+
Search

ताजा अपडेट +

पपुलर +

शुभकामना सहकारीले सेयर पुँजी रू साढे दुई करोड पुर्याउने

शुभकामना सहकारीले सेयर पुँजी रू साढे दुई करोड पुर्याउने
त्रिशूली प्रवाह
१ साल अगाडी

बेत्रावती । शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिले चालु आवमा सेयर पुँजी रू एक करोड ६८ लाख ३५ हजार पाँच सयबाट वृद्धि गरी रू दुई करोड ५० लाख पु¥याउने प्रस्ताव पारित गरेको छ । नुवाकोट जिल्ला, विदुर–१० बेत्रावती बजारमा २४ वर्षअघि स्थापित सहकारीको यही कात्तिक १० गते सम्पन्न २३ औँ वार्षिक साधारणसभाले संस्थाका नाममा जग्गा खरिद गरिसकेकाले अब भवन निर्माणका लागि रू ३० लाख विनियोजन गरेको छ ।

अध्यक्ष हरिकृष्ण डङ्गोलका अनुसार एक हजार एक सय १७ पुरूष र नौ सय ६३ महिला गरेर सहकारीमा हाल दुई हजार ८० सेयर सदस्य छन् । विदुर–१० का अध्यक्ष गणेश नेपालले उद्घाटन गर्नुभएको साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डङ्गोल, कोषाध्यक्ष सोमलाल लबट, लेखा सुपरीवेक्षण समितिका संयोजक अष्टमान डङ्गोल, ऋण उपसमितिका संयोजक अजितदास डङ्गोल, शिक्षा उपसमितिका संयोजक रमेशकुमार लामिछानेले प्रस्तुत गरेको प्रतिवेदन छलफल गरी परिमार्जितसहित पारित भएको व्यवस्थापक विवश डङ्गोलले बताउनुभयो । सहकारीको गत आव २०८०/०८१ मा सेयर पुँजी रू ३४ लाख दुई हजार तिन सय घटेको समेत बताइएको छ ।

सहकारीका कोषाध्यक्ष लबटले आव २०७९/०८० र २०८०/०८१ को आयव्यय विवरणको लेखाजोखा गर्दै सेयर पुँजी र बचत सङ्कलन घटेको तथा ऋण लगानी र असुली बढेको जानकारी सभामा गराउनुभयो । सहकारीले आव २०७९/०८० मा रू सात करोड ९४ लाख ७९ हजार ४७ ऋण लगानी गरेकामा रू ५१ लाख ९८ हजार चार सय ७९ वृद्धि भई आव २०८०/०८१ मा रू आठ करोड ४६ लाख ७७ हजार पाँच सय २६ ऋण लगानी गरेको उहाँले बताउनुभयो । ऋण असुली पनि गत आवभन्दा अघिल्लो आवमा रू ९५ लाख ३४ हजार नौ सय ४७ वृद्धि भएको समेत कोषाध्यक्ष लबटले जानकारी दिनुभयो । सहकारीले गत आवमा करयोग्य कुल मुनाफा रू २२ लाख १९ हजार दुई सय पाँच गरेको छ । गत आवमा सहकारीले आयकर रू दुई लाख २१ हजार नौ सय २० र अन्य कर रू २२ हजार ६ सय ७३ नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । विदुर र बेलकोटीगढी नगरपालिकासहित लिखु गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीले सेयर सदस्यको मागका आधारमा कृषि औजार अनुदानमा उपलब्ध गराउने र रासायनिक मल बिक्री गर्दै आएको छ । साधारणसभाले चालु आवमा सेयर सदस्य भेटघाट तथा बृहत् वनभोज कार्यक्रमका लागि रू पाँच लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह