+
Search

ताजा अपडेट +

पपुलर +

पर्यटकको नयाँ गन्तव्य खाम्जिङ गाउँ

पर्यटकको नयाँ गन्तव्य खाम्जिङ गाउँ
त्रिशूली प्रवाह
८ महिना अगाडी

स्याफ्रबेंसी । सङ्घीय राजधानी काठमाडौँबाट करिब एक सय २५ किलोमिटर दूरीमा रहेको रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको बृद्धिममा रहेको खाम्जिङ गाउँ पछिल्लो समय पर्यटकको विश्राम गर्ने थलो बनेको छ । वरपर अजङ्गको पहाड, पारिलो र जता फर्के पनि हिमशृङ्खला मात्र देखिने झुरूप्प परेको बस्तीले गर्दा स्याफ्रुबेंसीबाट त्यहाँ पुग्ने पर्यटक लोभिन थालेका छन् ।

रसुवा, स्याफ्रुको गर्मी छल्दै पर्यटक लिएर पथप्रदर्शकले लाङ्टाङ पदयात्रा तय गर्दा खाम्जिङमा एक दिन विश्राम गर्ने तालिका बनाएका हुन्छन् । राजधानी र बाहिरको धुवाँ, धुलो, कोलाहल वातावरणबाट टाढिएर आउनेका लागि खाम्जिङको शान्त वातावरणले आनन्द दिने पर्यटन व्यवसायी बलराम न्यौपानेले बताउनुभयो । धेरैजसो पर्यटक खाम्जिङको तामाङ बस्तीमा एक दिन नबसी लाङ्टाङको यात्रा तय गर्दैनन् । बिहानीको शीतल छहारीसँगै भोटेकोसी र लाङ्टाङ खोलाबाट आउने चिसो हावाले एकछिन भने पनि खोला किनारामा बसौँ बसौंँ लाग्ने बनाउँछ । स्याफ्रुबेंसीबाट आधा किलोमिटर हिँडेपछि भोटेकोसीमाथिको पुल आइपुग्छ । सो पुल तर्नेबित्तिकै बाटाको सङ्केतले एकछिन कताबाट लाङ्टाङ जाँदा ठीक हुन्छ भन्नेमा मन दोधार बन्ने गर्छ । खाम्जिङको उकालो चढ्दै चारैतिरको हरियाली हेर्न मन पराउनेहरू उकालो लाग्छन् । खोलाको बहाबसँगै साङ्गीतिक धुनमा लाङ्टाङ जानेहरू तेर्साे लाग्छन् । बृद्धिम हुँदै लाङ्टाङ पुग्ने कि लाङ्टाङ खोलाको तीरै तीर बम्बो हुँदै लाङ्टाङ जाने, त्यो आफूमा निर्भर हुन्छ । लाङ्टाङको तीरै तीर जानेहरू बगरमा पौठेँजोरी खेल्दै बगेको बहाब हेर्दै जान पाउने मज्जालाई भुल्न चाहँदैनन् । जहाँबाट जाँदा पनि अन्तिम उद्देश्य उही लाङ्टाङ पुग्ने हुन्छ । भोटेकोसीको पुलमै लेखिएको छ, बृद्धिममा यहाँलाई स्वागत छ । दुई विकल्पमध्ये लाङ्टाङको पुरानो पैदल मार्ग खाम्जिङ जाने या नयाँ पदमार्गका रूपमा विकास भएको लाङ्टाङको तीरै तीर उकालीओराली गर्दै हिँड्नाको मज्जा छुट्टै हुने लाङ्टाङ पुगेर फर्केका सञ्चारकर्मी सुनिल श्रेष्ठले बताउनुभयो ।

स्याफ्रुबेंसीको गर्मी छल्दै पुल तरेर उकालो लागेपछि बगिरहेको भोटेकोसीको बहाबलाई हेर्दै लामो पदयात्रा गर्नाको मज्जा छुट्टै छ । त्यसैले त यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक खलखल पसिना निकाल्दै बृद्धिमको खाम्जिङ लम्कने गर्छन् । नजिकै हरिया वनपाखा, लमतन्न बगिरहेको भोटेकोसीको दृश्य नियाल्दै हिँड्दा यात्रा गरेको पर्यटकले पत्तै पाउँदैनन् । बृद्धिम खाम्जिङ पुग्न गोरेटो बाटो जाने कि सडकमार्गबाट जाने दुई विकल्प छन् पर्यटकलाई । दृश्यावलोकन गर्दै सुसेली हाल्दै हिँड्नेका लागि सल्लाघारीको पातले सुसेलेर बोलाएजस्तो हुन्छ जसको मज्जा अर्को रोमाञ्चक पक्ष बन्छ । स्याफ्रुबेंसी जति माथि उक्लियो उति नै रोमाञ्चक देखिन्छ । गर्मी छल्दै उकालो चढ्दै गर्दा सर्पजस्तै देखिने चिलिमे जाने सडक पर्यटकको अर्को आकर्षण हो । करिब दुई घन्टाको पैदल यात्रापछि जिल्लाको पुरानो पर्यटकीय पदमार्गमा पर्ने बृद्धिमको खाम्जिङ पुगिन्छ । एक हजार नौ सय ८० मिटर उचाइमा रहेको खाम्जिङ तामाङ सांस्कृतिक पदमार्ग हो । खाम्जिङ पुग्ने पर्यटक त्यहाँको घरबास र होटल कहाँ बस्ने भन्नेमा एकछिन त अन्योलमा पर्छन् । सहरको तारे होटलमा दिन बिताएर आएका पर्यटक केही दिन भने पनि यहाँको घरबासमा बस्न लालायित हुन्छन् । खाम्जिङबाट स्याफ्रुबेंसी, हिमाली शृङ्खलाको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले एक दिन भने पनि आन्तरिक तथा बाह्य पर्यटक हिमाली दृश्य हेर्न यहाँ बस्ने गर्छन् । त्यसैले त बृद्धिम पुग्ने पर्यटक एक दिन भने पनि घरबासमा बसेर स्थानीय खानाको परिकारको स्वादमा भुल्ने गरेको स्थानीयवासी तेन्जिङ तामाङ बताउनुहुन्छ । खान र बस्न राम्रो सुविधा रहेको त्यहाँ खाना, बस्न र बिहानको चियासहित एक दिनको रु पाँच सय होमस्टेको शुल्क छ । सबैका घरमा पाहुना बस्नका लागि राम्रो व्यवस्था छ । राजधानीका होटलभन्दा पनि सफा र चिटिक्कका कोठामा राखेर खाम्जिङबासी पर्यटकलाई नयाँ सिस्नु र ढिँडोले स्वागत गर्छन् । पुरानो पैदल मार्ग भएकाले पर्यटक एक दिन भने पनि यहाँ बसेर आफ्नो गन्तव्यतर्फ लाग्ने गरेको पर्यटन व्यवसायीसमेत रहेका स्थानीयवासी तामाङले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक वेशभूषा र रहनसहनमा धनी रसुवाको साबिक बृद्धिम गाविसमा पर्ने खाम्जिङबासीको पहिचान छुट्टै छ । चीनको तिब्बतसँग साइनो गाँसेको खाम्जिङले गाउँ आउने जोसुकै पर्यटकलाई स्थानीय खानाको परिकार र तिब्बती चिया चखाउन भ्याई हाल्छ । पर्यटक पनि तिब्बती चिया भनेपछि उसै हुरूक्क हुन्छन् । चैत, वैशाख, असोज र कात्तिकमा खाम्जिङबाट लाङ्टाङ जाने विदेशी पर्यटक पदयात्रा नै सजिलो मान्छन् । विदेशी पर्यटक मात्र पदयात्रा गर्छन् भन्ने भ्रम चिर्दै अहिले नेपाली तन्नेरी पनि आउने गरेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निशान गजुरेल बताउनुहुन्छ । खाम्जिङको बस्ती सुन्दर छ, सबै घरमा पर्यटकलाई बस्न बनाइएका सफा र सजिसजाउ कोठा छन् । पर्यटक आकर्षणका लागि समय समय पारेर तिब्बती र शेर्पा नाचले पर्यटकलाई बसिरहौँझैं लाग्ने बनाउँछ । बिहानीको सूर्योदयले नजिकैका हिमाललाई लाली चढाइदिएको दृश्य बिहान उठ्नेबित्तिकै हेर्न पाइन्छ । त्यसैले यहाँ आउने पर्यटक एक दिन खाम्जिङ बसेर भने पनि बिहानको चियाको चुस्कीसँगै हिमालसँग आँखा जुधाउँछन् । यहाँ बिहानको हिमाली सौन्दर्यसँगै तिब्बती वेशभूषामा सजिएका फरासिला मनका शेर्पाशेर्पिनीको मुस्कान भेटिन्छ । सबै घर सफासुग्घर छन् । यहाँका खानाको परिकारले विदेशीलाई मात्र होइन आन्तरिक तन्नेरी पर्यटकको पनि मन पगाल्ने गर्छ ।

तामाङ सांस्कृतिक सम्पदा मार्गअन्तर्गत करिब सात दिनको पदमार्गबाट पनि खाम्जिङ पुग्न सकिन्छ । पर्यटकलाई एक दिन स्याफ्रु राखेर त्यहाँबाट गोल्जुङको तामाङ बस्ती हुँदै काठले छाएको एकैनासले बनेका गत्लाङ ल्याएर दृश्यावलोकन गराएपछि चिलिमे, नागथली थुमनबाट एक घन्टा पैदल झरी भोटेकोसी पुल तराइन्छ । पुल तरेसँगै रसुवागढी स्याफ्रुबेंसी जाने सडकलाई छिचोल्दै बृद्धिमको लिङ्लिङ भई पर्यटकीयस्थल खाम्जिङ पुग्न सकिन्छ ।

खाम्जिङ कसरी पुग्ने
राजधानी काठमाडौँबाट सिधै यात्रुबाहक बस या सानो जिप चढेर नुवाकोटको त्रिशूली हुँदै रसुवाको स्याफ्रु सात घन्टाको सवारीपछि पुग्न सकिन्छ । स्याफ्रुमा एक रात बिताउने हो भने भोलिपल्ट बिहानीको चिसामा बिस्तारै उकाली लाग्दा तिन घन्टामा खाम्जिङ सजिलै पुगिन्छ । स्याफ्रुमा बसोबासका लागि राम्रा होटल छन् । स्याफ्रुबेंसीबाट भोलिपल्ट बिहानै उठेर आधा किमी पर गएपछि भोटेकोसीको पुल आइपुग्छ । पुल तरेसँगै तिन घन्टाको उकालो यात्रापछि खाम्जिङ पुग्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह