प्रहरी दिवसमा नेविप्राका केन्द्र प्रमुख भट्टराई सम्मानित

  • त्रिशूली प्रवाह
  • ६ कार्तिक २०८१, मंगलवार १४:५०

धुन्चे । जिल्ला प्रहरी कार्यालय रसुवाले ६९औँ प्रहरी दिवसका अवसरमा नेपाल विद्युत् प्राधिकरण रसुवा वितरण केन्द्र धुन्चेका केन्द्र प्रमुख सञ्जीप भट्टराईलाई सम्मान गरेको छ ।

पौराणिक तीर्थस्थल गोसाईँकुण्डमा पहिलो पटक बिजुली पु¥याएको र दैवीप्रकोपका बेला विद्युत् प्रवाह रोक्न, चौबिसै घण्टा विद्युत् प्रवाहलाई निरन्तरता दिन र आपराधिक क्रियाकलाप रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत उहाँलाई सम्मान गरिएको हो । गोसाइँथानमा विद्युत् पुगेपछि त्यस क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्न सहयोग पुगेको जिल्ला सुरक्षा समितिले बताएको छ । गत असोज ३० गते कार्यालयले आयोजना गरेको दिवसको कार्यक्रममा प्रहरी निरीक्षक कृष्णबहादुर धितालले स्वागत गर्दै प्रहरी महानिरीक्षकको सन्देश वाचन गर्नुभएको थियो । दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद विधामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई प्रमाणपत्र पनि प्रदान गरिनाकासाथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक, अमर प्रहरी परिवार, पूर्वप्रहरी कर्मचारी, कनिष्ठ प्रहरी अधिकृत, प्रहरी हवलदार तथा जवानसमेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्वासुमन व्यक्त गरिएको थियो । कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवारलाई प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । साथै राज्यमा सिर्जना भएको विभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा सहादत प्राप्त गर्ने अमर सहिदप्रति पनि श्रद्धा व्यक्त गरिएको थियो । समारोहमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, गोसार्इँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङसहित जिल्ला सुरक्षा समितिका प्रमुख, सरकारी कार्यालयका प्रमुख, स्थानीय समाजसेवी, पूर्वप्रहरी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।