विदुर । मङ्सिर लागेसँगै नुवाकोटको म्यागङ गाउँपालिकामा फलेका सुन्तलाले जिल्लाको प्रमुख बजार ओगटिरहेको छ । म्यागङको सुन्तला बजारमा आएपछि बाहिर जिल्लाको सुन्तला आयात गर्न नपरेको विदुर–१ ढुङ्गेका फलफूल व्यवसायी सुरेश श्रेष्ठले बताए ।
सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङ गाउँपालिकाका किसानले कात्तिकको अन्तिमबाटै सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो रु. एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् । विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरबेँसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ गाउँपालिका–२ बुङताङका किसान छेप्पोन तामाङले बताए । उनले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिए । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पुर्याएर प्रशस्त आम्दानी लिँदै आएका म्यागङ–२ बुङताङका सुन्तलाखेती गर्दै आएका अगुवा किसान गरबहादुर तामाङले बताए । उनले यस क्षेत्रको ब्रान्ड बनाउनको मङ्सिरको अन्तिमतिर मात्र सुन्तला टिप्न सुझाव दिइरहेका छन् । त्यसबेला सुन्तलामा रस भरिसक्ने र मूल्य पनि बढी पाउने उनको दाबी छ । तर, किसानले म्यागङको सुन्तलाको गुणस्तरलाई ख्यालै नगरी छिट्टै सुन्तला बजारमा पठाउँदा ब्रान्ड बिग्रिने उनको चिन्ता छ । गत वर्ष प्रतिकिलो रु. ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै एक सयभन्दा बढी पाइएपछि बिक्री गर्न थालिएको कृषक छेप्पोन तामाङले बताए । ‘व्यवसायीले बगैँचासम्म नै आएपछि बजारको समस्या भएन,’ उनले भने, ‘गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।’ म्यागङ–२ स्थित बुङताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाँडेर सुन्तलाखेती विस्तार गरिएको थियो । ‘वि.सं. २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरू किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको स्मरण गरबहादुरले गर्ने गरेका छन् ।
‘पछिल्लो पाँच वर्षयता बुङताङलाई ‘सुन्तला गाउँ’को नामबाट चिन्न थालिएको छ । अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ,’ उनले भने । सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाउँपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताइन् । उनका अनुसार म्यागङ गाउँपालिका–२ बुङताङ, वडा नं. ४ किम्ताङ, वडा नं. ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् । कम लगानीमा बढी आम्दानी हुने भएकाले यस क्षेत्रका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताइन् । किसानलाई गाउँपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उनले जानकारी दिइन् । उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एकपटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उनको भनाइ छ । हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।






प्रतिक्रिया