विदुर । नुवाकोट जिल्ला सदरमुकाम विदुरमा राष्ट्रिय तथ्यगत विवरण कार्यान्वयनको समीक्षा र तथ्याङ्कीय साक्षरतासम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ । तथ्याङ्क समन्वय कार्यालय काठमाडौँक आयोजनामा यही असोज १४ र १५ गते उक्त कार्यक्रम भएको हो ।
तथ्याङ्क समन्वय कार्यालय काठमाडौंका तथ्याङ्क समन्वय अधिकारी प्रभा बरालले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समितिका समन्वय अधिकारी शान्तिराज प्रसाईँ र जिल्लास्थित सबै स्थानीय तहका सूचना प्रविधि अधिकृत र योजना शाखामा कार्यरत कर्मचारी सहभागी थिए । कार्यक्रममा राष्ट्रिय तथ्यगत विवरणमा तथ्याङ्क प्रविष्टिको अवस्थाका विषयमा छलफल हुनाका साथै यसको प्रयोगका विषयमा प्रयोगात्मक अभ्याससमेत गरिएको थियो ।
कार्यक्रममा प्रजिअ अधिकारीले स्थानीय तहले कार्यसम्पादनका क्रममा उत्पादित तथ्याङ्कलाई खुला तथ्याङ्कको अवधारणानुरूप सर्वजनिक गर्न राष्ट्रिय तथ्यगत विवरण उपयोगी रहेको जानकारी गराए । विष्णुप्रसाद गौतमले सञ्चालन गरेको उक्त कार्यक्रमको दोस्रो दिन तथ्याङ्क समन्वय अधिकारी बराल र तथ्याङ्क अधिकृत अनिता काफ्लेले जनसङ्ख्या, कृषि र आर्थिक सूचकका बारे जानकारी गराउँदै तथ्याङ्कीय साक्षरतासम्बन्धी सत्र सञ्चालन गरेका थिए ।