+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढी : ६ सय योजना उपभोक्ता समितिको जिम्मेवारीमा

बेलकोटगढी : ६ सय योजना उपभोक्ता समितिको जिम्मेवारीमा
त्रिशूली प्रवाह
१ साल अगाडी

बेलकोटगढी । बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा ६ सय २५ योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागेको छ । वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमार्फत तयार गरेर सभामार्फत अनुमोदित ती योजना कार्यान्वयनका लागि उपभोक्ता समितिलाई जिम्मेवारी दिन थालिएको हो ।

योजना कार्यान्वयनका लागि नगरपालिकाले वडा कार्यालयको रोहवरमा गठन भएका समितिलाई जिम्मा लगाउन सुरु गरेको नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार ६ सय २५ योजना कार्यान्वयन गर्न रु. १५ करोड हाराहारीको बजेट छुट्याइएको छ ।

योजनाको सम्झौता वडा कार्यालयमा
नुवाकोट जिल्लास्थित बेलकोटगढीले उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागेको योजनाको सम्पादन सहज बनाउन वडा कार्यालयमा शिविर सञ्चालनमा ल्याएको छ । पालिकामा नै जानुपर्ने बाध्यता हटाई उपभोक्तामार्फत सञ्चालन गरिने योजनालाई वडा कार्यालयमा सम्झौता गरेर जिम्मा लगाउन थालिएको हो । यही मङ्सिर १७ देखि सञ्चालनमा आएको शिविर आगामी पुस ३ गतेसम्म चल्नेछ । भौगोलिक रूपमा ठुलो नगरपालिकाको कार्यालयसम्म उपभोक्ता समितिका पदाधिकारीलाई आउजाउ गर्न समस्या हुने देखिएपछि वडा कार्यालयबाटै योजनाको सम्झौता गर्ने सेवा उपलब्ध गराइएको हो । नगर प्रमुख गुरुङका अनुसार विनियोजित योजना तथा कार्यक्रम एवम् बजेटको प्रशासनिक तथा प्राविधिक पक्ष पूरा भएर कार्यान्वयनका लागि उपभोक्ता समितिसँग योजना सम्झौता गर्न वडा वडामा शिविर चलाइएको हो । ‘उपभोक्ता समिति गठन भइसकेका वडालाई प्राथमिकता दिँदै वडा कार्यालयबाट योजनाको सम्झौता र कार्यान्वयनका सम्बन्धमा अभिमुखीकरण सञ्चालनमा ल्याइएको छ,’ नगर प्रमुख गुरुङले भने, ‘वडा कार्यालयमा गरिने सम्झौताले लाभग्राही वडावासीलाई योजना प्राप्त भएको सूचना प्रवाह गर्न सहज हुनेछ भने उपभोक्ता समितिका पदाधिकारीलाई जिम्मेवार बनाउन सहयोग पुग्नेछ ।’

योजना कार्यान्वयन प्रभावकारी बनाउन अभिमुखीकरण
योजना सम्झौतासहित उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनको चरणका सम्बन्धमा अभिमुखीकरणसमेत गर्नुपर्ने हुँदा जनप्रतिनिधि र कर्मचारी सम्मिलित नगरपालिकाको ‘टिम’ शिविर लिएर प्रत्येक वडामा पुग्न तालिका बनाइएको छ । वडामा सञ्चालन हुने योजना कार्यान्वयन गर्न सार्वजनिक भेलामार्फत यसअघि गठन भएका उपभोक्ता समितिसँग नगरपालिका कार्यालयतर्फबाट सम्झौता गरेर योजना कार्यान्वयनका क्रममा अपनाइने प्रशासनिक, आर्थिक, कानुनी, प्राविधिक विषयमा जानकारीसमेत उपलब्ध गराउन थालिएको उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार नगर प्रमुख र उपप्रमुखले योजना कार्यान्वयनका लागि तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्देशन दिँदै नमुना काम गर्ने उपभोक्ता समितिलाई सम्मान र आवश्यकताका आधारमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । योजना सम्झौता शिविरमा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठ, लेखा अधिकृत गोविन्द प्याकुरेल र प्रशासन तथा योजना अनुगमन शाखा प्रमुख दीपक थिङले समितिका नाममा बैंक खाता सञ्चालन, योजना कार्यान्वयनका क्रममा गरिने खरिद सामग्रीको बिलबिजकमा अपनाउनुपर्ने सावधानी, प्यान नम्बर प्राप्ति, भुक्तानी मागका क्रममा पूरा गर्नुपर्ने प्रक्रियालगायतमा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण गराइएको छ ।

१३ वडा रहेको बेलकोटगढीमा चालू आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सम्पादन गर्नुपर्ने योजनाको सङ्ख्या ६ सय २५ छ । भौगोलिक रूपमा बेलकोटगढी (एक सय ५५ दशमलव ६ वर्गकिलोमिटर) भक्तपुर जिल्लाभन्दा ठुलो छ । सङ्घीयताको मर्मअनुरूप योजना सम्झौता सेवालाई वडा तहमा पु¥याइएजस्तै बेलकोटगढीले कृषि र पशु विकास, महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिकलगायत शाखाले प्रवाह गर्ने सेवालाई समेत वडा र बस्तीसम्म लैजाने नीति अवलम्बन गरिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह