धुन्चे । रसुवाको आमाछोदिङ्मो-५ मा निर्माण भएको सान्जेन जलविद्युत् आयोजनाले यही मङ्सिर ९ गतेदेखि प्राविधिक परीक्षणपश्चात् ४२.५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएको आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा सुरु भएका सान्जेनसहित तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका, थाम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०–१३२–३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिएका हुन् । तीमध्ये माथिल्लो सान्जेनले गत वर्ष असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरेर हालसम्म करिब रु. ३० करोडको विद्युत् बिक्री गरिसकेको छ । सान्जेन जलविद्युत् आयोजना गत कात्तिक ७ गतेदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु भइरहेको छ । रसुवागढी जलविद्युत् आयोजनाले पनि निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीबाट यही महिनाभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट हिउँदमा करिब ८० मेगावाट विद्युत् उत्पादन हुन्छ ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा २७० मेगावाटका चार आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशीबाहेक तीन आयोजना सम्पन्न भएका हुन् । सबै आयोजना २०७२ सालको भूकम्प र त्यसपछिका परकम्प एवम् बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहेको ठुलो बाढी, पहुँचमार्गमा निरन्तर गइरहने पहिरो, कोभिड-१९ महामारी, कोरोनापछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायत चपेटामा परेका थिए । यसले गर्दा आयोजनाको निर्माण प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठुलो उपलब्धि भएको जिकिर गरे । ‘म चिलिमे कम्पनीको प्रबन्ध-सञ्चालक भएका बेला सर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो । मुख्य रूपमा काबुबाहिरको परिस्थितिका कारण आयोजनाको निर्माणमा केही समय लागे पनि अब तीन आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौँ उपत्यकाबाट नजिकै रहेका आयोजनाले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’ घिसिङले भने ।
भूकम्प, नाकाबन्दी, विदेशी मुद्राका तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ । माथिल्लो सान्जेन र सान्जेन दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु. सात अर्ब ३५ करोड थियो । आयोजनाको प्रवद्र्धक सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत रु. नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताए । सिइओ सिंहका अनुसार लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट रु. साढे २२ करोड हुने देखिएको छ । चिलिमेका चारै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो । कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६, प्राधिकरणको १०.३६ र रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्था (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह)का कर्मचारी तथा ऋणदाता संस्था (सञ्चय कोष)का कर्मचारी, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ । माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रु. एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो सान्जेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ । पोखरीमा पानी सञ्चय गरी साँझमा थप विद्युत् उत्पादन गरेर हिउँदयामका साँझका समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सिइओ सिंहले बताए ।






प्रतिक्रिया