पारच्याङमा मेलमिलाप तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • १२ मंसिर २०८१, बुधबार १६:२२

पारच्याङ । दक्षिण रसुवा नौकुण्ड गाउँपालिकाको पारच्याङमा गाउँ न्यायिक समितिका कार्यकर्तालाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । जिल्ला न्यायाधीश भुवनसिंह थापाको प्रमुख आतिथ्यतामा गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानको अध्यक्षतामा आयोजित तीनदिने अभिमुखीकरण तालिम सोमबार सम्पन्न भएको स्थानीय न्यायिक सहजकर्ता सिता लामिछानेले बताईन् ।

शनिबारदेखि सोमबारसम्म चलेको तालिमले गाउँमा सद्भाव कायम राख्न, शान्ति र सद्भाव कायम गर्न, समाजमा शान्तिको वातावरण कायम गर्न र सहजता ल्याउने उद्देश्यले तालिम सञ्चालन गरेको प्रशिक्षक कृष्ण न्यापानेले बताए । जिल्ला अदालतको अनुगमनले गाउँ न्यायिक समितिका सेवा छोटो समयका लागि प्रभावकारी भएका छन् । तालिमको शुभारम्भ गाउँपालिका प्रमुख नुर्पुस्याङ्बो घलेले गर्नुभएको थियो । तालिममा सिकेका विधि र कानुनी प्रक्रिया तथा व्यवहारिकता हेरेर गाउँमा परेकका झै–झगडा, उजुरीलाई मेलमिलापको माध्यमबाट टुङ्ग्याउन सहज भएको सहजकर्ता चपनाथ पौडेलले बताए ।