धुन्चे । विश्व शान्ति र सम्पूर्ण प्राणी जगत्को रक्षाको निमित्त रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा तेस्रोपटक त्रिपिटक ग्रन्थ (काङग्युर) वाचन सुरू भएको छ । यही जेठ १० गते आइतबारदेखि १७ गतेसम्म टुल्कु छोलिङ गुम्वा धुन्चेमा एक सय आठ लामा गुरूबाट काङग्युरको पुजासहित वाचन भइरहेको छ ।


टुल्कु छोलिङ गुम्वा धुन्चेको आयोजनामा हरेक पाँच वर्षमा गरिने यो पुजा हिन्दुको वेद, इसाईको बाइवल, इस्लामको कुरान प्रमुख ग्रन्थ भएझैँ बौद्धको मुल ग्रन्थलाई त्रिपिटक भनिन्छ । भगवान बुद्धको वचनलाई उहाँको परिनिर्वाणपछि तत्कालीन भिक्षुद्वारा एकै ठाउँमा संयोजन गरी त्रिपिटक ग्रन्थ निर्माण गर्नुभएको थियो । त्रिपिटकमा ८४ हजार धर्मस्कन्ध छन् भनि अट्ठकथामा वर्णन छ । तिनै सङ्ग्रहको एकमुष्ट समूहलाई नै बुद्ध धर्मको अमूल्य र पवित्र धर्मग्रन्थ त्रिपिटक भनिएको छ । कुशल कार्य र मन परिशुद्धि कार्य गर्नका लागि त्रिपिटकको ज्ञान र अध्ययन गर्नु अति आवश्यक छ । विशेषतः त्रिपिटक पाली भाषामा लेखिएको छ । त्रिपिटकमा ‘त्रि’ को अर्थ तीनवटा र ‘पिटक’ को अर्थ हो टोकरी (डालो) धर्म साहित्यको । तीनवटा पिटकमा (१) सूत्रपिटक (२) विनयपिटक (३) अभिधम्मपिटक पर्छन् । (१) सूत्रपिटक : सूत्रपिटक भन्नाले बोलचालको भाषामा भगवान बुद्धबाट कतिपय स्थानमा व्यावहारिक रूपमा दिइएका धम्म (धर्म) वा उपदेश सूत्रबद्ध तरिकाले विषयगत रूपमा सङ्ग्रह गरिएको बुझिन्छ । यसमा २१ हजार धर्मस्कन्ध छन् । यस सूत्रपिटकलाई पनि पाँच भागमा विभाजित गरिएको छ । दीघ निकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय र खुद्दक निकाय । यसमा पनि १५ वटा अलग निकाय खुद्दकपाठ, धम्मपद, उदान, इत्तिवुत्तक, सुत्तनिपात, विमानवत्थु, पेतवत्थु, थेरगाथा, थेरीगाथा, जातक, निद्देस, पटिसम्भिदामग्ग, अपदान, बुद्धवंश र चरियापिटक रहेका छन् । (२) विनयपिटक : विनयपिटकमा बुद्ध शासनको व्यवस्था, भिक्षु, भिक्षुणीले पालन गर्नुपर्ने नियम, आचारसंहिता, उपसम्पदा नियम, वर्षवास, भोजन, वस्त्र, औषधि र सङ्घ सञ्चालन गर्ने नियमसम्बन्धी विस्तृत वचनको सङ्ग्रह छ । यसमा २१ हजार धर्मस्कन्ध छन् । यसमा महावग्ग, चुलवग्ग, पचित्रिय, पाराजिका र परिवार भाग रहेका छन् । (३) अभिधम्मपिटक : यसलाई पनि तीन भागमा विभाजन गरिएको छ । परमार्थअन्तर्गत अति सूक्षमातिसूक्ष्मका रूपमा मनोवैज्ञानिक ढङ्गमा मूलतः चित्त, चैतसिक, रूप र निर्वाणसम्बन्धी विश्लेषण भएका बुद्धवचन छन् । यसमा ४२ हजार धर्मस्कन्ध समावेश गरिएको छ । यसलाई सात स्कन्धका रूपमा विभाजन गरिएको छ । विभाजित भागमा धम्म सगणी, विभग, कथावस्तु, पुग्गलपञ्ञति, धातुकथा, यमक र पट्ठान रहेका छन् । अभिधर्म पिटकलाई बौद्ध दर्शन पनि भनिन्छ ।






प्रतिक्रिया