काठमाडौं । नेपाली मात्रको ठुलो दोस्रो चाड तिहार हिजो मंगलबारदेखि सुरु भएको छ । मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको उत्तम साइत हुने निक्र्याेल गरिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । समितिको बैठकले भाइटीकाको उत्तम साइत ११ः३७ बजे भए पनि बिहानदेखि साँझसम्म आफ्नो अनुकूलतामा टीका लगाउन भने बाधा नपर्ने निर्णय गरेको छ ।पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यमदीपदान आज कात्तिक १४ गते बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइनेछ । समितिको विज्ञप्तिअनुसार कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँसी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १७ गते शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बली पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठपर्व परेको समितिले जनाएको छ ।