+
Search

ताजा अपडेट +

पपुलर +

साना लगानीका सञ्चारमाध्यमलाई स्रोतसम्पन्न बनाउन माग

साना लगानीका सञ्चारमाध्यमलाई स्रोतसम्पन्न बनाउन माग
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । सरोकार पक्षले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि मोफसलका साना लगानीका सञ्चारमाध्यमलाई स्रोतसम्पन्न बनाउने आधार तय गराउन राज्यले ध्यान दिनुपर्ने बताएको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था तथा ऐन संशोधनका विषयमा रसुवाको कालिकास्थानमा शुक्रबार र नुवाकोटको विदुरमा शनिबार नेपाल पत्रकार महासङ्घ रसुवा र नुवाकोटका समन्वयमा भएको कार्यक्रममा सहभागीले जिल्लामा सञ्चालन भइरहेको साना लगानीका सञ्चारमाध्यम सङ्कटका अवस्थामा रहेकाले सरकारले तिनका लागि समानुपातिक रूपमा विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न माग गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका आयोजनामा भएको कार्यक्रममा समितिका अध्यक्ष सङ्गीता खड्काले पछिल्लो समय सञ्चारमाध्यममा आएको परिवर्तनसँगै परम्परागतरूपमा सञ्चालन हुँदै आएका सञ्चारमाध्यमलाई सकस भएको बताउँदै अहिले सर्वसाधारणलाई सञ्चार साक्षरताको खाँचो रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘आमसञ्चारमाध्यमले दिने सूचना समाचार र सामाजिक सञ्जालले दिने सूचना समाचार केही फरक छन् । सही सूचना दिनेमा आमसञ्चारमाध्यम अग्रस्थानमा छ । तर पनि आम पाठक, दर्शक र स्रोतामा यसप्रति विश्वास कम भएको छ ।’ अध्यक्ष खड्काले मोफसलका सञ्चारमाध्यमलाई स्थानीय तहको विज्ञापन प्रकाशन गर्ने व्यवस्था मिलाउन सकेमा तिनको सञ्चालनमा सहज हुने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रिय सदस्य ध्रुवकुमार रावलले अनलाइन पत्रिकालाई अन्य पत्रिका जस्तै जिल्ला प्रशासनमा दर्ता गर्ने र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था हटाउन सके सहज हुने बताउँदै मुलुकमा सङ्घीयता आए पनि नेपालको विज्ञापन नीतिमा नआएका कारण जिल्लाका ससाना विज्ञापन पनि राष्ट्रिय पत्रिकामा प्रकाशन गरिँंदा जिल्लाका पत्रपत्रिका सङ्कटमा पर्दै गएको गुनासो गर्नुभयो । सम्पादक समाज नेपालका केन्द्रीय सदस्य तथा त्रिशूली प्रवाह साप्ताहिकका सम्पादक एवं प्रकाशक शरणउत्सुक सापकोटाले समितिले तोकेबमोजिमको पारिश्रमिक दिने भनिए पनि काम गर्ने जनशक्ति नपाएको पीडा पोख्नुभयो ।

पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि पहिले सञ्चारमाध्यम टिकाउन आवश्यक पर्ने बताउँदै सञ्चारमाध्यम नै नटिके पारिश्रमिकको मात्र कुराको अर्थ नभएकाले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय तहसँग सहकार्य गरी सूचना लिनुपर्ने र त्यसको अनिवार्य व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । पत्रकार महासङ्घ नुवाकोटका कार्यबाहक अध्यक्ष नवदीप श्रेष्ठका अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य भोलाराज पौडेल, नेपाल प्रेस युनियन बामती प्रदेश उपाध्यक्ष श्रीराम नेपाल, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रामहरि गजुरेललगायतले पत्रकारिता क्षेत्रको समस्याका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह