नेपालमा सेयर बजारको चर्चा प्रायः नेप्से सूचकाङ्क बढ्यो कि घट्यो भन्ने विषयमा सीमित हुने गरेको छ । तर, वास्तविकता के हो भने पुँजीबजार कुनै पनि राष्ट्रको आर्थिक स्वास्थ्य, निजी क्षेत्रको आत्मविश्वास, लगानीकर्ताको अपेक्षा र सरकारको नीतिगत विश्वसनीयताको ऐना हो । त्यसैले बजारको उतारचढावलाई केवल लगानीकर्ताको नाफा-घाटासँग जोडेर हेर्नु पर्याप्त हुँदैन । जब पुँजीबजार उत्साहित हुन्छ, त्यसले अर्थतन्त्रप्रति आशा देखाउँछ; जब बजार सुस्त हुन्छ, त्यसले अर्थतन्त्रभित्रका संरचनात्मक समस्या र नीतिगत अन्योलको सङ्केत दिन्छ ।

नेपालको वर्तमान अवस्था हेर्दा पनि यही निष्कर्षमा पुग्न सकिन्छ । अहिले बैंकिङ प्रणालीमा उल्लेख्य मात्रामा तरलता रहेको छ । निक्षेप बढिरहेको छ, ब्याजदर अहिलेसम्मकै न्यून छ, तर ऋण विस्तार अपेक्षित गतिमा हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका तथ्याङ्कले पनि बैंकमा लगानीयोग्य रकम पर्याप्त रहेको, तर निजी क्षेत्रबाट ऋणको माग कमजोर रहेको देखाउँछन् । यसको अर्थ अर्थतन्त्रमा पुँजीको अभाव छैन, अभाव छ भने लगानीको वातावरणप्रतिको विश्वासको, उद्योगी-व्यवसायी नयाँ लगानी गर्न हिच्किचाइरहेका छन्, निर्माण क्षेत्र सुस्त छ, घरजग्गा कारोबार पुरानै गतिमा फर्किन सकेको छैन र उपभोग वृद्धिदर पनि अपेक्षाकृत कमजोर छ । यस्ता परिस्थितिमा पुँजीबजारले उत्साहजनक प्रदर्शन गर्न नसक्नु स्वाभाविक नै हो ।
यद्यपि, समस्या केवल अर्थतन्त्रको सुस्ततामा सीमित छैन । पुँजीबजारसँग सम्बन्धित संस्थागत संरचनाले पनि अपेक्षित नेतृत्व र गति दिन सकेका छैनन् । नेपालको पुँजीबजारको केन्द्रविन्दु मानिने नेपाल स्टक एक्सचेन्ज (नेप्से) लामो समयदेखि नेतृत्वसम्बन्धी अनिश्चितताको बहसमा रहेको छ । नयाँ नेतृत्वको विज्ञ सम्मिलित सरकारसमेत तीन महिना लगभग भइसक्दासमेत पुँजीबजारका नियामक निकाय नेप्सेको नेतृत्व नियुक्ति गर्न आलटाल गरिरहेको देखिन्छ । सफल पुँजीबजारमा स्टक एक्सचेन्जलाई आर्थिक पूर्वाधारका रूपमा हेरिन्छ, जहाँ नेतृत्व चयन राजनीतिक समीकरणका आधारमा होइन, बजार विकासको दृष्टि, प्राविधिक क्षमता र व्यवस्थापकीय दक्षताका आधारमा गरिन्छ । नेपालमा पनि नेप्सेलाई यस्तै व्यावसायिक संस्थाको रूपमा विकास गर्न सकिएन भने पुँजीबजारको दीर्घकालीन विकास कठिन हुनेछ ।
यससँगै नेप्सेको संस्थागत स्वतन्त्रताको प्रश्न पनि जोडिएको छ । विश्वका अधिकांश सफल एक्सचेन्ज पूर्ण वा अर्धस्वायत्त संरचनामा सञ्चालन भइरहेका छन् । भारतको नेसनल स्टक एक्सचेन्ज, लन्डन स्टक एक्सचेन्ज, सिंगापुर एक्सचेन्जलगायत संस्थाले सरकारको दैनिक हस्तक्षेपभन्दा बाहिर रहेर व्यावसायिक निर्णय लिने क्षमता विकास गरेका छन् । नेपालमा भने पुँजीबजारसँग सम्बन्धित धेरै निर्णय अझै प्रशासनिक प्रक्रियामा अल्झिने गरेका छन् । परिणामस्वरूप प्रविधि, उत्पादन विकास, नयाँ वित्तीय उपकरण र बजार विस्तारका विषयमा अपेक्षित गति प्राप्त हुन सकेको छैन । त्यसैले नेप्सेलाई आधुनिक, प्रविधिमैत्री र व्यावसायिक संस्थाका रूपमा पुनर्संरचना गर्ने बहस अब टार्न नसकिने अवस्थामा पुगेको छ ।
कानुनी संरचनाको जटिलता अर्को चुनौती हो । धितोपत्र बजारसँग सम्बन्धित ऐन, नियमावली, निर्देशिका र परिपत्र विभिन्न समयमा विभिन्न उद्देश्यका लागि बनाइएका छन् । समयसँगै बजार परिवर्तन भयो, प्रविधि परिवर्तन भयो, लगानीकर्ताको स्वरूप परिवर्तन भयो, तर कानुनी संरचना त्यही अनुपातमा अद्यावधिक हुन सकेन । फलस्वरूप नियामक निकाय, बजार सञ्चालक र लगानीकर्ताबिच विभिन्न विषयमा फरक-फरक व्याख्या देखिने गरेको छ । त्यसैले आजको आवश्यकता पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण कानुनी व्यवस्थालाई एउटै छातामुनि ल्याएर आधुनिक ‘एकीकृत पुँजीबजार ऐन’ निर्माण गर्नु हो । यसले नियमनलाई सरल, पारदर्शी र लगानीमैत्री बनाउन मद्दत गर्नेछ ।
नेपालको पुँजीबजारको अर्को ठुलो सम्भावना गैरआवासीय नेपाली समुदाय हो । विश्वभर फैलिएका नेपालीले अर्बौँ डलरबराबरको आर्थिक क्षमता निर्माण गरेका छन् । तर, त्यो पुँजीको अत्यन्तै सानो हिस्सा मात्र नेपालको औपचारिक पुँजीबजारमा प्रवेश गर्न सकेको छ । भारत, इजरायल, फिलिपिन्स र भियतनामजस्ता देशले आफ्नो प्रवासी समुदायलाई विशेष बन्ड, पूर्वाधार कोष र लगानी उपकरणमार्फत राष्ट्रिय विकाससँग जोड्न सफल भएका छन् । नेपालले पनि गैरआवासीय नेपालीलाई लक्षित गरी विदेशी मुद्रामा आधारित बन्ड, पूर्वाधार फन्ड तथा दोस्रो बजारमा सहज पहुँच उपलब्ध गराउन सके पुँजीबजारको आकार र गहिराइ दुवै उल्लेखनीय रूपमा बढ्न सक्छ ।
पुँजीबजारको विकाससँगै लगानीकर्ताको सुरक्षालाई केन्द्रमा राख्नु उत्तिकै आवश्यक हुन्छ । पछिल्ला वर्षमा आइपिओ काउन्टरबाट सिधै किन्न सकिने (ओटिसी) बजारबाट प्रोमोटर सेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । तर, कम्पनीको वास्तविक क्षमता, कर्पोरेट सुशासन, व्यावसायिक सम्भाव्यता र जोखिम मूल्याङ्कनका विषयमा पर्याप्त बहस हुन सकेको छैन । विकसित बजारमा कुनै कम्पनी सार्वजनिक निष्कासनमा जानुअघि विस्तृत वित्तीय परीक्षण, स्वतन्त्र मूल्याङ्कन र कडा प्रकटीकरण मापदण्ड पूरा गर्नुपर्छ । नेपालमा पनि आइपिओ स्वीकृति प्रक्रियालाई मात्रात्मकभन्दा गुणात्मक बनाउन आवश्यक छ । यसले सर्वसाधारण लगानीकर्ताको पुँजी सुरक्षित राख्नुका साथै बजारप्रतिको विश्वास पनि बढाउनेछ ।
पछिल्लो समय सर्वाधिक बहसमा रहेको विषय पुँजीगत लाभकरको गणना विधि हो । नेपालको वर्तमान अभ्यासमा करको संरचना र गणना प्रक्रियाबारे लगानीकर्ताले विभिन्न प्रश्न उठाइरहेका छन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा अधिकांश विकसित देशमा लगानीकर्ताको समग्र वार्षिक शुद्ध लाभमा आधारित कर प्रणाली अपनाइएको पाइन्छ । अर्थात् नाफा भएका कारोबार र घाटा भएका कारोबारलाई समायोजन गरी अन्तिम वास्तविक लाभमा कर लगाइन्छ । यसलाई कर न्यायको आधारभूत सिद्धान्तका रूपमा हेरिन्छ । नेपालमा पनि दीर्घकालीन रूपमा यस्तो प्रणालीको सम्भावना र प्रभावबारे गम्भीर अध्ययन तथा बहस आवश्यक देखिन्छ ।
बजारलाई दीर्घकालीन स्थायित्व दिने अर्को पक्ष संस्थागत लगानीकर्ताको उपस्थिति हो । नेपालको पुँजीबजार अझै मुख्यतः खुद्रा लगानीकर्तामा आधारित छ । परिणामस्वरूप मनोवैज्ञानिक प्रतिक्रिया, अफवाह र अल्पकालीन घटनाले बजारलाई ठुलो प्रभाव पार्ने गरेको छ । विकसित अर्थतन्त्रमा भने पेन्सन फन्ड, बिमा कोष, म्युचुअल फन्ड तथा दीर्घकालीन लगानी संस्थाले बजारलाई सन्तुलन र स्थायित्व प्रदान गर्छन् । नेपालले पनि आगामी दशकको पुँजीबजार रणनीतिमा यस्ता संस्थागत लगानीकर्ताको भूमिका विस्तारलाई प्राथमिकता दिनुपर्छ ।
अन्ततः नेपालको पुँजीबजारलाई कृत्रिम रूपमा बढाउने प्रयासभन्दा व्यवसायीलाई धरपकड, ठुला-मिठा भाषणभन्दा पनि बजार आफैँ बढ्न सक्ने आधार निर्माण गर्नु आवश्यक छ । नीतिगत स्थिरता, न्यायपूर्ण कर प्रणाली, सक्षम नियमन, प्रविधिमैत्री पूर्वाधार, संस्थागत सुधार, विदेशी तथा एनआरएन लगानी आकर्षण र लगानीकर्ताको विश्वास पुनस्र्थापनाविना बजारको दिगो विकास सम्भव छैन । पुँजीबजारलाई केही लाख लगानीकर्ताको विषयका रूपमा होइन, राष्ट्रको पुँजी निर्माण, औद्योगिकीकरण, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधारका रूपमा बुझ्न सकियो भने मात्र नेपालले यसको वास्तविक सम्भावना उपयोग गर्न सक्नेछ । आज आवश्यकता बजार बढाउने नाराको होइन, बजार बढ्न सक्ने वातावरण निर्माण गर्ने साहसिक नीतिगत निर्णयको हो । अर्थतन्त्रको मिरर मानिएको पुँजीबजारप्रति लगानीकर्ताको विश्वास कायम राख्न तत्कालै पहलकदमी आवश्यक देखिन्छ । (लिखु-१, ढिकुरे, नुवाकोटका लेखक बैंकर हुनुहुन्छ ।)






प्रतिक्रिया