धुन्चे । रसुवा र नुवाकोट जिल्लामा उत्पादन हुने बिजुली अब राष्ट्रिय प्रसारणमा जोडिन सहज भएको छ । रसुवा र नुवाकोट क्षेत्र भएर बग्ने त्रिशूली र त्यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने २२० केभी क्षमताको चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सात वर्ष १० महिनामा सोमबार सम्पन्न भएको छ ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लु) का अनुदानमा युरोपेली सङ्घले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी) को सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । उक्त प्रसारण लाइन २०७४ पुसमा चिनियाँ कम्पनी पिङ्गाओ गु्रप अफ कम्पनीले ठेक्का पाएको थियो । अनुमानित रू तिन अर्ब ६२ करोड ८९ लाख अमेरिकी डलरका लागतमा निर्माण सम्पन्न भएको आयोजनाले नेपाल–चीनबिच विद्युत् व्यापारका लागि समेत प्रयोग गर्ने सरकारको योजना छ । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा रहेको चिलिमे हब–सबस्टेसनदेखि नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीमा रहेको त्रिशूली थ्री ‘बी’ हब सब–स्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।.
दसैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी र निर्माण व्यवसायी अहोरात्र खटेर वर्षौंँदेखि उल्झनमा पर्दै आएको प्रसारण लाइन निर्माण सम्पन्न गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्का अगुवाइमा बनेका १११ मेगावाटको रसुवागढी र ४२ दशमलव ५ मेगावाटको सान्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि बलियो पूर्वाधार तयार भएको बताउनुभयो । रसुवागढी र सान्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनका चरणमा छन् । “जोखिमयुक्त र कठिन हिमाली क्षेत्र सडक नपुगेको तथा ढुवानीका लागि खच्चड प्रयोग गर्नुपर्ने जस्तो जटिलतादेखि वन क्षेत्रको उपयोग, स्थानीय अवरोध, कोभिड महामारी जस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्धारित समयभन्दा ढिलो निर्माण सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “चीनसँगको विद्युत् व्यापारका लागि प्रस्तावित चिलिमे–केरूङ अन्तरदेशीय प्रसारण लाइन यही प्रसारण लाइनमा जोडिने भएकाले यो पूर्वाधार चीनसँग जोडिन महत्त्व राख्छ ।”
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनमा आएको विद्युत् काठमाडौँको मातातीर्थसम्मको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुने छ । सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुने छ । अठ्ठाइस किमी लामो प्रसारण लाइनका लागि ७६ टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि दुई हजार छ सय मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । तेत्तिस टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था रहेकामा त्यहाँ पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किमीभन्दा बढी पहुँच सडक निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले बताउनुभयो । थापाले खच्चर र मानिसबाट निर्माण सामग्री र उपकरण ढुवानी गरी नौ हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी दुई टावर निर्माण गरिएको बताउनुभयो प्रसारण लाइन निर्माणले रसुवाबासीले लगानी गरेको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् छिट्टै राष्ट्रिय प्रसारणमा जोडिएर आम्दानी गर्ने अपेक्षा रसुवा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जीव अमात्यले व्यक्त गर्नुभयो ।