+
Search

ताजा अपडेट +

पपुलर +

पक्की पुल निर्माण सुरु भएको नौ वर्षपछि बल्ल बेलिब्रिज जडान

पक्की पुल निर्माण सुरु भएको नौ वर्षपछि बल्ल बेलिब्रिज जडान
त्रिशूली प्रवाह
१ साल अगाडी

धादिङबेँसी । धादिङ जिल्लाभित्र पर्ने मध्यपहाडी लोकमार्गखण्डको त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेको आँखु खोलामा नौ वर्षपछि बल्ल बेलिब्रिज सञ्चालनमा आएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

०७२ सालदेखि सो स्थानमा पक्की मोटरेबल पुल निर्माण सुरु गरेको भए पनि निर्माणकार्य पूरा नभएपछि अहिले सडक विभागअन्तर्गतको मध्यपहाडी लोकमार्ग आयोजनाले बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरेको हो । बेलिब्रिज सञ्चालनमा आएसँगै उत्तरी धादिङका विभिन्न स्थानसम्म आवत–जावतमा समेत निकै सहज हुने भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । गाउँपालिकाको खहरेबजार र अचनेटार जोड्न आँखु खोलामा बेलिब्रिज जडान भएसँगै अब मध्यपहाडी लोकमार्ग हुँदै सवारीका साधन उत्तरी धादिङका सबै गाउँमा पुग्न सहज भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । निर्माण सुरु भएको नौ वर्षपछि पक्की पुल नभए पनि मोटरेबल बेलिब्रिज जडान भई सञ्चालन सुरु भएसँगै सो क्षेत्रका स्थानीय खुसी भएको वडा नम्बर ७ का अध्यक्ष सुभास अधिकारीले बताए । पुल निर्माणले यस क्षेत्रका मानिसको आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने दाबी उनको छ । पुल नहुँदा सो क्षेत्रका स्थानीयलाई आँखु खोला वारपार गर्न जीर्ण झोलुङ्गे पुलको प्रयोग गर्नुपर्ने बाध्यता थियो । सडक सुविधा भए पनि अचनेटार, लपांगल र उत्तरी धादिङका गाउँका स्थानमा सवारीका साधन आँखु खोला तरेर आवतजावत गर्न नसक्दा स्थानीयले बोकेर बजारबाट दैनिक उपभोग्य सरसामान ल्याउनुपर्ने बाध्यता थियो । अब भने सो समस्या पनि समाधान भएको वडाध्यक्ष अधिकारीले बताए ।

पुल सञ्चालनमा आएसँगै स्थानीय बालबालिकालाई विद्यालय आउन जानसमेत सजिलो भएको छ । यसका साथै धादिङमा उत्पादित कृषि र पशुजन्य उत्पादन बिक्रीका लागि बजार ल्याउन पनि पुलले सजिलो भएको छ । सो पुलले मध्यपहाडी लोकमार्ग हुँदै उत्तरी धादिङबाट नुवाकोट हुँदै राजधानी काठमाडौँसम्म जानका लागि पनि छोटो र सहज हुने स्थानीय व्यवसायी दीपक सिटौलाले बताए । आँखु खोलामा ६१ मिटर लम्बाइको बेलिब्रिज जडानका लागि मध्यपहाडी लोकमार्ग आयोजनाले ६ करोड रकम खर्चेको हो । सो बेलिब्रिज जडानका लागि सडक विभागअन्तर्गतको सो आयोजनाले जलप नेपाल निर्माण सेवालाई जिम्मा दिइएको हो । पुल ८८ दिनमा जडान गरी सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह