विदुर । नुवाकोट जिल्लामा १२ वर्षअघि कर तथा लेखासम्बन्धी परामर्श सेवा दिने उद्देश्यले स्थापित विदुर कर परामर्श सेवाले कर शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो स्थापनाको १३औँ स्थापना दिवसका अवसरमा परामर्श सेवाले जिल्ला अस्पताल त्रिशूलीलाई एक थान ह्विलचेयर र दुई थान ड्रेसिङ ट्रली हस्तान्तरण गरेको छ ।
वार्षिकोत्सवका अवसरमा आइतबार त्रिभुवन त्रिशूली मावि र भैरुम माविका विद्यार्थी तथा विदुर सिटी क्लब तथा लियो क्लबका सदस्यको उपस्थितिमा कर शिक्षा अभिमुखीकरण कार्यक्रमसमेत गरिएको थियो । वि.सं. २०६९ असोज ६ गते स्थापित परामर्श सेवाले १५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । धादिङको गल्छी, रसुवाको धुन्चे र नुवाकोटका विदुरसहित तादी, दुप्चेश्वर, सूर्यगढी, किस्पाङ र शिवपुरी गाउँपालिकामा सेवा केन्द्र सञ्चालन गरी कर तथा लेखासम्बन्धी सेवा दिइएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले कर र लेखासम्बन्धी सेवा प्रदान गरेर परामर्श सेवा केन्द्रले राज्यको राजस्व वृद्धिमा योगदान गरिरहेको तथा व्यवसायीलाई फर्म दर्ता नवीकरण र करचुक्ता प्रमाणपत्र र लेखापरीक्षण गर्न सहयोग पु¥याएकामा प्रशंसा गरे । परामर्श सेवाका प्रबन्धक दिनेशकुमार श्रेष्ठले करसम्बन्धी सचेतना कार्यक्रम नुवाकोट, धादिङ र रसुवामा चलिरहेको बताए । सञ्चालक रमिला प्रधान श्रेष्ठले परामर्श सेवाले गरिरहेको कार्यबारे जानकारी दिइन् ।
वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रममा करदाता सेवा कार्यालय गल्छीका प्रमुख लक्ष्मी खड्का, उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटा, नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती र पूर्वाध्यक्ष शरणउत्सुक सापकोटा, नुवाकोट औषधि व्यवसायी सङ्घका अध्यक्ष टलकमान श्रेष्ठ, नुवाकोट कपडा तथा रेडिमेड व्यवसायी सङ्घका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठलगायतले परामर्श सेवाले जिल्लामा व्यवसायीलाई फर्म दर्ता गरी व्यवसाय गर्न र कर तिर्न उत्प्रेरित गरिरहेको बताएका थिए । परामर्श सेवालाई नुवाकोट र रसुवाका कर तथा लेखा सचेतनामा टेवा पु¥याएकामा २०७२ सालमा आन्तरिक राजस्व विभागले सम्मानसमेत गरेको थियो । यस अवधिमा परामर्श सेवाले करिब १६ हजार करदातालाई प्यान, भ्याट दर्ता, परामर्श, करचुक्ता, सवारीसाधनको ब्लुबुक नवीकरणलगायत कर तथा लेखासम्बन्धी सेवा दिएको छ । स्थापनादेखि नै परामर्श सेवाले जिल्लामा हुने खेलकुद प्रतियोगिता, मेला–महोत्सव, स्थानीय जात्रापर्वमा आर्थिक सहयोग, भूकम्प, कोरोना महामारीमा खाद्य तथा स्वास्थ्य सामग्री सहयोग र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।