रसुवागढी । चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरूङ सडक मङ्गलबारदेखि सञ्चालनमा आएको छ । एकतर्फी र निश्चित तौल भएको गाडी मात्र आउजाउ गर्न पाउने गरी नाका खुलेको छ । चिनियाँ पक्षले सामानसहित १३ टनका सवारी साधन मात्रै केरूङ आउजाउ गर्न पाइने गरी खोलेको छ ।
गत असोज १२ गते अविरल वर्षाले चीनतर्फको केरूङ–रसुवागढी सडक भत्किएपछि उक्त नाका एक महिनादेखि बन्द थियो । रसुवागढी–केरूङ सडकखण्ड मर्मतपछि यही कात्तिक १३ गतेदेखि एकतर्फी सञ्चालनमा आएको छ । सीमा क्षेत्रका चिनियाँ अधिकारीले सोमबार रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललेलाई दिएको सूचनानुसार क्षतिग्रस्त सडकको सामान्य मार्ग खोल्ने काम मात्रै भएकाले ठुला कन्टेनर र गह्रौँ व्यापारिक सामान बोक्ने सवारी साधन चलाउन तत्काललाई असम्भव हुने छ ।
नेपालतर्फको रसुवागढीबाट चीनको केरूङसम्म २४ किमी सडकमा गत असोज दोस्रो साताको बाढीले क्षति पुर्याएको थियो । चिनियाँ प्राविधिकले गह्रौँ उपकरण प्रयोग गरी एक महिनासम्म लगातार प्रयास गर्दा पनि सडक सञ्चालन गर्न कठिन भएको छ । केरूङ सडक अवरूद्ध हुँदा नेपाली व्यवसायीको करोडौंँ मूल्यका व्यापारिक मालवस्तु महिना दिनदेखि सीमा र चीनका विभिन्न सहरका गोदाममा थन्किएका छन् । सो अवधिमा नेपाली व्यवसायीका फलफुल तथा मसलाजन्य खाद्य वस्तु भने कुहिएर नोक्सान भएको छ । केही फलफुल र तयारी पोसाकलगायत व्यापारिक सामान अहिले पनि केरूङका गोदाममा छन् ।
रसुवाका प्रजिअ पौडेलले सडक सञ्चालन भए पनि कन्टेनरमा ६–७ टन सामान मात्र लाद्न सकिने भएकाले व्यवसायीलाई सोहीअनुसार बुझ्न भन्नुभएको छ । पौडेलका अनुसार नेपालबाट गएको कन्टेनर दिनभर केरूङमा बसेर बेलुकी मात्र फर्कन सक्ने छ । ‘एकतर्फी र निश्चित तौल भएको गाडी मात्र आउजाउ गर्न पाउने सूचना आएको छ’, प्रजिअ पौडेलले भन्नुभयो । व्यवसायीले भने थोरै सामान मात्र एकतर्फी आयात गर्न सक्ने व्यवस्थाले व्यापार सहज रूपमा गर्न नसकिने बताए । रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुसाङ तामाङले कम्तीमा २० टन सामान ल्याउन नदिने हो भने नाका खोल्नु र नखोल्नुको अर्थ नहुने बताउँदै व्यापारीलाई कम तौलको सामान ढुवानी गर्दा घाटा हुने स्पष्ट गर्नुभयो । “नाका खोलियो भन्ने सन्देश मात्र हो । कारोबारका हिसाबले उपलब्धि हुँदैन”, उहाँले भन्नुभयो । केरुङतर्फको सडकको धेरै ठुलो भाग भोटेकोसी नदीमा भासिएको र पहरा फोरेर सामान्य मार्ग खोल्नुपर्ने अवस्था रहेको सीमाका नेपाली अधिकारीले बताए ।
बाढीपहिराका कारण तातोपानी र रसुवा नाका जोड्ने सडक क्षतिग्रस्त भएपछि उत्तरका दुई स्थलमार्गबाट हुँदै आएको चीनसँगको व्यापार ठप्प हुँदै आएको थियो । तातोपानी नाका तिन दिन पहिलेदेखि सञ्चालनमा आएको छ । रसुवातर्फको नेपाली भूभागको सडक कामचलाउ भए पनि चिनियाँ क्षेत्रमा भने तहसनहस भएको रसुवा भन्सारका अधिकारी बताउँछन् । रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रवीन्द्र प्याकुरेल अहिले सरकारले तोकेको लक्ष्यानुसार मासिक रू दुई अर्ब ५० करोड राजस्व सङ्कलन गर्नुपर्ने बताउनुहुन्छ । राजस्व सङ्कलन भने महिना दिनदेखि ठप्प छ । चीनबाट मुख्यतया तयारी पोसाक, ज्याकेट, शृङ्गार सामग्री, पाठ्य सामग्री, जुत्ता, झोला, कृषि तथा जलविद्युत्का यन्त्र, विद्युतीय गाडी, फर्निचरलगायत सामान आयात हुने गरेको छ । तिहारमा भने सजावटका सामान बढी मात्रामा आउने गरेको छ । नाका बन्द भएपछि रसुवाबाट आयात गर्न तयारी गरिएका बिजुलीका झिलीमिली सामान केरूङ गोदाममा थन्किएका छन् ।
यही कात्तिक १२ गते नै सञ्चालनमा आउने भनिए पनि सडकको काम नसकिएकाले १३ गते बिहानदेखि सडक पूर्ण रूपमा एकतर्फी मात्रै सञ्चालन भएको हो । सडक बन्नासाथ बिहानैदेखि सयौं मालबाहक कन्टेनर र सानाठुला गाडी केरूङबाट रसुवागढी नाका हुँदै नेपाल आइरहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो । सडकको अवस्था हेरेर १३ टन क्षमताका मालबाहक सवारी साधन र अन्य सानाठुलाला गाडी मात्र ओहरदोहर गराइने चिनियाँ पक्षले जानकारी दिएकोसमेत उहाँले बताउनुभयो । चिनियाँ भूभागको ठोङ्सा नजिकैको पाखामा अत्यधिक वर्षा भएका कारण सडक माथिबाट पहिरो जाँदा अवरूद्ध भएको सडक त्यसमाथि भोटेकोसीमा बाढीले सडक बगाइदिएपछि नाका पूर्ण रूपमा बन्द भएको थियो । गत असोज १२ गते परेको पानीले पहिरो आई सडक भत्काएको र बाढीले सडक बगाएको हो ।
प्रतिक्रिया