कानुनले निषेध गरेका गतिविधि नगर्न आग्रह

  • त्रिशूली प्रवाह
  • १४ कार्तिक २०८१, बुधबार १२:५९

धुन्चे । जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालीको महान् चाड तिहार, नेपाल संवत् ११४५ तथा छठपर्व २०८१ मनाउँदा कानुनले निधेष गरेका गतिविधि नगर्न /नगराउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सूचना प्रकाशन गरेर चाडपर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेको बताए ।

प्रशासनले चाडपर्वमा शान्तिसुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने, भुइँचम्पा, पटाका, आतसबाजीजस्ता विपत् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री–वितरण गर्नेजस्ता कार्य नगर्न–नगराउन अनुरोध गरेको छ । कानुनले निषेध गरेका गतिविधि गरे–गराएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख छ । साथै, देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न र गराउन सबै सरोकारवालालाई अनुरोध गर्दै कोही, कसैले कुनै नराम्रो गतिविधि गरे–गराइएको पाइएमा नजिकैको प्रहरीचौकी वा टेलिफोन नम्बर १०० मा जानकारी दिन प्रशासनले अनुरोध गरेको छ ।