्रहरी, प्रशासन, अदालत, मालपोत, स्वास्थ्यलगायतका सुविधाका लागि जिल्ला सदरमुकाममा नै धाउनुपर्ने बाध्यता भएकाले त्यसलाई स्थानीय तहको मुकाममा नै विस्तार गर्नुपर्ने माग अध्यक्ष तामाङले गरे ।

त्यसैगरी, विदुर सिटी युथ क्लब, विदुर युवा रेडक्रस सर्कल, नेपाल रेडक्रस सोसाइटी नुवाकोट र नुवाकोट उद्योग वाणिज्य सङ्घको समन्वयमा नागरिकस्तरबाट संविधान दिवस मनाउने अभिप्रायले रक्तदान आयोजना गरिएको थियो । दिवसको अवसरमा आयोजित रक्तदानमा महिला ११ र पुरुष ४० जना गरी ५१ पिन्ट रगत सङ्कलन भएको विदुर सिटी युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठले जानकारी दिए । कार्यक्रममा रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीले स्थापना गरेको एक करोड रुपैयाँको कोष स्थापना सञ्चालन गरिएको अभियानमा विदुर युवा रेडक्रस सर्कलले ११ हजार रुपैयाँ प्रदान गरेको छ । दिवसको अवसरमा सदरमुकाम क्षेत्रमा नागरिकको अगुवाइमा तीन दिन दीप प्रज्ज्वलन गरिएको थियो । विदुर-४ बट्टारको नुवाकोट आदर्श बहुमुखी क्याम्पस गेट, विदुरको लोकतान्त्रिक चौतारा र त्रिशूलीको कृष्ण मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो ।

दिवसकै अवसरमा असोज २ गते विदुर नगरपालिका-८ स्थित माझीगाउँ सामुदायिक वनमा एक सयवटा फलफूलका बिरुवा रोपिएको थियो । डिभिजन वन कार्यालयको व्यवस्थापनमा जिल्लास्तरीय सरोकारवाला कार्यालयको सहभागितामा जामुन, कटहर, कागती, अम्बा, तेजपात, मेकाडानिया जातका बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख रोशना पोखरेलले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह