खरानीटार । अनेरास्ववियु आरआर क्याम्पस कमिटी काठमाडौंको आयोजनामा अन्तरक्याम्पस/जिल्लास्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नुवाकोट जिल्ला तादी गाउँपालिका-३ खरानीटारमा रहेको अमरज्योति बहुमुखी क्याम्पसले जितेको छ ।
गत भदौ २६ देखि असोज ३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका ३० वटा क्याम्पसले भाग लिएका थिए । उक्त प्रतियोगितामा अमरज्योतिले फाइनलमा २५/१५, २५/१६ र २५/२० को सोझो सेटमा बानेश्वर क्याम्पस काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगितामा प्रथम भएको अमरज्योतिलाई दुई लाख र दोस्रो हुने बानेश्वरलाई एक लाख नगद, प्रमाणपत्रसहित ट्रफी, मेडल समापन कार्यक्रममा नेकपा एमालेका नेता भानुभक्त ढकालले प्रदान गरेका थिए ।