विदुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेशले ‘योजना बैंक’ निर्माण गर्न लागेको बताएका छन् । प्रदेश, नीति तथा योजना आयोगले बिहीबार नुवाकोटमा आयोजना गरेको तीन जिल्लास्तरीय आगामी आर्थिक वर्षको वार्षिक योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले योजना छनोटमा ‘पहुँच र खल्ती’ लाई समावेश गर्ने प्रक्रिया अन्त्यका लागि ‘योजना बैंक’ बनाइने जानकारी दिए ।
विगतका सरकारले आयोजना बैंक निर्माण गर्ने भनेर चर्चा गरे पनि कार्यान्वयन नभएको जनाउँदै उनले आवश्यक कानुन, नीति र निर्णय गरेर योजना बैंकको निर्माण र कार्यान्वयन हुने प्रतिबद्धता जनाए । प्रदेश सरकारले सञ्चालन गर्ने योजना र स्थानीय तहलाई दिने सहयोग लाभग्राहीको हितलाई मध्यनजर गरेर गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि प्रतिफल दिने शीर्षकलाई समावेश गराउन केन्द्रमा जस्तै प्रदेशको नीति तथा योजना आयोगलाई अधिकारसम्पन्न बनाउन लागिएको मुख्यमन्त्री तामाङले जानकारी दिए । ‘केन्द्रमा योजना आयोगको भूमिका अधिकारसम्पन्न रहेकामा प्रदेशमा भने कानुनी रूपमा अधिकार स्पष्ट नहुँदा योजना कार्यान्वयन खल्ती र चिर्कटोबाट भइरहेको यथार्थ छ,’ उनले भने, ‘प्रदेशले सञ्चालन गर्ने र पालिकालाई दिने योजना के–के हुने, कुन योजनालाई प्राथमिकता दिने भन्ने योजना बैंकमार्फत क्रमशः समावेश गरिनुपर्छ ।’ प्रदेश सरकारको ठुलो लगानी भएका योजनामा प्रतिफल प्राप्त गर्न नसकिएको स्विकार्दै उनले अबका दिनमा प्रतिफल प्राप्त हुने सुनिश्चित गरेर कार्यान्वयनमा लैजान लागिएको स्पष्ट गरे । पालिकाबाट प्राप्त हुने राजस्व सङ्कलनभन्दा पालिकालाई दिइने बजेटको आकार धेरै गुणा बढी भएकाले प्रदेशबाट पालिकालाई भइरहेको सहयोगमा धन्यवाद नपाएको उनले गुनासो गरे ।
‘विशेष, समपूरक र ससर्त शीर्षकमा प्रदेशले पालिकालाई उपलब्ध गराउने बजेटको आकार अर्बमा भए पनि राजस्व र प्रतिफल करोडमा पनि आएको छैन,’ मुख्यमन्त्री तामाङले भने, ‘शीतभण्डार, धुलो दुध उत्पादक उद्योग सञ्चालन, दुध उत्पादन गर्ने किसानलाई अनुदानलगायत लगानीको प्रतिफलको खोजी गरिने छ ।’ कार्यक्रममा नुवाकोट, रसुवा र धादिङमा रहेका प्रदेशअन्तर्गतका कार्यालय र स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो ।






प्रतिक्रिया