हाम्रो देशमा सरकार बनेको दिनदेखि नै राम्रो काम गरेन, केही भएन, केही गर्न सक्दैन भन्ने टीका–टिप्पणी सुरु हुन्छ । यस्तो आलोचना गर्ने बानी हामी नेपालीको संस्कार बनिरहेको छ । यस्तो प्रवृत्ति रहनुमा राजनीतिक दलदेखि सामाजिक सञ्जाल जिम्मेवार छन् । नेपालीलाई केही भएन भनेर निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउन खोज्ने देशी–विदेशी शक्तिलाई बुझ्नु जरुरी छ । ती समूहलाई देशमा राम्रोचाहिँ कसले गर्छ भन्ने प्रश्न गरौँ ।
पचास वर्षअघि हामीसरह वा हामीभन्दा पछाडि रहेका कैयौँ देश आज कहाँ पुगे र हामी आज कहाँ छौँ, छर्लङ्ग छ, तैपनि हामी पिछडिनाका कारण नेता र व्यवस्था हुन् भनेर सराप्न थालिहाल्छौँ । यो स्वाभाविक पनि हो । व्यवस्थाले इच्छित परिणाम नदिएपछि प्रणाली र त्यसका सञ्चालकलाई नै सरापिन्छ । मुलुकलाई आर्थिक विकास र उन्नतिको उचाइमा पुयाउने कुरामा हामी पछि परेकै हौँ । तर, राजनीतिक व्यवस्थाको विकासक्रमको गतिलाई हेर्ने हो भने त यति गतिशील मुलुक सायदै नभेटिएला । लगभग ७५ वर्षको अन्तरालमा निष्पट्ट निरङ्कुशतन्त्रदेखि लिएर सीमित राजतन्त्रात्मक प्रजातन्त्र, निर्दलीय व्यवस्था हुँदै संवैधानिक संसदीय राजतन्त्र र अन्ततः गणतन्त्रको समेत प्रयोग भइसकेको छ ।
सामान्यतः भूतकालभन्दा वर्तमान उन्नत हुन्छ र वर्तमानभन्दा भविष्य प्रगतिउन्मुख हुने आशा गरिन्छ । तर, हाम्रो मुलुकमा चाहिँ अनौठो भइरहेको छ । सात सालको परिवर्तन लगत्तैदेखि हामीलाई एउटा कुण्ठाले सताइरहेको छ । हामी भूतकालका तुलनामा वर्तमानलाई खराब देख्न थाल्छौँ । राणाशासनको पतनलगत्तै हामीले भन्न थाल्यौँ, यसभन्दा त राणा नै ठिक । २०१५ सालको आमनिर्वाचनबाट गठित दुईतिहाइ बहुमतको नेपाली काङ्ग्रेसको सरकारलाई नानाथरी बदनाम गर्दै अप्रत्यक्ष रूपमै भए पनि हुकुमी शासनका पक्षमा वकालत गर्न सुरु भयो । एकतन्त्रीय शासनपछि पनि असन्तोष रह्यो । बिचका अवधिको लामो विश्लेषण नगरी अहिलेको अवस्थाको कुरा गर्ने हो भने पनि ‘यति सय राजाभन्दा त एउटा राजै ठिक’सम्म भन्न थालिएको छ ।
के हाम्रो वर्तमान सधैँ भूतकालभन्दा खराबै रहेको हो त ? राजा त्रिभुवन र महेन्द्रले कुनै बेला राणाले उपभोग गरेको शैलीको राज्यलक्ष्मीसँगको भोगविलास बढीभन्दा बढी आफू र आफ्नो परिवारमा केन्द्रित राख्ने सोचका साथ जनतालाई प्रतिनिधित्व गर्ने शक्ति अर्थात् राजनीतिक दललाई कमजोर गर्नमै समय व्यतीत गरे । यही दुष्चक्रको परिणाम थियो जनतालाई सीमित शक्ति दिइएको २०१५ साले संविधान । त्यति गरेर बनेको निर्वाचित सरकारलाई पनि दुई वर्ष काम गर्न दिइएन । अब २०१७ देखि ०४७ सालसम्मको राजाको हातमा एक छत्र शक्ति भएको ३० वर्षे अवधि र त्यसपछिको समय तुलना गरौँ । नेपाल अधिराज्यको संविधान, २०४७ निर्माणपश्चात्को आमनिर्वाचनबाट सरकार गठन भएलगत्तै सुरु भएको रेलिङ तोडफोडदेखि माओवादी युद्ध सुरु हुँदासम्मको लगभग डेढ दशकको अवधि पनि सहज थिएन । सशस्त्र द्वन्द्व सुरु भएपछिको समयबारे त कुरै गर्नुपरेन । तुलनात्मक रूपमा सुरुका तीन वर्षको अवधिमा चाहिँ सरकारले केही काम गर्न पाएको हो । यो सब गन्जागोलमा राजनीतिक दलको सत्ता–सङ््घर्ष र खिचातानी अवश्यै थियो । तर, त्यसमा दरबारको शक्ति आफूमा केन्द्रित गर्ने र शक्ति सञ्चय गर्ने लालसाबाट प्रेरित षड्यन्त्र कति थियो भन्ने कुरो राम्रै अनुसन्धानको विषय हो ।
यी सबका बाबजुद मुलुकको पूर्वाधार विकासजस्ता विषयलाई केलाउने हो भने निस्कने तथ्य धेरैलाई नपच्ला । यी दुई कालखण्डमा बनेको सडक सञ्जाल, पुलपुलेसा, स्वास्थ्य संरचना, सिँचाइ सुविधा र समग्र आर्थिक गतिविधिलाई तुलना गर्दा अघिल्लो अवधिको उपलब्धि अत्यन्तै न्यून देखिन्छ । राजभक्तले बडो गर्वका साथ उल्लेख गर्ने गरेको पूर्व–पश्चिम राजमार्गसमेत कुन कालखण्डमा पूरा भएको हो, सायद धेरैलाई याद नहोला । शिक्षण संस्थाको अवस्था गुणात्मक र सङ्ख्यात्मक दुवै हिसाबले तुलना गर्ने कि ? वास्तविकता के हो भने हाम्रो वर्तमान, भूतभन्दा कैयौँ गुणा राम्रो छ । तर, यसभन्दा धेरै राम्रो हुन सक्थ्यो र हुन सक्छ । वर्तमानलाई सराप्ने बानी त्यागौँ, भूतलाई मात्र राम्रो भन्ने प्रवृत्ति छाडौँ । सबैले देशको समृद्धि चाहने हो भने सकारात्मक सोचौँ, काम गर्नेलाई अवसर दिआँै, पर्खौँ, हेरौँ, धैर्य गर्न सिकौँ, क्षणिक आरोपमा रमाउन छाडौँ । केही हुँदै छ, केही गर्छ भन्ने आत्मविश्वास जगाउन राजनीतिक दलदेखि तपाईं–हामी सबैले कर्तव्य सम्झनुपर्ने बेला आएको छ ।