+
Search

ताजा अपडेट +

पपुलर +

बेत्रावती सन्धिस्थलको संरक्षणमा चासो

बेत्रावती सन्धिस्थलको संरक्षणमा चासो
त्रिशूली प्रवाह
१ साल अगाडी

त्रिशूली । नेपाल–तिब्बत युद्धका क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबिच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणका लागि विदुर नगरपालिकाले चासो देखाएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

पुरातात्त्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर–१० स्थित बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्त्विक स्वरूपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको साालिक स्थापना एवं युद्धका सामग्रीसहितको स्मारक स्थापनाको लक्ष्यसहित उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न लागिएको नगर प्रमुख राजनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा रू १८ लाख बजेट विनियोजन गरिएकाले नगरबाट कार्य प्रारम्भ गर्न लागिएको छ । “विनियोजित बजेटको काम सुरू गर्न प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवं निरीक्षण भइसकेको छ”, श्रेष्ठले भन्नुभयो, “ऐतिहासिक दुई ढुङ्गा रहेको ठाउँ र आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को निर्माण नगरपालिकामार्फत भइरहेको छ । नेपाली सेनाबाट युद्ध संरचना स्थापनाको अध्ययन भइरहेको छ ।” नगरपालिकाले आन्तरिक स्रोतबाट तयार गरिने डिपिआरले निर्देश गरेअनुसार विनियोजित बजेटबाट सेनासँगको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाएको छ । विसं १८४९ मा भएको सन्धिपश्चात् उक्त स्थान अलपत्र र जीर्ण छ । संरक्षणका लागि नगरपालिका र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्ला निकाय (पुरातत्त्व विभाग तथा बागमती प्रदेश र सङ्घीय सरकार) बाट आर्थिक र प्राविधिक सहयोग प्राप्त हुने प्रतिबद्धता पाइएको नगर प्रमुख श्रेष्ठको भनाई छ ।

Suzuki New Bike & Scooter

विसं १८४९ मा भएको नेपाल–भोट युद्धमा नेपाली पक्ष विजयी भएसँगै बेत्रावतीमा सन्धि भएको थियो । उक्त स्थानमा नेपाली पक्ष बसेका र तिब्बती पक्ष बसेका दुई विशाल ढुङ्गा छन् । उक्त ढुङ्गाको संरक्षण गर्दै सोही स्थानबाट नेपाली पक्षले युद्ध लडेको दुधेगढी, जीतगढी हँुदै सूर्यगढीसम्मलाई कूटनीतिक पदमार्ग बनाउने लक्ष्य लिएर काम अघि बढाउन थालिएको हो । दुधेगढीको संरक्षणका लागि नगरपालिकाले रू एक करोड आठ लाखमार्फत र सूर्यगढीको संरक्षणका लागि सूर्यगढी गाउँपालिकामार्फत पुरातत्त्व विभागसँगको समन्वय र नेपाली सेनासँगको सहकार्यमा काम भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह