+
Search

ताजा अपडेट +

पपुलर +

चौँरीपालनबाटै जीविका

चौँरीपालनबाटै जीविका
त्रिशूली प्रवाह
९ महिना अगाडी

धुन्चे । रसुवा जिल्ला गोसाईँकुण्ड–५ ठुलोभार्खुका पासाङ डिन्डुप तामाङले चौंँरीपालन व्यवसाय गरेरै जीविका चलाइरहनुभएको छ । उनन्तिस वर्षदेखि चौँरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँले सो व्यवसायबाट गरिएको आम्दानीले तिन छोराछोरीलाई हुर्काई, बढाई पढाइलगायत विवाह खर्चसमेत पुर्याउनुभएको छ ।

विसं २०५२ देखि चौरीपालन गर्दै आउनुभएका उहाँको यो पुख्र्यौली पेसा हो । पढ्न, लेख्न नपाए पनि उहाँले आफ्नो छोराछोरीलाई भने पढ्ने अवसर दिनुभएको छ । “उतिबेला खासै स्कुल जाने चलन थिएन, भए पनि हामीहरू निम्नस्तरका भएकाले जान पाएनौँ, हुर्केदेखि नै चौँरीसँग रमाइयो । अन्य खेतीपातीमा व्यस्त भईयो । सुरूआत त १० वटाबाट गरेको थिएँ । बिचमा धेरै नै थियो । अहिले उमेर बढ्दै गएपछि नसकिने रहेछ । हाल २० वटा चौँरी र दुई वटा गोरू छन् । यसैबाट वर्षको रू नौ लाख आम्दानी हुन्छ । यही आम्दानीले घर खर्च राम्रोसँग चलाइरहेको छु ”, सिङ्गोम्बा चौंँरी फर्म दर्ता गरेर व्यवसाय गरिरहनुभएका उहाँले भन्नुभयो । सुरूमा आफ्नै रू ३५ हजार लगानीबाट व्यवसाय सुरू गर्नुभएका उहाँलाई विभिन्न सङ्संस्थाले पुरानो चौँरीपालन कृषक भनेर पुरस्कृतसमेत गरेका छन् ।

ठुलोभार्खुकै च्याङ्बा तामाङले पनि ३० चौँरी पाल्नुभएको छ । उहाँको पनि पुख्र्याैली पेसा चौँरीपालन नै हो । उहाँको वार्षिक आम्दानी रू १२ लाख हुन्छ । अर्का लाक्पा तामाङ भन्नुहुन्छ, “के गर्नु, पढ्न, लेख्न पाइएन । पुर्खाले पालिआएको यही चौँरी पाल्न जानियो, परम्परागत खेती गरियो, यसबाट वार्षिक रू नौ लाख हुन्छ, दुःख पनि त्यत्तिकै छ र पैसा पनि हुन्छ ।” अहिले उहाँसँग २० चौँंरी छन् । अर्का नुर्पु सोनाम तामाङले पनि २० वटा जति चौँरी पाल्नुभएको छ । “यो चौँरी पाल्ने काम पनि हाम्रो पालामा मात्रै होला । छोराछोरी कोही काठमाडौंँ, कोही विदेश, हाम्रो पुस्तासम्म चाहिँँ बाबुबाजेको कामलाई निरन्तरता दिएका छौंँ ।” उहाँको पनि वार्षिक रू नौ लाख आम्दानी हुन्छ । हिमाली जिल्ला रसुवाका अधिकांश मानिस प्रायः कृषि पेसामा नै आबद्ध छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह