आगलागीबाट २७ लाख बराबरको क्षति

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८१, शुक्रबार १६:००

धुन्चे । रसुवा जिल्लाका कालिका नगरपालिका वडा नं १ ग्राङमा मंसिर १३ गते बिहान करेन्ट सर्ट भएर आगलागी हुँदा ३ घर जलेर झण्डै रू २७ लाख बराबरको धनमाल नष्ट भएको छ । उक्त आगलागीबाट मानवीय क्षति भने नभएको कालिकास्थान प्रहरीचौकीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कालिकास्थानका इञ्चार्ज पन्नालाल यादवकाअनुसार ग्राङका स्थानीय छेवाङ लामाका नाति पासाङ मेन्दे तामाङ, डेमानुर्पु तामाङ र छिरिङपेम्बा तामाङको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट छिरिङपेम्बाको अन्दाजी रू १२ लाख, डेमानुर्पुको रू १० लाखको र छेवाङ लामाका नाति पासाङको रू ५ लाख बराबरको सामानको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको सूचना पाउनासाथ नेपाल प्रहरी,नेपाली सेनाको टोली, सशस्त्र प्रहरी वल घटनास्थलमा पुगेको कारण मानवीय क्षति नभएको कालिका गाउँपालिकाका उपाध्यक्ष मिरा लामाले बताईन् ।