विदुर । राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन हप्ता दिनसम्म कुर्नुपर्ने अवस्था अहिले नुवाकोटमा अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रदान गर्ने सेवा व्यवस्थित गरे पनि वर्षाको समय भएकाले चालू आव २०८१/०८२ को पहिलो तीन महिनामा सेवाग्राही घटेका छन् ।
कार्यालयका अनुसार चालू आवको पहिलो महिना साउनमा भन्दा भदौ र असोजमा राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सङ्कलन र नागरिकता बनाउनेको सङ्ख्यामा कमी आएको छ । कार्यालयको तथ्याङ्कअनुसार वंशजका आधारमा नागरिकता प्रमाणपत्र लिनेको सङ्ख्या साउनमा पाँच सय ७८, भदौमा चार सय ३२ र असोजमा तीन सय ७० तथा प्रतिलिपि नागरिकता वितरणको सङ्ख्या पनि साउनमा नौ सय १४, भदौमा ६ सय ७४ र असोजमा तीन सय ८६ छ । सोे अवधिमा वैवाहिक/अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या शून्य छ । गैरआवासीय नागरिकता लिनेको सङ्ख्या साउनमा तीन, भदौमा दुई र असोजमा शून्य रहेको कार्यालयले बताएको छ । कार्यालयबाट चालू आवको सो अवधिमा राहदानी आवेदन फाराम सङ्कलन दुई हजार सय दुईमध्ये सबैभन्दा बढी साउनमा एक हजार दुई सय ३२, भदौमा नौ सय नौ र असोजमा सात सय ६१ छ । सो अवधिमा कुल राहदानी दस्तुर रु. एक करोड ३२ लाख ९९ हजार ६ सय २५ मध्ये साउनमा मात्र रु. ५८ लाख पाँच हजार, भदौमा रु. ४४ लाख २५ हजार र असोजमा रु. ३० लाख ६९ हजार ६ सय २५ सङ्कलन भएको कार्यालयले जनाएको छ । राहदानी वितरण पनि साउनमा एक हजार ९९, भदौमा नौ सय ३५ र असोजमा ६ सय ८१ छ ।
कार्यालयले प्रदान गर्ने अर्को सेवा राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सङ्कलन र वितरण साउनमा बढी देखिन्छ । साउनमा विवरण सङ्कलन दुई हजार चार सय ७३ र वितरण एक हजार एक सय ३९, भदौमा एक हजार ६ सय ३३ सङ्कलन र वितरण नौ सय ५५ तथा असोजमा विवरण सङ्कलन आठ सय ९२ र वितरण आठ सय १८ छ । वर्षात् र चाडपर्वले गर्दा सो अवधिमा सेवाग्राही कम भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । कात्तिक महिनामा सेवा लिनेको सङ्ख्या भने बढी हुने बताइएको छ ।






प्रतिक्रिया