कालिकास्थान । रसुवा जिल्लाको कालिका गाउँपालिकाले आगामी मङ्सिर २ गतेदेखि सुविधासम्पन्न नयाँ भवनबाट सेवा दिने तयारी गरेको छ । तत्कालीन पशुसेवा कार्यालय र धैबुङ गाविसका जग्गामा निर्मित तीनतले भवनमा पालिकाको कार्यालय सञ्चालन गर्न लागिएको हो ।
आव २०७४/०७५ मा भवन निर्माण सुरु गरिए पनि ठेकेदारले गत आवमा मात्र पालिकालाई बुझाएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले उक्त भवनको निर्माण कार्यका लागि बोलपत्र प्रक्रियाबाट २०७४ पुस २७ गते किरातेश्वर/एल.आई.के. जेभी काठमाडौँसँग सम्झौता गरिएको थियो । रु. ६ करोड ४१ लख ३४ हजार ९ सय २६ मूल्य अभिवृद्धि करसहित उक्त भवनको निर्माणको जिम्मा ठेकेदारले २०७६ असोज १० गतेभित्र सम्पन्न गर्ने गरी पाएको थियो । गत २०८० असोज ३० गते गाउँपालिकालाई सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले भवन तथा अन्य निर्माण संरचना हस्तान्तरण गरेपछि पालिकाले कार्यालय सार्ने तयारी गरेको थियो । नयाँ पालिकाको भवन पासाङल्हामु राजमार्गस्थित कालिकास्थान बजारको बेत्रावती–धुन्चे सडकखण्डसँग जोडिएकाले सेवाग्राहीलाई आवतजावत गर्न र सबैका लागि पायक पर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर केसी कुँवरले बताए । कालिकास्थानको बजारभन्दा तलस्थित एड्रा नेपालको भवनबाट पालिका स्थापनादेखि कार्यालय सञ्चालन भइरहेको थियो । अब उक्त स्थानबाट नयाँ भवनमा पालिकाले दिने सबै सेवाका एकाइ र शाखा रहने भएकाले सेवाग्राहीलाई सेवा लिन सहज हुने पालिकाका सूचना अधिकारी लीला नेपालले जानकारी दिए । नयाँ भवनमा ठुलो बहुउद्देश्यीय सभाकक्षसहित १६ कोठा छन् ।