+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको रौनक सुरू

दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको रौनक सुरू
त्रिशूली प्रवाह
१ साल अगाडी

समुन्द्रटार । धान्य पूर्णिमा पर्वका अवसरमा नुवाकोट जिल्लाको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेला सुरू भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेव मन्दिरमा एकादशीदेखि सुरू भएर पूर्णिमासम्म चल्ने मेला यस वर्ष शनिबारदेखि भक्तजनको बाक्लो आवागमनका साथ सुरू भएको छ ।

मन्दिरका पुजारी भगवानहरि धितालले पछिल्ला दिनमा दैनिक तिन हजार हाराहारीमा भक्तजनले मन्दिर दर्शन गरिसकेका छन् । ‘दुप्चेश्वर क्षेत्र विकास कोष’ मार्फत दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको छ । मेलामा सहभागी दर्शनार्थीलाई दर्शन एवं पूजाराधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, बन्दोबस्ती, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारी साधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षक तथा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ ।

कसरी पुग्ने
हिन्दु र बौद्धमार्गीको साझा आस्थास्थल मन्दिरसम्म पुग्न यातायात सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँदेखि करिब ६२ किलोमिटर दूरीका यात्रामा मन्दिर पुग्न सकिन्छ । काठमाडौंँको टोखा–नुवाकोटको छहरे सडकखण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानीटार–समुन्द्रटार हुँदै मन्दिरसम्म पुग्न सकिन्छ । काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गँगटे–ढिकुरे–माछापोखरी–खरानीटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्छ । नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा रहेको मन्दिर नजिकै पर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन सहज रूपमा लैजान सकिन्छ । रामतीबाट १५ मिनेटको पैदलयात्रामा मन्दिर छ । जात्रामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवास, जात्रामा सहभागी हुने झाँक्री, लामा, ढ्याङ्ग्रेका लागि थप सुविधासमेतको व्यवस्था मिलाइएको छ । मेलामा धुपीसहित बाँस र निगालाबाट बुनेका डोका, थुन्से, भकारीको कारोबार पनि हुन्छ । तर, लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोगमा गरिएको कडाइले हस्तकलाबाट उत्पादित सामग्रीमा भने गिरावट हुँदै गएकाले यसको पहिचान हराउँदै गएको छ ।

दुप्चेश्वरको महिमा
पौराणिक कथनअनुसार धेरै वर्ष पहिला स्थानीयवासी वसु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरामा पुगेर शिलामा दुध चढाइरहेको भेटिएका अहिले पनि पूजाआराधना एवं आस्था प्रकट गरिन्छ । गाईले दुध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यस ऐतिहासिक तथा प्रसिद्ध मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ । यस पवित्रस्थलमा समुद्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै आएर बास बसी रसुवाको निलखेत गएको किंवदन्ती छ । पुजारी धितालका अनुसार विशेषगरी सन्तानमा पनि पुत्रलाभ गराउने विश्वासका साथ भक्तजन मन्दिरको दर्शनका लागि आउने गरेका छन् । मन्दिर दर्शन गरेमा बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई जीवनसाथी प्राप्तिलगायत कामना पूरा गर्न दैनिक सयौँ भक्तजन दुप्चेश्वर पुग्ने गरेका छन् । धान्यपूर्णिमा मेलाका अवसरमा भने दैनिक हजारौँ मानिस त्यहाँ जाने गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह