त्रिशूलीबजार । त्रिभुवन त्रिशूली बहुमुखी कलेजको तेस्रो कलेजसभामा कलेजका तिन पूर्वाध्यक्षलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा राजेश श्रेष्ठ, राजेन्द्र महर्जन र शुभलाल श्रेष्ठ रहेका थिए । उहाँहरूलाई विदुर नगर प्रमुख राजनलाल श्रेष्ठ र कलेजका अध्यक्ष नारायण श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । पूर्व अध्यक्ष राजेन्द्र महर्जन स्वास्थ्यको कारण कार्यक्रमस्थलमा सम्मान लिन उपस्थित हुन सक्नुभएन । यही कात्तिक २१ गते सम्पन्न सभामा प्रिन्सिपल रिता पछाईले कलेजको वार्षिक प्रगति, आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा नगर प्रमुखले कलेजको जग्गा प्राप्तिका लागि सम्भावित स्थानको पहिचान र शीघ्र कार्यान्वयनमा सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कलेजका अभिभावक एवं विदुर–८ का वडाध्यक्ष कमल श्रेष्ठले कलेज एकदमै महत्त्वपूर्ण स्थानमा रहेको जनाउँदै यसको भविष्य सुनिश्चिततातर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सभामा कलेजका संस्थापक सदस्य कुलबहादुर खड्गी, विदुर १ नं वडा सचिव विष्णु गजुरेल, कलेज सञ्चालक समितिका निवर्तमान अध्यक्ष शुभलाल श्रेष्ठ, स्ववियु सभापति किरण मगराती, पूर्वस्ववियु सभापति शङ्कर पाण्डेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कलेजका अध्यक्ष नारायणले त्रिभुवन त्रिशूली माविको भवन र जग्गामा कलेज सञ्चालन गर्नुपरेकोले अब कलेजको आफ्नै भवन बनाउन जग्गा आवश्यक परेको बताउनु भयो । नगरपालिका, वडा कार्यालय र कलेजको जननी संस्था त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयसँग सहयोगका लागि समेत उहाँले सो कार्यक्रममा अनुरोध गर्नुभयो । सभा सञ्चालन प्राध्यापक प्रतिनिधि तथा सदस्य सुजित श्रेष्ठले, खादा अर्पण कलेजका सञ्चालक सदस्य कुमारमान मलेकुले र स्वागत मन्तव्य कलेजका सञ्चालक सदस्य परबेज आलमबाट भएको थियो ।