+
Search

ताजा अपडेट +

पपुलर +

प्रविधिको बढ्दो प्रयोग पानीघट्टका ठाउँमा बिजुली घट्ट

प्रविधिको बढ्दो प्रयोग पानीघट्टका ठाउँमा बिजुली घट्ट
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । पछिल्लो समय विज्ञान र प्रविधिमा आएको परिवर्तनले पानीघट्ट विस्थापन भइरहेको छ । रसुवा जिल्लामा पनि प्रविधिको प्रयोग बढिरहेकाले बाबुबाजेका पालादेखि चलेको कुटानीपिसानीको मुख्य साधन पानीघट्ट अहिले देख्न मुस्किल परेको छ ।

कुटानीपिसानीमा अघिल्लो पुस्तासम्म प्रयोग हुँदै आएको पानीघट्ट पछिल्लो पुस्तासम्म आइपुग्दा बढ्दो प्रविधि र गाउँ गाउँमा बिजुली बत्ती सहज पुगेपछि विस्थापन भई बिजुली घट्टप्रति स्थानीयवासी आकर्षित भएका छन् । पानीघट्टमा मानिस फाट्टफुट्ट त पुग्छन्, तैपनि सजिलो र चाँडो पिस्ने तथा समयको बचत हुने भएकाले बिजुली घट्टप्रति आकर्षण बढेको पाइन्छ । गोसाईँकुण्ड–६ नागुङका कामी डिएमले बिजुलीको मोटरबाट चल्ने ढु¬ङ्गेघट्ट बनाएका छन् । विगतमा खोलाको पानी कुलामा ल्याएर अग्लो ठाउँबाट झारी घुमाउने घट्टलाई कामीले घरमा नै बिजुलीका मोटरबाट चल्ने बनाउनुभएको छ । बिजुलीबाट चल्ने घट्ट सञ्चालन गरिएपछि स्थानीयवासीको भिड हुने गरेको उहाँले बताउनुभयो । बिजुलीले त्यत्रा मेसिन त घुमाउँछ भने यो घट्ट किन नघुमाउला भन्ने लाग्यो । परम्परागतरूपमा बुबाले खोलामा चलाउँदै आएको घट्ट निकालेर बिजुली जडान गरेको हुँ, उहाँले भन्नुभयो । उहाँले घट्ट चलाएपछि स्थानीयवासीलाई निकै सहज भएको स्थानीय बासिन्दा लाक्पा सिङ्गी तामाङले बताउनुभयो ।

पानी घट्टमा मानिसलाई पौने घन्टा जस्तो लाग्ने गथ्र्याें भने बिजुली घट्टमा २० मिनेट मात्र लाग्ने गरेको छ । अहिले बिजुली घट्ट सञ्चालनले गर्दा केही हदसम्म समय र खर्चसमेत कम भइरहेको उहाँको जिकिर छ । कुटानपिसानी गर्दा पानी घट्टमा पिँधिएको अन्न जस्तै स्वादिलो हुने हुनाले बिजुली घट्टप्रति स्थानीयवासीको आकर्षण बढिरहेको गोसाइँकुण्ड–६ का अध्यक्ष दावासिदार वाइवाले बताउनुभयो । गाउँमा सञ्चालनमा भइरहेको बिजुली घट्टले मकै, कोदो, गहुँ, चामल पिस्न सहज भएसँगै रोजगारी पनि दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह