काठमाडौँ । नेपाली काङ्ग्रेसले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत सोमबारको बैठकमा महाधिवेशनको कार्यतालिका निर्णयार्थ पेस गर्नुभएको थियो ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकले डेढ महिनासम्म महाधिवेशनको मिति तय गर्न सकेको थिएन । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा आफैँ सक्रिय हुँदै संस्थापन र इतर समूहलाई एक ठाउँमा ल्याउने गरी महाधिवेशनको प्रस्ताव गर्नुभएको थियो । सोमबारको बैठकले केन्द्रीय समितिको समयावधि आगामी माघ मसान्तसम्मका लागि थप गरेको छ । अहिलेको कार्यसमितिको समयावधि मङ्सिरसम्म मात्र भएकाले महाधिवेशन सम्पन्न गर्ने र नयाँ कार्यसमिति नआउँदासम्मका लागि समय थप गरिएको हो । काङ्ग्रेसले पारित गरेको कार्यतालिकाअनुसार मङ्सिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता केन्द्रबाट वितरण गरीसक्नेछ भने जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म मङ्सिर २४ गतेभित्रै नयाँ क्रियाशील सदस्यता फारम पठाउने भएको छ । पुस १४ गते क्रियाशील सदस्यताको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति तय गरिएको छ । त्यसैगरी, विभिन्न तहको क्रियाशीलताको काम पुस ८ गतेसम्म सम्पन्न गरी पुस १६ गतेसम्म गाउँ, नगर र वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । त्यसका साथै विभिन्न चरणका अधिवेशन सम्पन्न गर्दै आगामी पुसको २३ र २४ गते सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत बैठकले गरेको छ । अधिवेशनसम्बन्धी सूचीमा पुस १५ भित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन गरिसक्ने उल्लेख छ । वडा अधिवेशन पुस १६ गते र गाउँ तथा नगर अधिवेशन पुस १७ गते हुने भएको छ । त्यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गतेका लागि तोकिएको छ भने एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २१ र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन गर्ने तय भएको छ । प्रदेश अधिवेशनका लागि पुस २३ र २४ को मिति तोकिएको छ र पुस २६ देखि २८ सम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन हुनेछ ।






प्रतिक्रिया