विदुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नुवाकोट अन्र्तगत चालु आव २०८१/०८२ मा लागू भएको तरकारी जोन लागू भएको म्यागङ र किस्पाङ गाउँपालिकामा सूचिकृत कृषि फर्म, कृषक समूह, कृषि सहकारीका प्रतिनिधीको सोमबार नुवाकोटमा भएको भेलाले तरकारी जोन सञ्चालन समन्वय समिति गठन भएको छ ।

दुई पालिकामा सूचिकृत संस्था सहकारी र समूहका प्रतिनिधीको परियोजना कार्यालयमा भएको भेलाले नौ सदस्यीय सञ्चालक समिति गठन भएको कार्यालयका कृषि प्राविधिक भुवन तिमिल्सनाले जानकारी दिनुभयो । सञ्चालक समितिको संयोजकमा रूपबहादुर तामाङ म्यागङ गाउँपालिका–२ र सदस्यमा बिक्रमबहादुर तामाङ किस्पाङ गाउँपालिका–१, सरस्वती थापा किस्पाङ गाउँपालिका–२, शेरबहादुर तामाङ किस्पाङ गाउँपालिका–३, विरेन्द्र तामाङ किस्पाङ गाउँपालिका–४, चित्रमाया तामाङ म्यागङ गाउँपालिका–३, साहिल प्रियास म्यागङ गाउँपालिका–४, कल्पना शाक्य म्यागङ गाउँपालिका–५ र भद्रसिंह तामाङ म्यागङ गाउँपालिका–६ रहेका छन् । भेलामा १ सय ६ जना प्रतिनिधीको सहभागिता रहेको थियो । चालु आवमा किस्पाङ गाउँपालिका ५ वडामध्ये १, २, ३, ४ र म्यागङ गाउँपालिका ६ वडामध्ये १, २, ३, ४, ६ मा परियोजना लागू भएको परियोजना कार्यालयको निमित्त प्रमुख वरिष्ठ कृषि अधिकृत मित्रलाल पौडेलले जानकारी दिनुभयो । नुवाकोटमा आव २०७४/०७५ बाट तरकारी जाने ककनी गाउँपालिकाको १, २, ३, ४, शिवपुरी गाउँपालिकाको ६, ७, ८ र पञ्चकन्या गाउँपालिकाको ३, ४, ५ र दुप्चेश्वर गाउँपालिकाको ३, ४ वडामा लागू भएको थियो ।
जिल्लाको ८ सय ५१ हेक्टरमा तरकारी जोन लागू भएको छ । पहिलो चरणमा लागू भएको ४ वटा पालिकामा प्राविधिक सहयोग र केही पूर्वाधारमा मात्र परियोजनाले सहयोग गरिरहेको छ । यी ४ वटा पालिकाबाट परियोजनाको कार्यक्रमको समय थप्ने कि बन्द गर्ने मन्त्रालयमा छलफल भईरहेको छ । परियोजना शुरू भएको किस्पाङ र म्यागङ गाउँपालिकामा बिउ, बिजन, अनुदान, सिंचाई, प्रविधी, प्राविधिक, भौतिक पूर्वाधार, बजारीकरण, यान्त्रीकरणलगायतमा सहयोग गर्ने कार्यालयले जानकारी दिएको छ ।






प्रतिक्रिया