माता मनकामना सहकारीको वार्षिक साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०८१, मंगलवार १६:१२

विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुंगेमा रहेको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वनभोजसहित देविघाटमा भएको साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गर्नुभएको थियो ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष नविनकृष्ण राजभण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिवलाल श्रेष्ठले आय–व्यय प्रतिवेदन र लेखा समितिका संयोजक रामेश्वर गुणीले लेखा विवरण प्रस्तुत गर्नुभएको थियो । विसं २०७० सालमा दर्ता भई ढुंगेमा कार्यालय स्थापना गरेर सञ्चालन भईरहेको सहकारीले आव २०८०/०८१ को आषाढ मसान्तसम्म रू २ करोड ६६ लाख ५८ हजार ३ सय १७ कारोबार गरेर ऋणबाट ब्याज, बैंकबाट ब्याज र अन्य आम्दानी गरी रू २९ लाख ६४ हजार २ सय ३६ आम्दानी गरेको छ । सहकारीमा पुरूष १ सय ९० र महिला ५० जनासहित कूल शेयर सदस्य २ सय ४७ रहेको साधारणसभामा जानकारी गराईयो । सहकारीका अध्यक्ष राजभण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आव २०७९/०८० को बाँकी बचत रू १ करोड २० लाख ३९ हजार १ सय ५५, आव २०८०/०८१ को बचत संकलन रू ३ करोड २० लाख २९ हजार ५ सय २०, आव २०८०/०८१ म बचत फिर्ता रू ३ करोड १९ लाख ६० हजार ६ सय २३ गरेको छ । सहकारीबाट आव २०७९/०८० मा रू १ करोड ८६ लाख ५३ हजार ९ सय ५९, आव २०८०/०८१ मा रू १ करोड ५५ लाख ३३ हजार २ सय ४२, लगानी रकम रू १ करोड ९३ लाख ७७ हजार ५ सय ६९ असुली रू १ करोड ४८ लाख ९ हजार ३ सय ६२ रहेको छ । सहकारीले ज्येष्ठ नागरिक तथा एकल महिला आजीवन अक्षयकोष स्थापना गरी हरेक वर्ष कोष बढाउँदै लैजाने र त्यसबाट प्राप्त ब्याजबाट ७० वर्ष माथिका शेयर सदस्यमध्येबाट ज्येष्ठ नागरिक र एकल महिलालाई वार्षिक भत्ता दिन शुरू गरेको छ । उक्त भत्ता वितरण सहकारीले स्थापना दिवसको अवसरमा गत जेठ १९ गते ज्येष्ठ शेयर सदस्य ७३ वर्षका विष्णुप्रसाद लम्साल, ७२ वर्षका रामकृष्ण राजभण्डारी, एकल महिला सिता केसी र रूपा साहलाई प्रदान गरेको थियो ।

सहकारीले शेयर सदस्य जीवन सुरक्षाकोष स्थापना गरी शेयर सदस्यको परिवारमा जन्म, मृत्यु, दुर्घटना तथा दैवी प्रकोप जस्ता विपत्ति र स्वास्थ्य उपचारमा सहयोग गर्न कार्यविधि बनाएको छ । चालु आवमा कोषबाट राजभाई शाक्यलाई रू २० हजार प्रदान गरेको छ । साधारणसभामा शेयर सदस्यका बालबालिकामध्ये प्राथमिक तह निजी विद्यालयको परिक्षामा उत्कृष्ट अंक ल्याउने एक जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा शेयर सदस्य अमरबहादुर कार्की र शान्ति खड्काको छोरी आर्या कार्कीले ४ जिपिए ल्याई स्पार्कल इन्टरनेसनल स्कुलबाट उत्तिर्ण भएकोमा नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । सरकारी विद्यालयतर्फ ईश्वरी ढुंगानाको छोरी संस्कृति ढुंगानाले पृथ्वी माविबाट ३ दशमलव ९० जिपिए ल्याएको थियो । २०८० को एसइई परिक्षामा शेयर सदस्यमध्ये उत्कृष्ट अंक ल्याउने निजी विद्यालयतर्फ प्रमोदकुमार प्रसादको छोरी पलककुमारीलाई र सरकारी विद्यालयतर्फ कामाख्यप्रसाद कलवारका छोरा रिसुकुमार कलवारलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा आव २०८०/०८१ म असल ऋण कारोबार गर्ने रेनुकुमारी/राजुप्रसाद गुप्तालाई सम्मानसहित चालु आव २०८१÷०८२ मा संस्थाले ऋण कारोबारमा निर्धारण गरेको ब्याजदरमा १ दशमलव ५ प्रतिशत छुट दिने गरी ग्रीन कार्ड प्रदान गरिएको छ । कार्यक्रममा गत आवमा सर्वाधिक नियमित बचत गर्ने राजेन्द्र रिजाललाई समेत सम्मान गरिएको व्यवस्थापक किशोर अर्यालले जानकारी दिनुभयो । सहकारीले बचत तथा ऋण लगानीसँगै शेयर सदस्यको बृहत्तर हितको लागि नयाँ तथा कार्यक्रम ल्याएको अध्यक्ष राजभण्डारीले बताउनु भयो ।