+
Search

ताजा अपडेट +

पपुलर +

धान दिवसको सार्थकता

धान दिवसको सार्थकता
रामहरि अधिकारी
१ घण्टा अगाडी

नेपाल कृषिप्रधान देश भएकाले मुख्य खाद्यबाली धानको महत्त्व राष्ट्रको इतिहास, सभ्यता, जीवन पद्धति र धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षसँग जोडिएको छ । धानको महत्त्व दर्शाउन सर्वप्रथम श्रमजीवी किसानलक्षित श्रमसंस्कृति विकास गर्नु आजको मुख्य आवश्यकता हो । धानखेतीलाई एक दिवसको रूपमा मनाई कृषकको हकहित उनीहरूको जीवनयापनलगायतका यावत् समस्यालाई अगाडि बढाई समग्र देशलाई आत्मनिर्भर बनाउन नेपाल सरकारले विसं २०६१ देखि हरेक वर्ष असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ ।

Utsuk Books & Stationery

धानको महत्त्व दर्शाउन सर्वप्रथम श्रमजीवी किसानलक्षित श्रमसंस्कृति विकास गर्नु आजको आधारभूत सर्त हो । असार १५ गतेको दिनलाई धान दिवस तथा रोपाइँ महोत्सवस्वरूप उत्सवका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रूपमा देशका अधिकांश स्थानमा रोपाइँ थालनी गर्ने, असारेभाका गाउने तथा दही, चिउरा खाने सांस्कृतिक पर्वका रूपमा समेत मनाउने गरिन्छ । यस वर्ष पनि देशैभर राष्ट्रिय धान दिवस मनाउने तयारी भइरहेको छ । धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा विशेषगरी यसको गरिमा, किसान अधिकार र नेपाली संस्कृतिको अमूल्य निधिका रूपमा धानको महत्त्वलाई विकास गर्नतर्फ जोड दिनुपर्दछ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले विभिन्न सांस्कृतिक चाडपर्व, मूल्य–मान्यता, रीतिरिवाज, परम्परा, सामाजिक पक्ष, जीवन पद्धति तथा समग्र संस्कृतिसँग जोडिएको प्रमुख खाद्यबाली धानको संरक्षण, प्रवद्धन र विकास गर्नु राज्य तथा हरेक नेपालीको दायित्व हो । जन्मदेखि मृत्युपर्यन्तका क्रियाकलाप जस्तै – न्वारान, पास्नी, पूजापाठ, चाडपर्व, छेवर, व्रतबन्ध, विवाह, मृत्यु संस्कारजस्ता क्रियाकलाप धान-चामलविना पूरा हुन सक्दैनन् । परम्परागत रूपमा गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने संस्कृति रहेकाले यसबाट सामाजिक एकता र सद्भाव बढाउन यस पर्वले प्राचीनकालदेखि ठुलो टेवा पुर्याउँदै आएको पाइन्छ । रोपाइँसम्बन्धी विभिन्न किंवदन्ती पनि रहेको पाइन्छ । राष्ट्रिय धान दिवससँग जोडिएका सांस्कृतिक पक्षको संरक्षण, सम्बद्धन, प्रवद्धन तथा पुस्तान्तरणका लागि सरोकारवाला निकायको सक्रियता जरुरी छ । श्रमसंस्कृति जोडिएको यस पर्वले नेपालीबिच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सक्नुपर्छ ।

अन्तर्राष्ट्रियस्तरमा धान दिवसलाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ । एकातिर विश्वमा बढ्दै गइरहेको जुनघनत्व तथा मानव सूचकाङ्कले यसलाई प्रभावित बनाउँदै लगेको छ । निश्चय नै त्यसले विभिन्न देशको वातावरणमा प्रतिकूल असर पारिरहेको देखिन्छ र त्यसको प्रभाव प्रत्यक्ष र अप्रत्यक्ष रूपमा परिरहेको छ । नेपाली समाजमा अहिले खाना वा भातको प्रचलन बढ्दो नै देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले पनि त्यसलाई महत्त्वपूर्ण मान्न सकिन्छ । तथापि, बजारमा प्याकेटका कृत्रिम खाना नआएका र उपभोग नभएका भने होइन । यो दिवस प्रत्येक अङ्ग्रेजी वर्षको मे २९ मा विश्वभर मनाइने गरिएको भए तापनि नेपालमा भने धेरै वर्ष पहिलेदेखि वर्षको वर्षा ऋतुभित्र पर्ने असार १५ गते दही, चिउरा खाएर हिलो खेली (रोपाइँ गरी) मनाउने प्रचलन रहिआएको पाइन्छ । नेपालको हिमाली, पहाडी भू-भाग र तराईमा विभिन्न जातका धानको खेती हुँदै आएको छ । हिमाली क्षेत्र जहाँको पानी चिसो हुने हुनाले त्यहाँको वातावरणलाई ध्यानमा राखी त्यसैअनुरूपका धानका बिउ लगाउने गरिन्छ । नेपालको धानखेतीमा ठुलो असर पारेको कुरालाई नकार्न भने सकिँदैन । भनिन्छ नेपाल जलस्रोतको दृष्टिकोणले विश्वकै धनी देश हो, तैपनि नेपालका हिमाली, पहाडी र तराई क्षेत्रका समथर भू-भागमा खेतीयोग्य अधिकांश जमिनमा सिँचाइको अभावमा कृषक निधारमा हात राख्न बाध्य रहेका मात्र नभई ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ आकाशकै भरमा बाँच्न विवश छन् ।

अर्कातिर हाल रोजगारीको अभावमा गाउँगाउँका युवा विदेश पलायन हुनुले पनि धानखेतीमा ठुलो गिरावट देखिन्छ । परम्परागत खेतीबाट घर-व्यवहार चलाउन धौधौ पर्नु, दैनिक उपभोग्य वस्तुको बजारभाउ महँगो हुनुजस्ता विविध कारणबाट युवामा एक किसिमको नैराश्यता सिर्जना हुनुले पनि यसमा प्रभाव परेको छ । माटोको गुणस्तर निर्धारण गरी वातावरणीय प्रभावलाई विचार गरी त्यसै किसिमका बिउ लगाई उचित मल, विषादी, सिँचाइ, परामर्श र रेखदेखका साथ खेती गरिएमा नेपालको जनसङ्ख्यालाई धानखेतीबाट आत्मनिर्भर बनाउन सकिन्छ । प्रायः खेतीको समयमा बजारमा रासायनिक मलको अभाव सिर्जना हुने गरेको, माटोको आवश्यकताअनुसार कृषकले पनि रासायनिक मलको प्रयोग गर्नुपर्ने, गुणस्तरयुक्त बिउविजनको अभाव र उत्पादित अनाजलाई बजारसम्म पु¥याउन सक्ने आदि जस्ता कुरा रोपाइँ दिवसको छलफलको विषय बन्नुपर्छ । कृषकको समस्यालाई समाधान गर्न सरकार तत्पर हुन सके मात्र हरेक वर्ष मनाइएको धान दिवस सार्थक हुनेछ ।

हालको विकासको अवस्थाले गाउँगाउँमा सडक त पुग्यो, तर त्यहाँको बस्ती सहरकेन्द्रित वा अझ देशै छाडेर जानेको लर्कोले धानखेतीलाई नराम्रो असर पारेको छ । नेपाल एक भू-परिवेष्टित मुलुक हो । वन विनाश, खोल्सा–खोल्सी, इनार, ताल, तलैयाजस्ता पानीका मूलको संरक्षण नगरिँदा पर्यावरणमा ठुलो असर परेको देखिन्छ र प्रत्येक बस्ती मासिँदोक्रममा रहेका छन् । गाउँगाउँमा सडक पूर्वाधारको विकासले खोल्सा-खोल्सी पुरी बर्सेनि बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षात, खण्डवृष्टि, सुक्खा खडेरीजस्ता विपत्तिको सामना गर्नुपरेको छ । हाल विभिन्न जातका हाइब्रिड जातका धान पिएसी, विजर, शङ्कर, युएसजस्ता कम पानीमा पनि फल्ने प्रचलनमा आएपछि उत्पादन वृद्धि हुँदा कृषकले राहत महसुस गरेका छन् ।

विदुर-८, नुवाकोट

 

प्रतिक्रिया

लेखकको बारेमा

रामहरि अधिकारी