गोसाइँकुण्ड गाउँपालिकामा हुलाक स्थापना

  • त्रिशूली प्रवाह
  • २० मंसिर २०८१, बिहीबार १५:१८

धुन्चे । नेपाल सरकारको चालू आवको नीति तथा कार्यक्रमअनुसार जिल्लामा एक हुलाक कार्यालय स्थापना भएको छ । जिल्लाका पाँच गाउँपालिकामा हुलाक कार्यालय स्थापना गर्ने क्रममा पहिलो चरणमा गोसाइँकुण्ड गाउँपालिकामा हुलाक स्थापना गरिएको छ ।

हुलाक कार्यालय रसुवाका प्रमुख मुना पोखरेलका अनुसार पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाका जनप्रतिनिधि, राजनीतिक दल, सरकारी निकायको सल्लाह, सुझाव र सहयोगमा हुलाक स्थापना गर्ने कार्यक्रम छ । कार्यालय प्रमुखका अनुसार उत्तरगयाको बेत्रावती, नौकुण्डको पारच्याङ, गोसाइँकुण्डको स्याफ्रुबेँसी, कालिकाको धैबुङ र आमछादिङ्मो गाउँपालिकाको गोल्जुङबेँसीमा हुलाक केन्द्र रहनेछन् । सरकारले एक पालिका एक हुलाकको अवधारणा चालू आवका लागि ल्याएको छ । सरकारले हुलाक सेवालाई समयसापेक्ष छिटो, छरितो र भरपर्दो बनाउने गरी एक पालिका एक हुलाक स्थापना कार्यान्वयन सुरु गरेको छ ।