+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड-चौतारी सहकारीको साधारणसभामा बचतकर्ता र ऋणी सम्मानित

गोसाइँकुण्ड-चौतारी सहकारीको साधारणसभामा बचतकर्ता र ऋणी सम्मानित
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ बट्टारमा रहेको गोसाइँकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभामा असल बचतकर्ता सम्मानित भएका छन् ।

विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेको सभामा असल बचतकर्ता विदुर-४ की यदुकुमारी पाण्डे, असल ऋणी विदुर– २ की ऋणा शाह, निर्धन उत्थान केन्द्र प्रथम शिव संगम निर्धन उत्थान केन्द्र विदुर ४, संगमचोक द्वितीय शिवशक्ति निर्धन उत्थान केन्द्र विदुर ८ तृतीय, सरस्वती निर्धन उत्थान केन्द्र विदुर ६ महारानी डिही सम्मानित भएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सरकारको एकीकरण नीतिअनुरूप नुवाकोट जिल्लामा एकीकरण भएको एक मात्र संस्थाले बहुउद्देश्यीयअनुरूप कार्य गरी युवामैत्री उद्यम विकास, सहुलियत ऋण प्रवाह गर्न सके युवालाई देशभित्र नै रोक्न सकिने र कुल गार्हस्थ्य उत्पादन महत्वपूर्ण योगदान पुग्ने धारणा राखे । सो अवसरमा नगरपालिकाले आवश्यक नीति, नियमावली, अनुगमन, सुपरिवेक्षणलगायतका कार्यक्रम प्राथमिकताका साथ गरिरहेकोसमेत उनले बताए । कार्यक्रमका विशिष्ट अतिथि विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले सहकारीलाई प्रभावकारी व्यवस्थापनका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम तय गरिएको र गत वर्ष पनि सहकारी संस्थाको सुशासन अभिवद्धिका लागि आवश्यक कार्य गरिरहेको जानकारी दिइन् । सो अवसरमा उनले सबै सदस्यलाई इमानदारी साथ कारोबार गर्दा रोजगार, स्वरोजगार बढाउन सकिने धाराणा राखिन् ।

सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डितको सभापतित्वमा भएको कार्यक्रममा विदुर नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारीको सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर पण्डितले आव २०८०/०८१ को प्रतिवेदन तथा आव २०८१/०८२ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष लक्ष्मीकुमारी प्रधानले आव २०८०/०८१ को आर्थिक प्रतिवेदन तथा आव २०८१/०८२ को बजेट र लेखा समितिको संयोजक धु्रवप्रसाद अर्यालले लेखा समितिको तर्फबाट लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरूले प्रस्तुत गरेको प्रतिवेदनसहित सभाले सदस्यता विस्तार गर्ने, संस्थागत सुशासनमा वृद्धि गर्ने, कार्यक्षमता बढाउने, संस्थाको उद्देश्यअनुरूप कार्य गर्ने क्षेत्र थप गर्ने, ऋण असुलीमा जोड दिने, महिला सशक्तीकरण, वित्तीय पहुँच वृद्धि गर्ने, लगानीका बहुक्षेत्रको पहिचान गर्ने कार्ययोजना पारित गरेको सचिव सुकुमान डङ्गोलले बताए । जिल्लाको पहिलो प्रदेशस्तरीय कार्यक्षेत्र भएको यस संस्थाको सेयर सदस्य तीन हजार तीन सय ४५ जना र सेयरपुँजी तीन करोड ४८ लाख ३९ हजार चार सय रुपैयाँ रहेको छ भने आव २०८०/०८१ मा कुल कारोबार २३ करोड ३७ लाख रहेको उपाध्यक्ष बाबुराम लामिछानेले बताए ।

आर्थिक सहभागितामा सम्पूर्ण सदस्यलाई समावेश गर्दै पारस्परिक आधारमा शिक्षा, तालिम सूचनामार्फत सामाजिक प्रतिष्ठामा वृद्धि गर्दै सहकारीको मुख्य सिद्धान्त रहेको तथ्यलाई आत्मसात् गरी सोही मार्गदर्शन सिद्धान्तलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ सहकारी ऐन, २०४८ र सहकारी नियमावली २०४९ लागू भई सोहीअनुरूप मिति २०५८ साल मङ्सिर ११ गते यस सहकारीको स्थापना भएको व्यवस्थापक हरिवंश ढकालले जानकारी दिए । २०५८ साल मङ्सिर ११ गते स्थापना भएको गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारी संस्था र २०६६ साल असार ६ गते दर्ता भएको चौतारी बचत तथा ऋण सहकारी संस्थाबिच मिति २०७७ साल फागुन ७ गते भएको एकीकरण सभाको निर्णयबमोजिम मिति २०७७ चैत २ गते प्रदेश सहकारी ऐन, २०७६ अनुसार जिल्लाभित्रका दूरदराजका विपन्न वर्गको जीवनस्तर उकास्नका लागि सेवा प्रवाह गर्ने उद्देश्यले एकीकरण भई नुवाकोटको एक अब्बल संस्थाको रूपमा स्थापित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह