नुवाकोट प्रहरी कार्यालय परिसरमा भगवती मन्दिर र नागरिक सहायता कक्ष उद्घाटन

  • त्रिशूली प्रवाह
  • १३ मंसिर २०८१, बिहीबार १३:०९

विदुर । नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरको परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको शनिबार उद्घाटन भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कार्यालयपरिसरमा नवनिर्मित मन्दिर र भवनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा आइजिपी कुँवरले नवनिर्मित नागरिक सहायता कक्षको अवलोकन तथा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा भवन र मन्दिर निर्माणमा सहयोग पु¥याउने ५० भन्दा बढीलाई प्रशंसापत्र प्रदान गर्दै नागरिक सहायता कक्षले सबै सेवाग्राहीका समस्या, गुनासो र सुझावलाई सहज रूपमा राख्न पाउने वातावरण निर्माण हुने बताए । प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबिचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिइएकोसमेत कुँवरले बताए । कुँवर जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख भएर २०७४ मङ्सिर ५ देखि २०७५ पुस ३ गतेसम्म रहेका थिए । उनले सो अवसरमा नुवाकोट बस्दा नुवाकोटवासीको माया, ममता, सद्भाव र नुवाकोटको दैवी शक्तिले गर्दा सङ्गठनको प्रमुख हुने अवसर पाएकोसमेत बताए । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा जिल्लाका विभिन्न क्षेत्रका व्यवसायी तथा सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि रहेको मन्दिर र नागरिक सहायता कक्ष निर्माण समिति बनेको थियो । समितिले जिल्लाका उद्योगी, व्यवसायी, सङ्घसंस्था र व्यक्तिबाट नगद र जिन्सी सङ्कलन गरेको थियो । मन्दिर निर्माणमा रु. सात लाख ४४ हजार नौ सय ९३ र जिन्सी रु तीन लाख ४४ हजार पाँच सयबराबर गरी रु. १० लाख ८९ हजार चार सय ९३ खर्च भएको कार्यालयले जनाएको छ ।