+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली काङ्ग्रेसको रूपान्तरण र अबको बाटो

नेपाली काङ्ग्रेसको रूपान्तरण र अबको बाटो
श्रीराम श्रेष्ठ
३ दिन अगाडी

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले नेपालको राजनीतिक इतिहासका हरेक कालखण्डमा भएका आन्दोलनका लागि लडेको र नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । बिपी कोइराला, सुवर्णशमशेर, गणशेमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूले काङ्ग्रेसलाई नेतृत्व दिएर अनवरत रूपमा देशमा प्रजातन्त्र स्थापनाका लागि आजीवन सङ्घर्षमा बिताए । कैयौँ नेता/कार्यकर्ताले लोकतन्त्रका लागि बलिदानी दिए र हजारौँ कार्यकर्ताले सङ्घर्ष गरिरहे । यसर्थ पनि नेपालका लागि लोकतन्त्र र लोकतन्त्रका लागि काङ्ग्रेस जीवित, सङ्गठित र सक्रिय रहनुपर्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनको मियो काङ्ग्रेस यतिवेला सम्भवतः आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मोडमा उभिएको छ । देशमा भर्खरै सम्पन्न जेन-जी विद्रोहले परम्परागत राजनीति र स्थापित दलहरूको जग हल्लाइदिएको छ । यो विद्रोह केवल सत्ता परिवर्तनको खेल मात्र थिएन, वर्षाैँदेखिको कुशासन, ढिलासुस्ती, भ्रष्टाचार र नेतृत्वको यथास्थितिवादविरुद्ध सङ्गठित डिजिटल र भौतिक आक्रोश पनि थियो । यही जनविद्रोहको राप र तापबाट बनेको अन्तरिम सरकारले पाएको जिम्मेवारी आगामी फागुन २१ गते आमनिर्वाचन सम्पन्न गराउनु रहेको छ । सँगसँगै काङ्ग्रेसले पनि आफ्नो १५औँ महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको छ । यस्तो अवस्थामा काङ्ग्रेसका अगाडि दुई ठुला र गम्भीर चुनौती एकसाथ खडा भएका छन्- महाधिवेशनमार्फत दललाई साँच्चिकै रूपान्तरण गरेर नयाँ पुस्ताको भावनासँग जोड्नु र लगत्तै आउने निर्वाचनमा जनताको विश्वास जितेर देशलाई स्थिरता र समृद्धिका बाटामा देखिने र महसुस गर्न सकिने गरी अगाडि बढाउनु ।

सबैभन्दा पहिले काङ्ग्रेसले यो बुझ्नु जरुरी छ कि ‘जेन-जी विद्रोहको खास चुरो कारण र परिस्थितिको सिर्जना किन भयो ? विसं. २००७, २०४६ र २०६२/०६३ को आन्दोलनको नेतृत्व गरेको काङ्ग्रेसलाई किन आजको युवाले आफ्नो प्रतिनिधि ठानिरहेको छैन ? उत्तर स्पष्ट छ-हिजोको पुस्ताले स्वतन्त्रता खोजेको थियो, आजको पुस्ताले स्पष्ट परिणाम खोजिरहेको छ । त्रिभुवन विमानस्थलमा राहदानी बोकेर लाम लागेको युवाले बिपीको समाजवादको व्याख्या मात्र सुनेर चित्त बुझाउँदैन, उसले स्वदेशमै रोजगारी र आत्मसम्मान खोजिरहेको छ । पछिल्लो विद्रोहले स्पष्ट सन्देश दिएको छ, अब हामीले राणा फाल्यौँ, राजा फाल्यौँ भनेर भजाउने दिन गइसकेको छ । अबको राजनीति प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र ‘मेरिटोक्रेसी’ अर्थात् योग्यतामा आधारित हुनुपर्छ भन्ने सन्देश सडकबाट गुन्जियो । उसले यस बदलिएको मनोविज्ञानलाई सम्बोधन गर्न सकेन भने आगामी निर्वाचनमा यसको अस्तित्व केवल इतिहासका पानामा सीमित हुने खतरा छ । तसर्थ काङ्ग्रेसका लागि अबको बाटो भनेको परम्परा धान्ने मात्र होइन, आपूmलाई पूर्णतः ‘रिबुट’ गर्ने हो ।

१५औँ महाधिवेशन : रूपान्तरणको प्रस्थानविन्दु
निर्वाचनअगाडि हुने महाधिवेशन काङ्ग्रेसका लागि ‘गर वा मर’को अवस्था हो । यदि यो महाधिवेशन पनि पुरानै गुटबन्दी, भागबन्डा र ६०-४० को समीकरणमा रुमलिल्यो भने जनताले मतपत्रमार्फत काङ्ग्रेसलाई कठोर सजाय दिनेछन् । तसर्थ महाधिवेशनको मुख्य कार्यभार काङ्ग्रेस रूपान्तरण नै हुनुपर्छ । रूपान्तरण भनेको केवल अनुहार फेर्नु मात्र होइन, यो प्रवृत्ति फेर्नु हो । महाधिवेशनमा उठ्ने बहस अबको सभापति को बन्ने भन्नेमा मात्र सीमित हुनुहुँदैन, कस्तो काङ्ग्रेस बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ । जेन-जी आन्दोलनले उठाएका राजनीतिक विषय जस्तै भ्रष्टाचारमा शून्यसहनशीलता, सार्वजनिक सेवा प्रवाहमा डिजिटलाइजेसन, जलवायु परिवर्तनका विषय र युवा उद्यमशीलतालाई महाधिवेशनको नीतिगत दस्ताबेजमा प्रमुखताका साथ समेटिनुपर्छ । महाधिवेशनले यस्तो नेतृत्व र नीति पारित गर्नुपर्छ जसले भनोस्, ‘हामीले गल्ती ग¥यौँ, हामी सुध्रियौँ र अब हामीसँग नयाँ नेपाल बनाउने स्पष्ट खाका छ ।’  पुराना नेताहरूको सम्मानजनक बहिर्गमन र नयाँ ऊर्जासहितको नेतृत्वको समायोजनविना यो महाधिवेशन सफल मानिनेछैन । जेन-जीले खोजेजस्तो ‘स्मार्ट पार्टी’ बनाउनका लागि यसको विधान, संरचना र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक देखिन्छ ।

आमनिर्वाचन र जनतामा भरोसाको सङ्कट
महाधिवेशनलगत्तै आउने संसदीय निर्वाचन काङ्ग्रेसका लागि अग्निपरीक्षा हो । विद्रोहपछिको सरकारले गराउन लागेको यो निर्वाचन सामान्य अवस्थाको होइन । जनतामा दलहरूप्रति चरम वितृष्णा छ । पुराना सबै खराब हुन् भन्ने भाष्य बलियो बन्दै गएका समयमा काङ्ग्रेसले कसरी जनताको मन जित्ने भन्ने गम्भीर चुनौतीलाई सम्बोधन गर्ने गरी एकढिक्का भएर दृढतापूर्वक अघि बढ्नुपर्छ । काङ्ग्रेसले अबको घोषणापत्रमा अमूर्त कुरा लेखेर हुँदैन । ६ महिनाभित्र यो गर्छु, एक वर्षभित्र यो गर्छु, भन्ने स्पष्ट तालिकासहितको प्रतिबद्धता चाहिन्छ । अर्थतन्त्रको पुनरुत्थान कसरी गर्ने ? बिदेसिएका युवालाई नेपाल फर्काउने ठोस आधार के ? शिक्षा र स्वास्थ्यमा देखिएको व्यापारीकरणलाई कसरी रोक्ने ? यी प्रश्नको ‘टु द पोइन्ट’ उत्तरसहित काङ्ग्रेस जनतामा जानुपर्छ । जेन-जी विद्रोहलाई काङ्ग्रेसले आफूविरुद्धको आन्दोलनका रूपमा नभई लोकतन्त्रको सुदृढीकरणका लागि भएको खबरदारीका रूपमा ग्रहण गर्नुपर्छ, विद्रोहले देखाएको बाटामा हिँड्न काङ्ग्रेस तयार छ भन्ने सन्देश दिन सक्नुपर्छ । आन्दोलनका क्रममा उठेका जायज मागलाई आफ्नो चुनावी कार्यभार बनाउनु राजनीतिक बुद्धिमत्ता हुनेछ ।

महाधिवेशनले नीति राम्रो पारित गरे पनि निर्वाचनमा फेरि तिनै पुराना, भ्रष्ट छवि भएका वा ‘टेस्टेड एन्ड फेल्ड’ अनुहारलाई टिकट दिइयो भने नतिजा काङ्ग्रेसका पक्षमा आउनेछैन । टिकट वितरणमा गुटको भागबन्डा होइन, जनमतको कदर र योग्यतालाई आधार बनाउनुपर्छ । जनताले पत्याएका, समाजमा भिजेका र स्वच्छ छवि भएका व्यक्तिलाई अघि सार्नुपर्छ । अहिलेको काङ्ग्रेसको चुनौती र दायित्व भनेको अहिलेको सङ्क्रमणकाललाई सही दिशा दिनु हो । जेन-जी विद्रोहपछि उत्पन्न परिस्थिति र अस्थिरताको जोखिमलाई चिर्दै देशलाई लोकतान्त्रिक विधिबाटै निकास दिनु काङ्ग्रेसको धर्म हो । यदि काङ्ग्रेस चुक्यो भने, दक्षिणपन्थी अतिवाद वा वामपन्थी उग्रवादले टाउको उठाउने खतरा रहन्छ, जसले मुलुकलाई थप द्वन्द्वमा फसाउन सक्छ । महाधिवेशनको तयारीमा होमिरहँदा काङ्ग्रेस नेतृत्वले यो बिर्सनुहुँदैन कि उनीहरू केवल पार्टीको पदका लागि लडिरहेका छैनन्, बरु लोकतन्त्रको भविष्य र नेपालको स्थायित्वका लागि लडिरहेका छन् । निर्वाचनले देशको आगामी दशकको दिशा तय गर्नेछ ।

निष्कर्ष
काङ्ग्रेसका लागि महाधिवेशन र निर्वाचन एकै सिक्काका दुईपाटा हुन् । महाधिवेशनबाट दलभित्रको फोहोर सफा गरेर नयाँ ऊर्जा र विचारसहित निस्किएको काङ्ग्रेसले मात्र निर्वाचनमा ‘जेन-जी’लगायत जनताको विश्वास जित्न सक्छ । समयले उसलाई रूपान्तरणको अन्तिम मौका दिएको छ । इतिहासको ब्याज खाएर बाँच्ने सुविधा अब छैन । अबको काङ्ग्रेसले बिपीको विचारलाई आजको प्रविधि र चेतनासँग जोड्नुपर्छ । ‘जय नेपाल’को नारा तब मात्र सान्दर्भिक हुनेछ जब यसले मेचीदेखि महाकालीसम्मका, हिमालदेखि तराईसम्मका र १८ वर्षदेखि ८० वर्षसम्मका नागरिकको सपनालाई समेट्न सक्नेछ । जनताले मतपेटिकामा खसाल्ने मत केवल एउटा दललाई दिइने मत हुनेछैन, त्यो नेपालको लोकतन्त्र र काङ्ग्रेसको रूपान्तरणप्रतिको जनमतसङ्ग्रह पनि हुनेछ । तसर्थ महाधिवेशनलाई केवल कर्मकाण्डमा सीमित नराखी दल पुनर्जागरणको महाभियान बनाउँदै निर्वाचनमा होमिनु नै काङ्ग्रेसको आजको अपरिहार्य आवश्यकता र जिम्मेवारी हो ।  (लेखक नेपाली काङ्ग्रेस नुवाकोटका सचिव हुनुहुन्छ ।)

 

प्रतिक्रिया

लेखकको बारेमा

श्रीराम श्रेष्ठ