विदुर । रूम टु रिड/रूडेक नेपाल नुवाकोटका सहकार्यमा १३ औंँ अन्तरराष्ट्रिय बालिका दिवस २०८१ एसइई उत्कृष्ट विद्यार्थी सम्मान, वक्तृत्वकला प्रतियोगिता, नाटक प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
‘भविष्यका लागि बालिका दृष्टि’ भन्ने मूल नाराका साथ विदुर–५ को कार्यालय माझीटार प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष लीलानाथ न्यौपानेले बालिका शिक्षा कार्यक्रमबाट जीवनोपयोगी सिप प्रदान गर्दै बालबालिकाको उच्च मनोबल वृद्धि र आत्मनिर्भर बनाउन रूम टु रिड/रूडेक नेपाल–नुवाकोटले खेल्दै आएको महत्त्वपूर्ण भूमिकाप्रति कृतज्ञ रहेको बताउनुभयो । सिप शिक्षाबाट बालिकामा शिक्षा–स्वास्थ्यबारे जानकारी, निर्णय गर्ने क्षमता, आत्मविश्वास, आत्मसम्मान, दृढ भएर बोल्ने सिप, स्वचेतनास्तरमा वृद्धि हुने हुँदा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन संस्थालाई अनुरोध गर्दै विदुर नगरपालिकाले पनि कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता नगर उपप्रमुख प्रभा बोगटीले व्यक्त गर्नुभयो ।
सो अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामामा प्रथम चन्द्रज्योति माविका छात्र पर्वत पाण्डे, दोस्रो च्वाडी माविका छात्रा रन्जिता मानन्धर र तेस्रो तथा सान्त्वनामा क्रमशः सहिद जगतप्रकाशजङ्ग संस्कृत माविका कृशला नेपाल र युनिका अधिकारी छात्रा रहेको जानकारी नेफिन नुवाकोटका अध्यक्ष तथा निर्णायक समितिका संयोजक भगवान राना मगरले दिनुभयो । एसइई उत्कृष्ट विद्यार्थी सम्मानअन्तर्गत ५ नम्बर वडाभित्रका च्वाडी, चन्द्रज्योति, संस्कृत मावि र गुडविल एकेडेमीबाट ‘ए’ ल्याउन सफल विद्यार्थीलाई रू. तिन हजार र ‘ए’ प्लस ल्याउनेलाई रू १० हजारसहित सम्मानपत्र १७ छात्रछात्रा र वक्तृत्वकलाका प्रतियोगीलाई जनही रू पाँच सय नगदसहित प्रमाणपत्र वडाध्यक्ष न्यौपानेले प्रदान गर्नुभएको थियो ।
रुम टु रिड/रुडेक नेपाल–नुवाकोटले बालिका शिक्षा कार्यक्रम लागु भएको विदुर र बेलकोटी नगरपालिका तथा लिखु र पञ्चकन्या गाउँपालिकामा विविध कार्यक्रम गरी सो दिवस मनाएको हो । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, कार्यक्रम समन्वयकर्ता विद्यालय च्वाडी पब्लिक मावि माझीटार/चन्द्रज्योति मावि पिपलटार/सहीद जगत्प्रकाशजङ्ग संस्कृत मावि देवीघाटका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षक, वडा प्रतिनिधि, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, छात्रछात्रालगायत विभिन्न सामाजिक व्यक्तित्वको सहभागिता थियो । वडाकै पुष्प खेती प्रवद्र्धनबाट फुलेका फूलका मालाले विद्यार्थी सम्मानका साथै अतिथि सत्कार गरी तिहार विशेष शुभकामना आदानप्रदान गरिएको थियो । सन् २०११ डिसेम्बर १९ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वभरका बालिकाको अधिकार सुनिश्चितताका लागि अक्टोबर ११ लाई अन्तराष्ट्रिय बालिका दिवसका रूपमा घोषणा गरेपछि सो दिवस विश्वभर मनाउने गरिएको छ ।